• २०८१ बैशाख १५ शनिबार

दक्ष जनशक्ति अभावले राजमार्गका पुल निर्माणमा समस्या

kharibot

फाइल फोटो ।

काठमाडौँ । सरकारले नयाँ निर्माण भइरहेका राजमार्गमा धमाधम पुल निर्माण गर्ने योजना अगाडि सारे पनि जनशक्तिको अभावमा प्रभावकारी काम हुन सकेको छैन । 

निर्माण भइरहेका र अब निर्माणको तयारीमा रहेका दुई हजारभन्दा बढी पुल निर्माण गर्न जनशक्तिको अभाव देखिएको छ । सडक विभाग मातहतको पुल महाशाखाका अनुसार दक्ष जनशक्ति उपलब्ध नहुँदा निर्माण व्यवसायीले पालो कुरेर कामदार लैजानुपर्ने अवस्था छ । 

हाल देशभर निर्माणाधीन ९०० भन्दा बढी पुल समयमै सम्पन्न गर्न बजेटसँगै दक्ष जनशक्तिको अभाव छ । बाँकी रहेका एक हजार १०० भन्दाबढी पुलको अवस्था पनि उस्तै छ । पुल विभागका सिनियर डिभिजनल इञ्जिनियर नरेशमान शाक्यका अनुसार ज्यामीको काम गर्ने जनशक्ति पाइए पनि जोखिमपूर्ण काम गर्ने र प्राविधिक ज्ञान भएका जनशक्ति पाउन समस्या छ । 

महाशाखाले रु ६२ अर्ब बराबरको पुल निर्माणका लागि ठेक्का लगाएको छ । बजेट र जनशक्ति अभावका कारण निर्माणाधीन पुल तोकिएको समयमा सम्पन्न गर्न समस्या हुने भएको छ । प्राविधिक ज्ञान भएका जनशक्ति अवसरको खोजीमा विदेश जाने प्रवृत्ति बढेको छ । सुगम स्थानमा सहजरुपमा जनशक्ति प्राप्त भए पनि दुगर्ममा अझ बढी समस्या देखिएको विभागको बुझाइ छ । 

सामान्यताः एउटा पुल निर्माणमा न्यूनतम १५ देखि अधिकतम ३० जनासम्म दक्ष जनशक्तिको आवश्यकता पर्दछ । राजमार्गमा २७६ वटा पुल निर्माण भइरहेको छ । ठेक्का सम्झौताअनुसार तीनदेखि चार वर्षमा सबै पुल निर्माण गरिसक्नुपर्ने हुन्छ । विभागका उपमहानिर्देशक एवं पुल माहाशाखाका प्रमुख अर्जुनजंग थापा बजेटसँगै जनशक्ति चुनौतीको विषय बनेको बताए । 

जनशक्ति अभावका कारण चार वर्षे ठेक्का पूरा हुन दश वर्षसम्म लाग्ने गरेको छ । लागत बढ्नुका साथै जनस्तरबाट विरोध हुने गरेको छ । नयाँ नयाँ सडक बनिरहेको, सोही आधारमा पुलको माग बढिरहेको छ । उपमहानिर्देशक थापाका अनुसार चालू आवमा ५० वटा पुल निर्माण सम्पन्न हुने छन् । 

झोलुंगे पुल निर्माणमा पनि उस्तै 

मोटर चल्ने पुलमा मात्रै नभई झोलुंगे पुल निर्माणमा पनि जनशक्तिको अभाव देखिएको छ । स्थानीय विकास मन्त्रालय मातहतको सस्पेन्सन ब्रिज डिभिजनका अनुसार देशभर नै तुइन विस्थापनका लागि युद्धस्तरमा काम भइरहेको भए पनि ‘पुल फिटर’ को अभाव रहेको छ । 

सरकारले चालू आवभित्र सबै तुइन विस्थापन गरेर झोलुंगे पुल निर्माण गर्ने घोषणा गरिरहँदा दुर्गम क्षेत्रमा निर्माण गरिने झोलुंगे पुल निर्माणमा सामान्य मजदूरदेखि प्राविधिक जनशक्ति पाउन मुस्किल छ ।

डिभिजनका प्रमुख गुरुप्रसाद शर्माका अनुसार हाल देशभर १७१ वटा तुइन पहिचान गरी त्यसलाई विस्थापन गरेर झोलुंगे पुल निर्माण गर्ने कार्य अगाडि बढाइएको छ । हालसम्म जिल्ला समन्वय समितिले ४५ वटा तुइन विस्थापन गरिसकेको छ । 

दुर्गम क्षेत्रमा झोलुंगे पुल निर्माणका लागि जनशक्तिको अलावा निर्माण सामग्रीको समस्या छ । नेपालमा हाल परम्परागत तवरले मानिसले नै तार तानेर झोलुंगे पुल निर्माण गरिने गरिएको छ । नयाँ प्रविधि तथा तार तान्ने मेशिनसमेत ल्याउन नसकिएको शर्मा बताउन्छन् । 

‘लामा खोच भएका स्थानमा झोलुंगे पुल निर्माण गर्नु युद्ध जिते जस्तै हुन्छ’ उनले भने ‘हामीले अत्याधुनिक प्रविधि भित्र्याउनु जरुरी छ । सरकारले तुइन विस्थापनका लागि चालू आवमा सरकारले रु १६ करोड बजेट विनियोजन गरेको छ ।’ 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै