• २०८३ मङ्सिर २ बुधबार

युक्रेनमा रुस हार्यो की आफ्नो रणनीति परिवर्तन गर्‍यो ?

युक्रेनमा रुस हार्यो की आफ्नो रणनीति परिवर्तन गर्‍यो ?

काठमाडौँ । के रूसी सेनाले युक्रेन विरुद्धको लडाईमा आफ्नो योजना परिवर्तन गरेको हो  ? या युक्रेनसँग हार मानेको हो ?  यो भन्न अझै धेरै चाँडो हुन सक्छ, तर युक्रेनको युद्धमा रूसको अडानमा भने पक्कै परिवर्तन भएको छ ।

रुसका शीर्ष सैन्य अधिकारी सर्गेई रात्सकोयले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन विरुद्ध घोषणा गरेको विशेष सैन्य कारबाहीको पहिलो चरण पूरा भइसकेको र अब युक्रेनको डोनेट्स्क र लुहान्स्क क्षेत्रलाई पूर्ण रूपमा मुक्त गर्नमा आफ्नो ध्यान केन्द्रित गर्ने बताएका छन् ।

यसको मतलब यो हुन सक्छ कि अब देशको पूर्वी भागमा 'सम्पर्क रेखा' लाई युक्रेनी सरकार-नियन्त्रित भागहरू र डोनेट्स्क र लुहान्स्कको रुसी समर्थित पृथकतावादी 'स्वायत्त गणतन्त्र' लाई छुट्याउन रुसले थप प्रयासहरू गर्ने छ ।

युक्रेनको अन्य भागमा पनि रुसी सेनाको प्रगति सुस्त छ । रुसी सेनालाई राजधानी किभबाट फिर्ता धकेलिएको छ र रुसी सेनाले आफ्नो कब्जामा लिएको अन्य क्षेत्र नगुमाउनका लागि अब रक्षात्मक स्थितिमा सरेको बताइएको छ ।

रूसले किभ कब्जा गर्ने आफ्नो मनसायमा पछि हटिरहेको छ भन्नु सायद धेरै हतार हुनेछ । तर पश्चिमी देशका अधिकारीहरूले युक्रेनमा रुसले एकपछि अर्को धक्काको सामना गरिरहेको बताएका छन् ।

शुक्रबार, पश्चिमी अधिकारीहरूले दावी गरे कि रसियाले युद्धमा अर्को जनरल गुमाएको छ, रुसले युक्रेनमा आफ्नो सातौं वरिष्ठ सैन्य अधिकारी गुमाएपछि सेनालाई निराश बनाएको छ ।

पश्चिमी देशहरूले जनरल सर्गेई रात्सकोयको घोषणाले रुसले आफ्नो युद्धपूर्वको महत्वाकांक्षी रणनीति अब असफल भएको कुरा स्वीकार गरिरहेको संकेत भएको विश्लेषण गर्न शुरु गरेका छन् ।

रसियाले अब एकै समयमा धेरै मोर्चाहरूमा आफ्नो अभियानलाई अगाडि बढाउन नसक्ने कुरा स्वीकार गरिरहेको विश्लेषण पश्चिमी देशहरुले गरेका छन् ।

प्राप्त रिपोर्ट अनुसार कम्तिमा १० नयाँ रूसी बटालियन रणनीतिक समूहहरू गठन भइरहेका छन् र तिनीहरू अब डोनबासतर्फ अघि बढिरहेका छन् ।

गत महिना युद्ध सुरु हुनुअघि नै रुसले युक्रेनका उत्कृष्ट सेनालाई घेरा हाल्न सक्दो प्रयास गर्ने डर थियो । तर रुसको युक्रेनमाथिको आक्रमणको एक महिनामा यो प्रयास असफल भएको छ ।

साथै रुसको रणनीतिमा परिवर्तन हुनुको एउटा उद्देश्य डोनेट्स्क र लुहान्स्कमा तैनाथ आफ्ना सेनाहरूलाई खार्किभ र इज्मबाट दक्षिणतर्फ सर्ने सेनासँग जोड्नु पनि हुनसक्ने बताइएको छ ।

यदि रूसले अन्ततः आजोभ सागरको नजिक मारिउपोल बन्दरगाह कब्जा गर्न सक्षम भयो भने, अन्य सेनाहरू जेफोलाई घेराबन्दी गर्न उत्तर पठाउन सक्ने बताइएको छ ।

तर यी केही उद्देश्यहरू अझै पनि रूसको पहुँच बाहिर देखिन्छन् । मारिउपोलको रक्षामा संलग्न युक्रेनी सैनिकहरूले रुसलाई कडा टक्कर दिइरहेका छन् । यस क्षेत्रमा विगत केही दिनदेखि भीषण लडाइँ चलिरहेको छ र रुसले आफ्नो युद्धपूर्व उद्देश्य पूरा गर्न सकेको छैन । उसले क्रिमिया देखि डोनबाससम्म एउटा ल्यान्ड ब्रिज बनाउन चाहेको थियो र यसका लागि मारिउपोल कब्जा गर्नु महत्त्वपूर्ण थियो ।

यदि अब रुस एक पटकमा एक लक्ष्य हासिल गर्न सक्दो प्रयास गर्नुपर्छ भन्ने निषकर्षमा रुस पुगेमा उसले आफ्नो आक्रमण बढाउन सक्छ, र विशेष गरी हवाई आक्रमणलाई जोड दिन सक्छ । 

साथै अर्को तर्फ पहिले नै अनुशासित र उत्साही युक्रेनी सेनालाई रूसको दबाबको सामना गर्न सबै सम्भव सहयोग भने चाहिने देखिन्छ ।

यसै कुरालाई ध्यानमा राख्दै युक्रेनी राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीले अमेरिका र युरोपका नेताहरुसँग लगातार हतियारको माग गरिरहेका छन् ।

आगामी दिनहरूमा रूसको ध्यान डोनबासमा केन्द्रित भयो भने पनि यसको मतलब यो होइन कि रूसले आफ्नो ठूलो उद्देश्य छोडेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै