• २०८१ बैशाख १४ शुक्रबार

पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध

kharibot

खोटाङ । लगातारको वर्षासँगै झरेको पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण आज बिहान हलेसी तुवाचुङ नगरपालिका–७ स्थित महादेवस्थान नजिक पहिरो खस्दा मध्यपहाडी लोकमार्गअन्तर्गतको दिक्तेल–जयराम सडक अवरुद्ध भएको हो ।    

सडकमाथिबाट पहिरो खसेपछि दिक्तेलबाट काठमाडौँ, उदयपुर, इटहरी, धरान, बिराटनगर, काँकडभिट्टालगायत ठाउँमा जाने सवारी साधन बाटैमा रोकिएका छन् ।

सवारी साधन रोकिँदा यात्रु बीचबाटोमै अलपत्र परेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए । 

अवरुद्ध सडकको पहिरो पन्छाएर सञ्चालनमा ल्याउन हलेसी तुवाचुङ नगरपालिकाले स्काभेटर पठाएको वडा नं। ७ का वडाध्यक्ष कमल गिरीले जानकारी दिए ।

वर्षा याममा जिल्लाका अन्य कच्ची सडक ठप्प हुँदा मध्यपहाडी लोकमार्ग मात्र नियमित सञ्चालन हुँदै आएको थियो ।

उक्त लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकको साप्सुखोला र छेपेखोलामा पहिरो खसेर सडक अवरुद्ध भएको यातायात व्यवसायीहरुले बताएका छन् ।

लगातारको वर्षासँगै झरेको पहिरोले हुर्लुङ–जालपा, साप्सु–पानधारेलगायत कच्ची सडक यसअघि नै बन्द भएका थिए ।

वर्षा सुरु भएसँगै आएको भेल तथा पहिरोका कारण जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट अन्तरपालिका जोड्ने सबै ग्रामीण सडक अवरुद्ध भएका छन् ।

जिल्लाका सबै  कच्ची ग्रामीण सडक अवरुद्ध भएपछि दिक्तेल बजार तथा तराईका जिल्ला एवम् राजधानी काठमाडौँ आवतजावत गर्ने यात्रु घण्टौँ पैदल यात्रा गरेर गन्तव्यमा पुग्न बाध्य भएका छन् ।    

हिउँदको समयमा जिल्लाका दशवटै स्थानीय तहमा सडकको व्यवस्था भएपनि मध्यपहाडी लोकमार्ग मात्रै सञ्चालन हुँदै आएको थियो। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै