काठमाडौं । निर्वाचन नजिकिदै गर्दा राजनीतिक वृतमा ध्रुविकरण शुरु भएको छ । सत्तारुढ गठबन्धन आफु भित्रको विवाद र सिट बाँडफाँट मिलाउने सकसमा अल्झिरहेको छ भने अन्य दलहरु आफु अनुकुलका गठबन्धन र दलहरुतर्फ ध्रुविकृत हुने क्रम जारी छ । यसैबीच पत्रकारिता छोडेर राजनीतिमा पुगेका रविन्द्र मिश्रले आफ्नो विवेकशील साझा पार्टीको च्याप्टर क्लोज गरेर राप्रपा प्रवेश गर्दै छन् ।
उनी राप्रपामा वरिष्ठ उपाध्यक्ष हुने भएका छन् भने उनको पार्टीमा वरियता पाँचौं हुने भनिएको छ ।
साझा पार्टीको निर्माणसँगै नेपालमा वैकल्पिक राजनीतिको शुरुवात भएको घोषणा गरेर चर्चामा आएका मिश्रले विवेकशील पार्टीसँग एकीकरण गरेर विवेकशील साझा पार्टी मार्फत राजनीतिमा स्थापित हुने प्रयास गरेका थिए । तर उनको प्रयासलाई यस बिचमा भएका निर्वाचनमा सोचे जस्तो सफलता हासिल हुन सकेन । अर्थात् जनताले उनलाई अनुमोदन गरेनन् ।
मिश्र आफै २०७४ को आम निर्वाचनमा काठमाडौँ-१ बाट चुनाव लडे र काँग्रेसका प्रकाशमान सिंहसँग चुनाव हारे । त्यसपछि विवेकशील साझा र मिश्रमा धेरै उतारचढाव देखियो । मिश्रले चुनावमा पाएको असफलतासँगै आफ्नो राजनीतिको कोर्स परिवर्तन गर्न खोजे । उनलाई शुरुदेखि नै राजावादी भएको आरोप लागेपनि उनले पटक पटक आफु संघीय गणतन्त्र नै मान्ने स्पष्टिकरण दिदै रहे । तर अन्तत: उनले 'विचारभन्दा माथि देश' भन्ने पुस्तक प्रकाशित गर्दै राजतन्त्रको वकालत गरे । उनको यो विचार र लाइनसँग विवेकशील साझको अर्को पक्ष सहमत भएन र विवेकशील साझामा ठुलो अन्तरविरोध भयो र अहिले अलि लै बनेको संगठन समेत तितर बितर बनेको अवस्था छ ।
अब उनी राप्रपामा प्रवेश गर्दै छन् । नेपाली राजनीतिमा मिश्रले गरेको प्रयोग असफल नै भइसकेको छ । उनमा स्पष्ट विचार र अडानको कमि रहेको विश्लेषण भइरहेको छ । यस अवस्थामा उनले राजनीतिमा बनिरहन राजतन्त्रको सहारा लिएको आरोप उनलाई लागेको छ । अहिले मिश्र राप्रपाको हिन्दु धर्म र राजतन्त्र स्थापना गर्ने मूल उदेश्यलाई पुरा गर्न राप्रपाको शरणमा पुगेका छन् । राप्रपा आफैमा देशको राजनीतिमा स्थापित हुन संघर्ष गरिरहेको छ । पटक पटकको विभाजन र विवादबाट गुज्रिरहेको राप्रपा अहिले पनि एकजुट छैन । समानुपातिक तर्फको सुची तयार गर्ने विषयकै विवाद हेर्ने हो भने पनि राप्रपाको अवस्था कस्तो छ, छर्लंग हुन्छ । शिर्ष स्थानमा रहन पशुपति शमशेर जबरा र प्रकाशचन्द लोहनीबीच मतदान नै गर्नु परेको घटनाले राप्रपालाई मत दिनुपर्छकी भन्नेहरु धेरै हदसम्म बिच्केको अवस्था छ । अब पशुपति शमशेरलाई सांसद बनाउन राप्रपामा कतिले मतदान गर्छन् ? यो प्रश्न उठेको छ ।
यस्तो अवस्थामा मिश्रको राप्रपा प्रवेशले के परिवर्तन ल्याउछ त ? पहिलो कुरा त मिश्रको पछाडी त्यति ठुलो प्रभाव पार्ने जनमत नै छैन । यस अघि निर्वाचनमा उनले प्रकाशमानलाई टक्कर दिएपनि अहिले उनको पछाडी त्यो जनमत छैन । उनले आफुसहित बृहतर ध्रुविकरण पक्षधर राप्रपामा जान लागेको भनेका छन्, तर त्यो पक्षधरमा को को छन् ? कति मान्छे छन् ? सबैलाई थाहा छ ।
आम रुपमा अहिलेको अवस्थामा हिन्दु धर्म र राजतन्त्रको एजेण्डा नै आम रुपमा स्वीकृत भएको अवस्था छैन भने यसलाई उठान गरिरहेका दलहरुप्रति जनता विश्वस्त हुन सकेका छैनन् । यस्तो अवस्थामा राप्रपामा मिश्र थपिएर त्यस्तो ठुलो फरक पार्ने देखिदैन । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा राप्रपाले पाएको मतलाई हेर्दा पनि राप्रपाप्रतिको आकर्षण झन् घटेको देखिन्छ ।
यसरी समग्रमा मिश्रको राप्रपा प्रवेश उनका लागि राजनीतिक रुपमा सेफ ल्यान्डिङ त होला तर यसले निर्वाचनमा जनताको मन जित्ने तहमा सफलता पाउने कुरामा प्रशस्त आशंका गर्न सकिन्छ ।









