म आउनेछु आमा ! एकदिन ...
यो खाल्डोबाट उन्मुक्तिको श्वास फेर्दै,
यो कंक्रिटको तन र मन त्यागेर
सिमेन्टको भुइँ र आकाश च्यातेर
मनै हराएका मान्छेकाे भीडबाट एक्लिँदै
छियाछिया तनभित्र मानवता छोप्ने मान्छे गलहत्याउँदै
म आउने छु आमा ! एकदिन
आफ्नै गाउँ आउनेछु ।
यहाँ,
आवाज छ, ध्वनि छैन
आँखा छ, दृष्टि छैन
हाँसो छ, खुसी छैन
माया छ, मुटु छैन
रोदन छ, आँशु छैन
पीडा छ, चित्कार छैन
यो सांसारिक सुखलिप्साको सहरमा
यो भौतिक आनन्दमात्र बिक्री गर्ने बजारमा
आमा !
सबै कुरा छ
तर,
तपाईँको न्यानो माया छैन
आशीर्वादको हात छैन
छ त केवल,
स्वार्थ र अहंकारले भरिएको मानवरुपी जञ्जीर मात्र ।
आमा !
यहाँ त
उडिरहेको धूलोबाट पैसा झारिन्छ
बागमतीको फोहोरमा पैसा चालिन्छ
आमाबुवाको स्नेह र अभिभावकत्वलाई तराजुमा जोखिन्छ
तिललाई पहाड बनाइन्छ अनि पहाडलाई तिल
मरिमराउमा गाउँबाट मलामी बोलाउनुपर्ने यो सहरमा
भोजभतेरमा बेहुलीको बाको टुप्पी बिक्री हुन्छ
आर्यघाटमा पोलिनुअघि रकम बुझाउनुपर्छ
मलाई यहाँ पटक्कै बस्न मन छैन,
म आउनेछु आमा ! एकदिन...
आफ्नै गाउँ आउनेछु ।
मलाई,
सहरमा फाटेको जीवनभन्दा
गाउँमा फाटेको धूरी प्यारो छ
महलको कठ्यााङ्ग्रिने जाडोभन्दा
धूलाम्य आँगन न्यानो छ
त्यो सन्नाटाको डल्ला फोड्न
घरको छेउकुना मिलाउन
मन्जुश्रीको फरुवा बोकेर
आँशुभित्र खुसीको श्वास फेर्न
म एक दिन पक्कै आउनेछु आमा !
आफ्नै गाउँ आउनेछु ।