• २०८१ बैशाख १४ शुक्रबार

डिपिएलको दोस्रो संस्करण चैत्रमा हुने, विजेतालाई २५ लाख पुरस्कार दिइने  

kharibot

काठमाडौं । राष्ट्रिय क्रिकेट संघमा अस्तव्यस्त भएपनि निजी पहलमा भएका घरेलु क्रिकेट प्रतियोगिताले नेपाली क्रिकेटलाई बचाइरहेका छन् । 

यसैबीच आज धनगढी प्रिमियर लिग ‘डिपिएल–२’ घोषणा गरिएको छ । गतबर्ष अत्यन्त सफल रुपमा संचालन भएको धनगढी प्रिमियर लिगको दोस्रो संस्करण हुने भएको हो । डिपीएल -२ को घोषणासँगै घरेलु क्रिकेटमा पुरस्कार राशीमा अर्को किर्तीमान बन्ने भएको छ । हालै प्रथम पुरस्कार २१ लाख रुपैयाँ रहेको एभरेष्ट प्रिमियर लिग इपिएल सकिएना साथ डिपीएल-२ मा प्रथम पुरस्कार २५ लाख रुपैयाँ दिइने घोषणा गरिएको छ ।

डिपीएल -२ आगामी चैत १७ गतेदेखि  बैशाख १ गतेसम्म धनगढीमा हुने भएको छ । यो प्रतियोगिताको उपाधी जित्ने टिमले २५ लाख रुपैयाँ पाउने आयोजक धनगढी क्रिकेट एकेडेमी डिसिएका प्रमुख सुवास शाहीले जानकारी दिएका छन् । 

यस्तै ‘डिपिएल–२’ मा दोस्रो हुनेले १० लाख, तेस्रो हुनेले ३ लाख र चौथो हुनेले २ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

पुरस्कारको लागि मात्रै ‘डिपिएल–२’ मा ५० लाख रुपैयाँ खर्च हुने आयोजक डिसिएलले जनाएको छ । प्रतियोगिताको कूल खर्च ३ करोड हुने अनुमान छ ।

हरेक खेलका म्यान अफ द म्याचले २० हजार रुपैयाँ पाउने भएका छन् । यस्तै म्यान अफ द सिरिजले अपाचे मोटरसाइकल पाउनेछ । 

डिपिएल क्रिकेटमा अघिल्लो वर्ष जस्तै ६ वटा टोली सहभागी हुनेछन् । टिम चौराह धनगढी, सिवाइसी अत्तेरिया, रुपन्देही च्यालेन्जर्स, कञ्चनपुर आइकोनिक, काठमाण्डौं गोलडेन्स र विराटनगर किंग्सले खेल्ने डिपिएलको लागि बिहीबारदेखि खेलाडी दर्ता शुरु भएको छ । प्रतियोगिता खेल्नको लागि खेलाडीलाई ३ तहमा बर्गिकरण गरिएको जानकारी दिइएको छ ।

आयोजकका अनुसार ‘ए’ तहको लागि पछिल्लो ३ बर्षदेखि नेपाली टोलीमा रहेर १५ वटा अन्तर्राष्ट्रिय खेल खेलेको हुनुपर्नेछ । यस्तै ‘वि’ तहको लागि सबै उमेर समूहका खेलाडीले दर्ता गर्न पाउनेछन भने ‘सि’ तहको लागि कुनै पनि खेलाडीले नाम दर्ता गराउन पाउँनेछन् । 

खेलाडीले आज बिहीबारदेखि माघ २५ गतेसम्म नाम दर्ता गर्न सक्नेछन । खेलाडीको बोलकवोल अर्थात ‘अक्सन’ फागुन ५ गते हुनेछ । तर हरेक टीमबाट एक एकजना रणनीतिक खेलाडीको नाम भने ‘अक्सन’ अघि नै सार्वजनिक गरिने आयोजकले जनाएको छ । कप्तान छान्ने अधिकार टीमलाई नै हुनेछ ।

डिपिएलमा सबै ६ वटै टिमले २ जना विदेशी खेलाडी अनिवार्य राख्नुपर्ने भएको छ । यस्तै १५ जनाको टोलीमा १ जना सुदूरपश्चिमका खेलाडी अनिवार्य हुनुपर्ने नियम राखिएको छ । प्रतियोगिताको मुख्य प्रायोजन रुस्लान र टिकेटको सहयात्री इ सेवा रहेका छन् । 

डिपिएल २ को अवसरमा १ जना पूर्व खेलाडीलाई धनगढी क्रिकेट सम्मान तथा नेपाली क्रिकेटमा महत्वपुर्ण योगदान दिएका एकजनालाई अर्जुन खड्का स्मृती सम्मानबाट एक–एक लाख रुपैयाँ दिइने आयोजकले जनाएको छ ।

त्यस्तै ‘डिपिएल–२’ का लागि लिग चरणको टिकटलाई ५० रुपैयाँ तोकिएको छ । यस्तै प्लेअफ चरणमा ७० र  फाइनलमा १०० रुपैयाँको टिकट हुनेछ । टिकट बिक्रिबाट आएको रकमको २० प्रतिशत फाप्ला क्रिकेट मैदानको लागि छुट्याइने आज आयोजित पत्रकार सम्मेलनमा डिसिएलका प्रमुख सुवास शाहीले जानकारी दिएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै