काठमाडौं । मङ्सिर ४ को चुनावको मिति नजिकिँदै गर्दा देश अहिले चुनावमय भएको छ । उम्मेदवारको अंकगणित र लेखाजोखा हरेक चिया पसलदेखि सामाजिक सञ्जाल र मिडियामा सुन्न, देख्न र पढ्न सकिन्छ । यसैबीच हाइप्रोफाइल भिडन्त रहेको एक क्षेत्र हो चितवन क्षेत्र नम्बर २ हो । यस क्षेत्रबाट नेकपा एमालेबाट कृष्णभक्त पोखरेल, नेपाली काँग्रेसबाट उमेश श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेबीच प्रतिष्पर्धा हुँदैछ ।
चितवनका तीन निर्वाचन क्षेत्रमध्ये २ नम्बर क्षेत्रको चर्चा सबै भन्दा बढी रहेको छ । सो क्षेत्रबाट एमालेबाट पोखरेल, काँग्रेसबाट श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछाने भएकाले यी तीन नेताको भिडन्तलाई धेरैले चासोका साथ हेरिरहेका छन् ।
नेता पोखरेल विघटित संविधानसभामा एमालेबाट प्रत्यक्ष निर्वाचनमा जितेर प्रतिनिधि सभा सदस्य बनेका थिए । उनी दोश्रो संविधान सभाको निर्वाचनमा पनि यस क्षेत्रबाट निर्वाचित भएका थिए । यसपटक पोखरेल ह्याट्रिक गर्ने दाउमा रहनेछन् ।
श्रेष्ठ भने पहिलो पटक प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् । श्रेष्ठ नेपालका एक व्यवसायी एवं राजनीतिज्ञ हुन् । हाल उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राज्यमन्त्रीका रूपमा कार्यरत छन् । यसअघि उनी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री थिए । उनी नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत् प्रतिनिधि सभा सदस्य पनि थिए ।
लामिछाने पहिलो पटक निर्वाचनमा होमिएका छन् । यसअघि टेलिभिजनमार्फत कार्यक्रम प्रस्तोताका रुपमा चर्चा कमाएका लामिछाने आफ्नै पार्टी निर्माण गरि निर्वाचन लड्न तम्सिएका हुन् । लामिछाने पत्रकार शालिकराम पुडासैनी प्रकरणमा चितवनमा थुनामा परेका थिए । त्यसवेला जनताको ठूलो समर्थन पनि पाएका थिए । त्यही समर्थनबाट लामिछोनले चितवनबाट राजनितिको कार्ड प्रयोग गर्न चाहेका छन् ।
त्यस्तै, ०७४ मंसिर १० गते भएको प्रतिनिधि सभाको निर्वाचनमा यस क्षेत्रमा एमालेबाट कृष्णभक्त पोखरेल विजयी भएका थिए । उनले त्यसबेला ४४ हजार ६७० मत पाएका थिए । दोस्रो भएका नेपाली काँग्रेसका शेषनाथ अधिकारीले २७ हजार ३१४ मत पाएका थिए ।
गत निर्वाचनमा पोखरेलले बामगठबन्धनसँग तालमेल गरेर चुनाव लडेका थिए । पोखरेलले यस क्षेत्रबाट काँग्रेसका अधिकारीलाई १७ हजार ३५६ मत अन्तरले पराजित गरेका थिए ।
यस पटक उनै कृष्णभक्त पोखरेल एमालेबाट र उमेश श्रेष्ठ काँग्रेसबाट उम्मेदवार बनेका छन् । यसपटक श्रेष्ठलाई माओवादी र एकीकृत समाजवादीको साथ रहनेछ ।
स्थानीय तह निर्वाचन परिणामको विश्लेषण
चितवन २ नम्बर क्षेत्र अन्तर्गत भरतपुर महानगरपालिकाका १० वटा वडा, इच्छाकामना गाउँपालिकाका ७ वटा वडा र कालिका नगरपालिकाका ११ वटा वडा पर्दछन् ।
भारतपुर महानगरपालिकाका यस निर्वाचन क्षेत्रमा पर्ने १० वटा वडा मध्ये काँग्रेसले ६ वटा, एमालेले ३ वटा, माओवादी र समाजवादीले एक–एक वडामा जित हासिल गरेको छ । १० वटा वडामा काँग्रेसले पाएको कुल मत १३ हजार ४८४ छ भने गठबन्धनको कुल मत २० हजार १२२ रहेका छ । त्यस्तै एमालेले १० वडामा १७ हजार ७०० मत प्राप्त गरेको छ ।
त्यस्तै इच्छाकामना गाउँपालिकाका यस निर्वाचन क्षेत्रमा पर्ने ७ वटा वडामध्ये एमालेले ५ वटा, काँग्रेस र माओवादीले एक–एक वडामा जितेका छन् ।
यी ७ वडाका वडाध्यक्षहरुले पाएको मत जोड्दा काँग्रेसले २ हजार ६९३ मत ल्याएको छ । सत्ता गठबन्धनको कुल मत ४ हजार ६९५ रहेको छ । त्यस्तै एमालेले ४ हजार ६७५ मत प्राप्त गरेको छ ।
त्यस्तै कालिका नगरपालिकाका ११ वटा वडामध्ये काँग्रेसले ५ वटा, एमालेले ४ वटा, माओवादी र एकिकृत समाजवादीले एक–एक वडामा जितेका छन् । यी ११ वडाका वडाध्यक्षहरुले पाएको मत जोड्दा काँग्रेसले ८ हजार ३५४ मत ल्याएको छ । सत्ता गठबन्धनको कुल मत १० हजार ६५७ रहेको छ । त्यस्तै एमालेले १० हजार ५३५ मत ल्याएको छ ।
चितवन क्षेत्र नम्बर २ मा पर्ने तीन स्थानिय तहका जम्मा २८ वटा वडामा काँग्रेसले २४ हजार ५३४ मत पाएको छ । त्यस्तै सत्ता गठबन्धनको वडा अध्यक्षले पाएको कुल मत जोड्दा ३५ हजार ४७४ हुन आउँछ । त्यस्तै एमालेले ३३ हजार ९१० मत प्राप्त गरेको छ ।
यसरी हेर्दा चितवन–२ का कुल २८ वडामा वडा अध्यक्षले पाएको मत हेर्दा सत्ता गठबन्धन एक हजार ५६४ ममतले अगाडी देखिएको छ ।
यस क्षेत्रमा एमाले र काँग्रेसको उम्मेदवारबीच कडा प्रतिष्पर्धा देखिए पनि रवि लामिछानेले कति मत ल्याउछन भन्ने अनुमान गर्न गार्हो छ । काँग्रेस-एमाले बलियो रहेको क्षेत्रमा लामिछानेले आफ्नो पक्षमा माहोल बनाएर चुनौती दिने प्रयास गरेका छन् ।
उम्मेदवार
यस निर्वाचनमा चितवन–२ बाट कृष्णभक्त पोखरेल, उमेश श्रेष्ठ र रबि लामिछानेसहित १५ जना उम्मेदवार रहेको निर्वाचन आयोगले जनाएको छ । यस क्षेत्रमा जसपा नेपालबाट मुस्तफा अली, राप्रपाबाट रविन अधिकारी, नेमकिपाबाट ज्ञानेन्द्र पर्जा, हाम्रो नेपाली पार्टीबाट तामाङ्ग, राप्रपा नेपालबाट सुनिल कुमार क्षेत्री, मंगोल नेशनल अर्गनाइजेशनबाट टेक बहादुर तामाङ्ग, जनसमाजवादी पार्टी नेपालबाट प्रभा त्रिपाठी रहेका छन् ।
त्यस्तै यस क्षेत्रमा कुल ६ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । जसमा देविका कुवर, भास्कर चन्द्र न्यौपाने, खेमराज भट्टराई, अंगुर पन्त, शुदर्शन प्रधान र सुन्दर डल्लाकोटी रहेका छन् ।









