• २०८१ बैशाख १४ शुक्रबार

माधव नेपालको उद्घाटनमा झाँक्रीको टिप्पणी, मन्त्रालयले गर्यो खण्डन

kharibot

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटमा यसै साता शिलान्यास गरेको योजनाहरु पूर्वमन्त्री रामकुमारी झाँक्रीले योजना र बजेटबिना कतिपय शिलान्यास गरिएको टिप्पणी गरेपछि शहरी विकास मन्त्रालयले खण्डन गरेको छ ।

पूर्वसहरी विकासमन्त्री झाँक्रीले एक अन्तर्वार्तामा अध्यक्ष नेपालले बजेट र योजनाबिनाकै विकास निर्माणको कामको शिलान्यास गरेको टिप्पणी गरेपछि मन्त्रालयले विज्ञप्ति निकालेर खण्डन गरेको हो ।

अध्यक्ष नेपालले साउन १६ गते रौतहटको गौर बोर्डर टाउन सहरी पूर्वाधार निर्माणअन्तर्गत गौर सभाहल र रामजानकी विवाहमण्डप र राजदेवी नगरपालिकाअन्तर्गतका योजनाहरुको शिलान्यास गरेका थिए । मन्त्रालयले ती कार्यक्रमहरु बहुवर्षीय योजनाअन्तर्गत कार्यान्वयन गरिएको उल्लेख गरेको छ ।

सभाहल निर्माणका लागि २० करोड र विवाह मण्डपका लागि ८ करोड गरी २८ करोड रुपैयाँको योजना भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी गौर र राजदेवीमा बस्ती विकासका लागि योजना स्वीकृत भएको जनाएको छ ।

एकीकृत समाजवादीको सचिवसमेत रहेको पूर्वमन्त्री झाँक्रीले आफ्नै अध्यक्ष नेपालले गरेको शिलान्यास विषयमा गरेको टिप्पणीपछि सो विषय विवादमा आएको थियो ।

अन्तर्वार्तामा झाँक्रीले अध्यक्ष नेपालले रौतहटमा गरेको शिलान्यास कार्यक्रम, बजेट सुनिश्चित नभएको बताउदै भनेकी थिइन्- 'हिजो उहाँ (माधवकुमार नेपाल) ले गरेको शिलान्यासमा न कार्यक्रम छ, न बजेट सुनिश्चितता भएको छ, न त टेण्डर नै आह्वान भएको छ । उहाँले २-३ वटा धर्मशाला र सभागृह शिलान्यास गरेर आउनुभयो । त्यो स्रोतको सुनिश्चितता पनि छैन, बजेटमा स्रोत पनि एलएमआइबिएस (मन्त्रालयगत बजेट सूचना प्रणाली) कोड पनि छैन ।'

झाँक्रीको अभिव्यतिले एकीकृत समाजवादीभित्रको विवाद रहेको बाहिर आएको छ ।

नेकपा एमालेबाट विभाजित भएर एकीकृत समाजवादी गठन भएको एक वर्ष पनि नपुग्दै विवाद देखिएको छ । झाँक्री आफुलाई मन्त्रीबाट हटाएदेखि नै अध्यक्ष नेपालसँग असन्तुष्ट रहेको बताइन्छ । हाल सहरी विकासमन्त्रीमा एकीकृत समाजवादीकै मेटमणि चौधरी रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै