काठमाडौँ । अस्ट्रेलियाका निवर्तमान प्रधानमन्त्री स्कट मोरिसनले शनिबार भएको आम निर्वाचनमा आफ्नो पराजय स्वीकार गरेका छन् । स्कट मोरिसनले पनि पराजय स्वीकार गर्दै लिबरल पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।
एन्थोनी अल्बानीजको नेतृत्वमा रहेको लेबर पार्टीले चुनाव जितेको छ र एक दशकमा पहिलो पटक सत्तामा आउने भएको छ । अस्ट्रेलिया ब्रोडकास्टिङ कर्पोरेशन (एबीसी) का अनुसार लेबर पार्टीले चुनावमा स्कट मोरिसनको सरकारलाई पराजित गरेको छ ।
एबीसीले आफ्नो पछिल्लो अनुमानमा लेबर पार्टीले अल्पमतको सरकार बनाउन सक्ने बताएको थियो । लेबर पार्टीले अहिलेसम्म ७३ सिटमा जित हासिल गरेको अस्ट्रेलियन मिडियाहरुले उल्लेख गरेका छन् ।
१५१ सदस्यीय अस्ट्रेलियन तल्लो सदनमा संसदमा बहुमत प्राप्त गर्न ७६ सिट जित्नुपर्छ ।