• २०७९ श्रावण २८ शनिबार

गृहमन्त्री खाणसँग चिनियाँ राजदूत यान्छीको शिष्टाचार भेट

kharibot

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेटघाट गरेकी छन् । 

गृह मन्त्रालयमा आज भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ बनाउनेबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा गृहमन्त्री खाणले नेपाल एक चीन नीतिको पक्षमा रहेको स्पष्ट पारेको जनाएका छन् ।

“नेपाल एक चीन नीतिको पक्षमा छ, नेपालभित्र छिमेकी राष्ट्रविरुद्ध कुनै गतिविधि हुन नदिन हामी प्रतिबद्ध छौँ”, गृहमन्त्रीको भनाइ उद्धृत गर्दै उनका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए । 

उनले नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिग रहेको पनि बताए । अन्य छिमेकी मुलुक र चीनको शान्ति नेपालको हितमा रहेको गृहमन्त्री खाणको भनाइ थियो । भेटमा राजदूत यान्छीले नेपालमा हुने विपद्को व्यवस्थापनमा चीन सहयोग गर्न तयार रहेको बताइन् । 

सरकारले बिहीबारमात्रै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणा गरेकोमा चीनले खुसी व्यक्त गरेको राजदूत यान्छीले जानकारी गराइन् ।

जनताको मतबाट प्रतिनिधि चुनिने व्यवस्थाको पक्षमा चीन सदैव रहने भन्दै राजदूत यान्छीले जनमतबाट आउने नयाँ सरकारसँग चीन सहकार्य गर्न तयार रहेको बताइन् । 

उनले यसै वर्ष चिनियाँ कम्युनिष्ट पार्टीको पनि अधिवेशन हुन लागेको जानकारी गृहमन्त्री खाणलाई गराएकी थिइन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय