• २०८१ बैशाख १५ शनिबार

कारवाही गरेर देखाउन प्रकाशमानको सभापति देउवालाई चुनौती 

kharibot

काठमाडौँ । विहिवार र शुक्रबार बसेको नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकमा पार्टी सभापति देउवाको कडा अलोचना भएको छ । 

शुक्रबारको बैठकमा पूर्वमहामन्त्री प्रकाशमान सिंह पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका थिए । 

निर्वाचन पछि सिंहले दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर सभापति देउवाले केही दिनअघि अनौपचारिक बैठकमा अनुशासनको कारबाहीको चेतावनी दिएपछि सिंह केन्द्रीय बैठकमा आक्रामक रुपमा प्रस्तुत भएका हुन् । 

केन्द्रीय समिति बैठकमा बोल्दै नेता सिंहले पार्टी सभापति हुँदैमा हप्काउने, धम्क्याउने र कारबाही गर्ने धम्की दिने ? भन्दै हामी पनि पञ्चायती व्यवस्थाविरुद्ध लडेका व्यक्ति हौं । तपार्इंले कारबाही गर्ने भन्दैमा डराउने कुरै छैन भनेका थिए ।

बैठकमा सिंहले भने, ‘कसले कारबाही गर्ने ? ल कारबाही गरेर देखाउनुहोस् ।’ 

सिंहले देउवा सिंगो पार्टीको सभापति बन्न नसकेको, केही व्यक्ति र समूहको मात्रै सभापति बनेको आरोप समेत लगाए । 
‘सीमित मान्छेलाई राखेर पार्टी चलाउने अनि कारबाहीको धम्की दिने ?’ 

बैठकमा सभापतिप्रति सबैभन्दा आक्रामक देखिएका सिंहले विधि र विधानविपरीत पार्टी सञ्चालन गर्दाको परिणाम नै निर्वाचनमा पार्टी पराजित हुनुपरेको बताएका थिए ।

समानुपातिक सांसदको सूची बुझाउँदा पार्टी सभापतिले नै केन्द्रीय कार्यसमितिको निर्णय उल्लंघन गरेको सिंहले आरोप लगाएका थिए । नेता सिंहले केन्द्रीय कार्यसमिति बैठकले स्वास्थ्यका कारण प्रत्यक्षमा चुनाव लड्न नसक्ने भएपछि सुजाता कोइरालाबाहेक समानुपातिकबाट सांसद भइसकेकालाई नदोहोर्‍याउने निर्णय लिएको स्मरण गराउदै सभापति देउवाले एकपटक मात्रै नभएर दुई पटकसम्म समानुपातिक सांसद भएकालाई समेत सूचीमा राखेको भन्दै सिंहले कडा विरोध गरेका थिए ।

यो मुद्दामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका सदस्यले समेत बैठकमा कडा विरोध गरेका छन् । निर्वाचन आयोगमा बुझाइएको समानुपातिक सूचीमा देउवाले आफ्ना पक्षका आधा दर्जन बढीलाई दोहोर्‍याउन चाहेका छन् ।

‘केन्द्रीय कार्यसमितिको निर्णय उल्लंघन गर्ने अधिकार तपार्इंलाई कसले दियो ?,’ सिंहको प्रश्न थियो, ‘तपाईलाई मैले भोट दिइन होला तर तपार्इं हाम्रो पनि सभापति हो । तपाईं एउटा समूहको मात्रै होइन, सबैको सभापति हुनुपर्छ ।’ उनले विधानविपरीत बनाइएका केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समिति विघटन गर्नुपर्ने माग दोहोर्‍याए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय