• २०८१ बैशाख १५ शनिबार

रोनाल्डो किन रिसाए रियल म्याड्रिडसँग ? सम्भव छ त म्यान्चेस्टर फर्किन ?

kharibot

काठमाडौँ । स्पेनिस क्लब रियल म्याड्रिड आफ्ना भरपर्दा र ठुलो प्रोफाइलका खेलाडी क्रिस्टियानो रोनाल्डोका कारण अहिले चर्चामा रहेको छ । पछिल्लो समय रोनाल्डोले आफ्नो पुरानो क्लब म्यान्चेस्टर युनाइटेड फर्किने चाहना व्यक्त गरेको रिपोर्टहरु स्पेनिस मिडियामा आउन थालेपछि यसले विश्व फुटबलमा नै तरंग ल्याएको छ । 

स्पेनमा चेलेको चर्चाको वास्तविकता के हो ? यो त समयले नै बताउला तर अहिले रियल म्याड्रिडसँग रोनाल्डो खुशी नभएको भने पक्कै हो । रोनाल्डो अहिलेपनि विश्वका उत्कृष्ट खेलाडी हुन् । उनले यसबर्ष फिफाको उत्कृष्ट बर्ष खेलाडी र बेलुन डो अरको उपाधि दुवै जितेका छन् । रोनाल्डोले रियलसँग आफु उत्कृष्ट खेलाडी भएकाले सोहि अनुसार पारिश्रमिक हुनुपर्छ भन्ने माग राख्नु अस्वाभाविक होइन र देखिदैन । 

तर कुरा यस सिजनमा क्लब र रोनाल्डो दुवैको प्रदर्शनमा अड्किएको जस्तो देखिएको छ । यस सिजनमा रियल म्याड्रिड ला लिगामा चौथो स्थानमा छ भने ला लिगाको उपाधि जित्ने दौडबाट लगभग बाहिरिएको छ । हाल शिर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा १९ अंकले पछाडी रहेको रियल अब टप चार भित्र पर्नका लागि खेल्ने जस्तो देखिन्छ । ला लिगाको डिफेन्डीङ च्याम्पियनलाई यहि कुराले अप्ठ्यारोमा पारेको हुनसक्ने देखिएको छ । रोनाल्डोले यस सिजनमा केवल चार गोल गरेका छन् । सिजनको सुरु मै रेफ्रीलाई धक्का दिएपछि प्रतिबन्धमा परेका रोनाल्डो ला लिगामा यस पटक खुलेर खेल्न सकेका छैनन् ।

रोनाल्डोले क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले प्रतिबद्धता व्यक्त गरे जस्तो पारिश्रमिक बढाउने माग गरेको स्पेनमा चर्चा चलेको छ । पछिल्लो समयमा बाहिर आएका रिपोर्टहरु हेर्दा रियल म्याड्रिड रोनाल्डोको पारिश्रमिक बढाउने मुडमा देखिदैन । बरु रियल प्रशासनले उल्टो नेइमारलाई ल्याउन रोनाल्डोलाई पिएसजी पठाउने समाचार बाहिर ल्याएको स्पेनमा चर्चा चलेको छ । रोनाल्डोलाई सन्देस दिन क्लबले जानी जानी यसो गरेको रिपोर्ट बाहिर आएको छ ताकी रोनाल्डोले पारिश्रमिक बढाउने आफ्नो माग स्थगित गरुन । तर रोनाल्डोले पनि आफु म्यान्चेस्टर फर्किने रिपोर्ट बाहिर ल्याएर रियल म्याड्रिडलाई काउन्टर दिन खोजेको जस्तो अहिले देखिएको छ ।

सम्भव छ त म्यान्चेस्टर फर्किन ?

रोनाल्डो म्यानचेस्टर युनाइटेड फर्किने कुरा खेल विश्लेषकहरुले धेरै गार्हो काम भएको टिप्पणी गरेका छन् । रोनाल्डोको उमेर, फर्म र उनलाई तिर्नु पर्ने पैसाका कारण युनाइटेड फर्किने उनको चाहना बाधक हुनसक्ने देखिएको छ । तर रोनाल्डो म्यानचेस्टर फर्किएमा भने क्लबको प्रमोशन र खेल समाग्रीको व्यापार भने व्यापक बढ्ने देखिन्छ । रोनाल्डो आफैमा ठुलो ब्रान्ड बनिसकेकाले क्लबले त्यसको भरपुर फाइदा भने उठाउन सक्ने देखिन्छ । 

टिमको कुरा गर्दा म्यान्चेस्टर अहिले पनि आफ्नो प्रदर्शनमा संघर्ष गरिरहेको देखिन्छ । जोसे मोरिन्होले टिम बनाउन धेरै मेहनेत गरेपनि जित निकाल्ने सहि कम्बिनेशन बनाउन सकिरहेको देखिदैन । युनाइटेडका लागि अहिले विपक्षीको डिफेन्स तोडेर गोल गर्ने खेलाडीको बढी आवश्यकता छ र उसले यो आर्सनलका एलेक्सिस सान्चेजमा देखेर उनलाई ल्याउने प्रयासमा जुटेको । तर यसमा रोनाल्डोले युनाइटेडको गोलको खडेरीलाई भने तोडेर गोल गर्ने खुबी राख्दछन् । 

सान्चेज युनाइटेड आए भने रोनाल्डोको बाटो बन्द हुन सक्छ । यसका दुई पाटा छन् पहिलो त सान्चेजलाई दिने पारिश्रमिक दोस्रो टिमको कम्बिनेशन, दुवै रोनाल्डोका लागि नकारात्मक देखिन्छ ।

त्यस्तै अर्को विश्लेषण म्यान्चेस्टर युनाइटेड न्युयोर्क स्टक एक्सचेन्जमा दर्ता भएको क्लब हो त्यसैले उसले अन्य क्लबले जस्तो गरी निणय गर्न गार्हो हुन्छ । रोनाल्डोको उमेर अनुसार उनलाई बार्षिक दिनुपर्ने पारिश्रमिक लगभग ४४ मिलियन पाउण्ड जस्टिफाई गर्न युनाइटेडका व्यवस्थापकलाई गार्हो हुने खेल विश्लेषकहरुले बताएका छन् ।

अझ रोनाल्डो जस्तो खेलाडीको विषयमा निर्णय गर्न हालको युनाइटेडको बोर्डलाई त्यति सजिलो देखिदैन यद्यपी युनाइटेडको व्यवस्थापन अहिले पनि रोनाल्डो प्रति उत्तिकै लोयल देखिन्छ । तत्कालिन म्यानेजर जसले रोनाल्डोलाई युनाइटेड भित्राएका थिए सर एलेक्स फर्गुशन अहिले पनि युनाइटेडको व्यवस्थापनमा महत्वपूर्ण पदमा भएका कारण रोनाल्डोलाई सहज परिस्थिति बन्न सक्ने धेरैको बुझाई रहेको छ । 

जे जस्तो विश्लेषण भएपनि र जस्ता रिपोर्ट बाहिर आएपनि रोनाल्डो म्यानचेस्टर आउने कुरा रियल म्याड्रिडले कति पैसा माग्छ भन्ने मै भर पर्ने देखिन्छ । अहिले प्राप्त रिपोर्ट अनुसार रियल म्याड्रिडले कम्तिमा पनि रोनाल्डोका लागि ८९ मिलियन पाउण्ड माग्ने बताइएको छ तर रोनाल्डोको ब्रान्ड बुझेको रियल म्याड्रिडले रोनाल्डोलाई त्यति सजिलै र कम पैसामा अन्य क्लबमा जान दिन्छ भन्ने कुरा पत्याउन सकिन्न । 

तर रोनाल्डोलाई बिदा नै गर्न खोजेको हो भने पुरानै क्लब युनाइटेडमा फर्किन रोनाल्डोले पारिश्रमिक र अन्य कुरामा सम्झौता गर्नसक्ने कुरालाई पनि नकार्न भने सकिदैन । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय