• २०८१ बैशाख १४ शुक्रबार

एचआइभी संक्रमित बालबालिका समस्यामा

kharibot

बैतडी । बैतडीमा एचआइभी संक्रमित बालबालिका समस्यामा परेका छन् । 

शिक्षा, स्वास्थ्य र पोषणमा पहुँच पुग्न नसकेकाले उनीहरु समस्यामा पर्ने गरेको एचआइभी क्षेत्रमा कार्यरत संस्था बहुउद्देश्यीय विकास समाज डडेल्धुराका कार्यक्रम संयोजक लोकेन्द्र पन्तले बताए । 

जिल्लामा १९ बालबालिका एचआइभी संक्रमित देखिएका छन्, उनले भने– ‘तीमध्ये अधिकांशले अभिभावक गुमाइसकेका छन् ।’ कतिपयले आमा र बुबा दुइटै गुमाइसकेका छन् भने धेरैले आमा वा बुबामध्ये एकजना गुमाइसकेका छन् । त्यस्ता संक्रमित बालबालिकाका लागि राज्यले कुनै प्रकारका प्रभावकारी कार्यक्रम ल्याउन नसकेकाले पनि उनीहरु समस्यामा पर्ने गरेको छ । 

संक्रमित बालबालिकालाई अहिले बहुउद्देश्यीय विकास समाज डडेल्धुराले मासिक एक हजारका दरले छात्रवृत्ति र औषधिको व्यवस्था गर्दै आएको भए पनि १८ वर्ष माथिकालाई भने कुनै सहयोग नभएको पन्तले जानकारी दिए । 

एचआइभी संक्रमित बालबालिकालाई औषधिसँगसँगै पोषणको आवश्यकता पर्ने भएकाले उनीहरुमा कुपोषणको समस्या देखिएको उनले बताए । 

संक्रमित खुलेर बाहिर आउन सकेका छैनन् 

एचआइभी संक्रमित अझै पनि खुलेर बाहिर आउन सकेका छैनन् । समाजमा हुने भेदभावले एचआइभी संक्रमित बाहिर आउन नसकेको यो क्षेत्रमा कार्यरत संघसंस्थाले बताएका छन् । 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिलेसम्म २०९ जना एचआइभी संक्रमित छन् । तीमध्ये १०६ पुरुष र १०३ महिला छन् । संक्रमितमध्ये २७ जना १८ वर्ष मुनिका बालबालिका छन् । एक सय चार जना संक्रमितले मात्रै उपचारमा रहेका छन् । 

२०६४ सालदेखि अहिलेसम्म एचआइभी एड्सबाट ३१ जनाले ज्यान गइसकेको छन् । समाज हुने विभेदका कारण अझै पनि संक्रमित खुलेर बाहिर आउन नसकेकाले एचआइभी संक्रमितको संख्या अझै बढी हुन सक्ने अनुमान कार्यक्रम संयोजक पन्तले बताए । 

जिल्ला अस्पतालमा एचआइभी सक्रंमितका लागि एआरटी सेन्टर भएकाले उनीहरु नियमित आएर औषधि सेवन गरिरहेको बताइएको छ । बैतडीमा अझै पनि एचआइभी संक्रमितलाई हेर्ने दृटिकोण नराम्रो रहेकाले उनीहरु लुकेर बस्न बाध्य हुने गरेका छन् ।

एचआइभी संक्रमित नराम्रो क्रियाकलापले मात्रै लाग्ने ग्रामीणस्तरका नागरिकका सोचले उनीहरुलाई हेर्ने दृष्टिकोण नराम्रो हुँदा नियमित औषधि सेवन नगर्ने र लुकेर बस्ने गरेको एचआइभी एड्सको क्षेत्रमा काम गर्नेहरुले बताएका छन् । 

पश्चिम क्षेत्रमा बढी संक्रमित रहेको पाइएको छ । यस क्षेत्रबाट रोजगारीका सिलसिलामा भारत जाने र त्यहाँबाट फर्किंदा एचआइभी लिएर आउने गरेको बहुउद्देश्यीय विकास समाज बैतडीका कार्यक्रम संयोजक लोकेन्द्रप्रसाद पन्तले बताए । 

असुरक्षित यौनसम्पर्क, संक्रमित रगत, संक्रमित सुई सिरिन्ज तथा छाला छेड्ने औजार र संक्रमित आमाबाट बच्चामा एचआइभी सर्न सक्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै