• २०८१ बैशाख १५ शनिबार

गोष्ठी तथा सेमिनारस्थलमा प्रवेश गरी चोरी गर्ने ब्यक्ति पक्राउ

kharibot

काठमाडौं । गोष्ठी तथा सेमिनारस्थलमा प्रवेश गरी चोरी गर्ने कार्यमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुरको गोदावरी नगरपालिका–५ बस्ने ५२ वर्षीय अशोक केसी भन्ने हरिशरण केसीलाई चोरी गरेको धनमालसहित महानगरीय अपराध महाशाखाको प्रहरीले ललितपुर लगनखेलबाट मंगलबार पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१ कान्तिपथस्थित एल्लो प्यागोडा होटलमा माघ २० गते बैंकरहरुको तालिम संचालन भएको अवस्थामा खाजा खाने समय पारी ‘फायर साइड डेली’ नामको प्रेसकार्ड देखाई कार्यक्रम रहेको गणेश हलमा प्रबेश गरी प्रशिक्षार्थी सम्झना ढकाल समेत ३ जनाको लेडिज ब्याग, ब्यागभित्र रहेको नगद तथा मोवाईल समेत गरी करीव ३२ हजार ५ सय रुपैयाँ बराबरको धनमाल चोरी गर्ने कार्यमा संलग्न रहेको खुल्न आएपछि केसीलाई प्रहरीले पक्राउ गरेको हो ।

निज केसीबाट मोवाईल १ थान, घडी २ थान, ब्याग १ थान, फायर साइड डेलीको प्रेस कार्ड १ थान, कार्यक्रम सम्बन्धि लेखिएको डायरी १ थान र सिमकार्ड २ थान बरामद भएको छ ।
निज केसीले बिभिन्न संचार माध्यम एफएम समेतबाट सम्बन्धित कार्यक्रमबारेमा जानकारी लिने र कार्यक्रमस्थलमा पुगी उपस्थित मानिसहरुको ब्याग तथा ब्यागभित्र भएका ल्यापटप समेत चोरी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

केसीलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको सो महाशाखाले जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै