• २०८१ बैशाख १४ शुक्रबार

पर्वतका छ सय ४९ भूकम्पपीडित अनुदान लिन आएनन्

kharibot

फलेवास । छ सय ४९ जना भूकम्पपीडितले अहिलेसम्म पनि पहिलो किस्ताको अनुदान रकम लिन आएका छैनन् । 

भूकम्पबाट पर्वतमा पाँच हजार २६९ घर पूर्ण क्षति भएका थिए । तीमध्ये हालसम्म चार हजार ५९९ जनाले सम्झौता गरेर पहिलो किस्ताको रकमबापत रु ५० हजार लगिसकेको जिल्ला समन्वय समिति पर्वतले जनाएको छ । बाँकी ६४९ जना सम्झौता गर्नसमेत आएका छैनन् । 

पर्वतमा दोस्रो किस्ता अहिलेसम्म पनि वितरण हुन सकेको छैन । पुनःनिर्माणका लागि प्राविधिकहरु नआउँदा लाभग्राहीले घर बनाउनसमेत पाएका छैनन् भने बनाइसकेकाको पनि अनुगमन र भूकम्प प्रतिरोधी छ या छैन भनेर परीक्षण नगरिँदा दोस्रो किस्ता वितरण हुन नसकेको जिल्ला समन्वय समितिका सूचना अधिकृत तुलसीराम शर्माले जानकारी दिए । 

उनले भूकम्पपीडितका लागि हालसम्म पर्वतमा रु २३ करोड १० लाख वितरण भइसकेको छ, थप २१ जनाका लागि रु १० लाख ५० हजार भुक्तानी गर्न सिफारिस गरिएको छ भन्दै कतिपयको नाम परिवर्तन भए÷नभएको, अर्काको जग्गामा बसोबास गरेका, दुई घर भएकाको पहिचान गर्न कठिनाइ भएकाले पनि पुनःनिर्माणमा समस्या देखिएको बताए । 

पर्वतमा पुनःनिर्माणका लागि यही पुसबाट मात्रै १७ जना इन्जिनियर खटिएका छन् । पर्वतका सातवटै स्थानीय तहमा क्षतिको संख्याअनुसार उनीहरुलाई परिचालन गरिएको छ । 

त्यसैगरी अबको एक महिनाभित्र ८३८ जना डकर्मीलाई तालीम दिएर पुनःनिर्माणमा लगाउने तयारी भएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव नारायण श्रेष्ठले जानकारी दिए । यसका लागि तीमध्ये दुई नगरपालिकामा ५०÷५० का दरले, चार गाउँपालिकामा २५÷२५ र बिहादी गाउँपालिकामा ५० गरी २५० जनालाई घरेलु तथा साना उद्योग विकास समितिले तालीम दिन थालेको छ । 

प्रत्येक स्थानीय तहमा लाभग्राहीको संख्याका आधारमा डकर्मीलाई तालीम दिएर खटाइने छ, सहसचिव श्रेष्ठले भने – ‘अब लाभग्राहीका अधिकांश समस्या जिल्लाबाटै समाधान गर्न जिल्ला आयोजना कार्यान्वयन एकाइको कार्यालय स्थापना गर्ने र त्यसमा जिल्ला समन्वय अधिकारीलाई प्रमुख र जिल्ला इन्जिनियरलाई व्यवस्थापनको जिम्मेवारी दिइने नीति छ ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै