• २०८१ बैशाख १६ आइतबार

विश्व बजारमा प्रेमगीत-३ को उडान, सेलिब्रेट गरौँ !

kharibot

काठमाडौँ । नेपाली सिनेमा क्षेत्रमा शुक्रबार नयाँ इतिहास जोडिएको छ । शुक्रबार फिल्म प्रेमगीत-३ नेपाली र हिन्दी भाषामा नेपाल र भारतसहित विश्वका ५० देशमा पहिलो पटक रिलिज भएर सिनेमा क्षेत्रमा नयाँ इतिहास जोडिएको हो ।

सानो बजार, सिमित दर्शक र उत्कृष्ट फिल्म बन्न नसकिरहेको नेपाली सिनेमा क्षेत्रका लागि प्रेम गीत-३ र यसको टिमले ठुलो गुन लगाएको छ । यस फिल्मले आफ्नो लागि मात्र होइन समग्र नेपाली सिनेमाका लागि विश्व बजारमा बाटो खोलेको छ ।

अहिले ग्लोबलाइजेसनको समयमा अब नेपाली सिनेमा राम्रो बनाएको खण्डमा विश्व बजारमा पुर्याउने तरिका प्रेम गीत-३ ले सिकाएको छ ।

अहिले प्रेम गीत-३ कस्तो बन्यो ? यसको कथा कस्तो छ ? कलाकारले कस्तो अभिनय गरे ? निर्देशन कस्तो छ भन्ने प्रश्न नै गौण बनेको छ । आम रुपमा दर्शकले प्रेम गीत-३ कस्तो छ भन्नेमा भन्दा पनि विश्व बजारमा नेपाली सिनेमा पुगेको खुशियालीमा यो फिल्म हेरेको वा हेर्ने मुड बनाएको देखिन्छ । एउटा सिनेमाका लागि आम दर्शकबाट यस्तो समर्थन प्राप्त हुनु आफैमा अविष्मरणीय नै छ ।

तर यो अवस्था आउन धेरै अवरोध र विवादको सामना प्रेम गीत-३ ले गर्नुपरेको देखिएको छ । जुन आफैमा दुर्भाग्यपूर्ण रह्यो ।

नेपालमा किन गरियो विवाद ?

प्रेम गीत-३ को निर्माण पक्षले आफुहरुले फिल्मलाई हिन्दीमा डब गरेकोले देशद्रोही भनेको आरोप लगायो भने अभिनेता प्रदीप खड्काले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा मागेसँगै विवाद बढेको थियो । एक कान दुई कान मैदान हुदै सिंगो नेपाली सिनेमा क्षेत्र नै दुई भागमा बाडिएको थियो । नवल खड्काले नेतृत्व गरेको निर्माता संघ र चलचित्र विकास बोर्डले प्रेम गीत-३ को खासगरी हिन्दी डबलाई विदेशी फिल्म करार गर्न आफ्नो सबै जोडबल प्रयोग गरे । सार्बजनिक रुपमै निर्माता संघका अध्यक्ष नवल खड्काले हिन्दी डब गरेको फिल्मलाई भारतीय फिल्म नै भने । अन्य चर्चित निर्माता भन्नेहरुले पनि प्रेम गीत-३ को हिन्दी डबलाई भारतीय फिल्म करार गरे । त्यस्तै भुवन केसी अध्यक्ष रहेको चलचित्र विकास बोर्डले पनि प्रेम गीत-३ को हिन्दी डबलाई विदेशी सिनेमा सरह १५ प्रतिशत कर लगाउनुपर्ने भन्दै सेन्सर सिफारिस गर्यो । 

तर प्रेम गीत-३ को निर्माण पक्ष र कलाकारले यो रवैयाको कडा प्रतिरोध गरे । यसैक्रममा अभिनेता प्रदीप खड्काले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा नै मागे । 

यसैबीचमा विहिबार यस प्रकरणमा सरकारले हस्तक्षेप गर्यो ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बोर्ड अध्यक्ष भुवन केसीसँग स्पष्टीकरण लिदै फिल्म नेपाली भएको र सोहि अनुसार रिलिज हुने स्पष्ट गर्यो ।

सञ्चार मन्त्रालयका प्रवक्ता तथा सेन्सर बोर्डका अध्यक्ष सेवन्तक पोखरेलले ‘प्रेमगीत ३’ लाई नेपाली चलचित्र नै भएकोले यसमा हिन्दी भन्ने कुरा नै नभएको बताए । उनले खरीबोटसँग कुरा गर्दै नेपाली कलाकार र नेपाली प्राविधिकले काम गरेको, नेपालमै सुटिंग गरेको, नेपाली निर्माताले बनाएको फिल्म हो, हिन्दी हुन्छ की नेपाली भन्दै उल्टै प्रतिप्रश्न गरेका थिए ।

मन्त्रालयको यो हस्तक्षेपपछि प्रेम गीत- ३ को हिन्दी डबको विवाद एक किसिमले सकियो । तर घोषणा गरिएको मितिमा नेपालमा प्रेम गीत-३ को हिन्दी डब भने रिलिज हुन सकेन । निर्माता तथा निर्देशक सन्तोष सेनले विहिबार एक सूचना जारी गर्दै फिल्मलाई रिलिज हुन बाट रोकिएको उल्लेख गर्दै नेपालमा हिन्दी डब असोज २६ गते सोमबारदेखि मात्र रिलिज हुने जानकारी दिए । उनले प्रविधिक कारण भने पनि हिन्दी भाषाको सेन्सरका लागि कागज पत्र नपुगेकोले रोकिएको बुझिएको छ ।

जे होस् अब प्रेम गीत-३ को विवादको सकारात्मक अन्त्य भएको छ । तर अहिले सिनेमा क्षेत्र र आम रुपमा के यो विवाद आवश्यक थियो त ? नेपाल सिनेमा पहिलो पटक यो स्तरमा विश्व बजारमा गइरहदा नेपालको सिनेमा क्षेत्रमा लागेकाहरु नै किन विपक्षमा लागे त भन्ने प्रश्न उठिरहेको छ । उनीहरुले त यस अवसरलाई सेलिब्रेट गरेर आफुले पनि यस्तै प्रोजेक्ट ल्याउन पहल गर्नुपर्ने हैन र भन्ने आम रुपमा कुरा उठेको छ । जुन स्वाभाविक छ । तर केहि नेपाली निर्माता, चलचित्र विकास बोर्डको नकारात्मक भूमिका देखिनु दुर्भाग्यपूर्ण रहेको छ ।

प्रेम गीत-३ ले बक्स अफिसमा जस्तो कमाइ गरेपनि यस सिनेमाले इतिहास बनाएको छ । यो सत्य हो । बलिवुडका सुपरस्टारहरुको पोष्टर लाग्ने ठाउमा नेपाली सिनेमाको पोष्टर लाग्नु आफैमा गौरवको विषय हो । नेपाली सिनेमाको सफलता हो । विश्व सिनेमा बजारमा यस्तो उपस्थितिले मात्र बजार ठुलो हुने हो । ठुलो लगानी भित्रिने वातावारण बन्ने हो । सिनेमा क्षेत्र ठुलो हुने हो ।

निष्कर्षमा, प्रेम गीत-३ ले नेपाली सिनेमालाई विश्व बजारमा सगौरव प्रवेश गराएको छ । यसमा कम्तिमा सिनेमा क्षेत्रकाहरुले सेलिब्रेट गर्दैमा कम्तिमा उनीहरुलाई घाटा केहि हुदैन । यो आम नेपाली सिनेमाका दर्शक र नेपाल देशका लागि पनि गौरवको विषय हो । कसैलाई घाटा हुदैन...सबैले सेलिब्रेट गरौँ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै