• २०८१ बैशाख १५ शनिबार

पक्षपातरहित भएर पुनर्निर्माणको काम गर्न इन्जिनियरलाई सिइओ भूसालको निर्देशन

kharibot

काठमाडौँ । भूकम्प प्रभावित ३१ जिल्लामा जाने नवनियुक्त इन्जिनियर तथा सव इन्जिनियरहरुले आइतवार सपथ  लिएका छन् । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट लिइएको परीक्षामा उतीर्ण भएका मध्ये आज पहिलो चरणमा ३ सय ७४ जना इन्जिनियर र ३ सय ९१ सव इन्जिनियरले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युबराज भूसालबाट सपथ लिएका हुन । इश्वर र कुलदेवताको नाममा नवनियुक्त प्राविधिकहरुलाई कार्यकारी प्रमुख अधिकृत भूसालले सपथ गराए । 

उक्त सपथ समारोहलाई सम्वोधन गर्दै भूसालले भूकम्प प्रभावित जनताको आशु पुछ्ने जिम्मेवारी दिएको भन्दै कार्यक्षेत्रमा प्रभावकारी काम गर्न नवनियुक्त प्राविधिकहरुलाई आग्रह गरे । 

उनले सेवा भावले भूकम्प प्रभावित क्षेत्रमा अहोरात्र खटेर काम गर्न समेत निर्देशन दिए । भूसालले मानवीय सेवामा पक्षपात नगरि काम गर्न समेत इन्जिनियर, सव इन्जिनियरलाई आग्रह गरे । 

इन्जिनियरको सुरक्षाका लागि बिमा गराउने र अन्य भौतिक सुरक्षाको जिम्मोवरी सरकारले गर्ने भएकाले ढुक्क भएर कार्यक्षेत्रमा प्रभावकारी रुपमा काम गर्न भूसालले निर्देशन दिए । 

कार्यक्रममा शहरी बिकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा, प्राधिकारीका कार्यकारी सदस्य, डा. हरिराम पराजुली, प्राधिकरणका प्रवक्ता यमलाल भूसाल, शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका प्रमुख तपेन्द्रबहादुर खड्का लगायतले कार्यक्षेत्रमा जाने तयारीमा रहेका नवनियुक्त प्राविधिकहरुलाई शुभकामना दिदै पुनर्निर्माणको जिम्मेवारीलाई कुशलताका साथ निर्वाह गर्न आग्रह गरे । 

भूकम्प प्रभावित ३१ जिल्लाका २ सय ८२ वटा गाँउपालिका र नगरपालिकामा परिचालन हुने प्राविधिकहरुले प्रत्येक वडामा निजी आवास पुनर्निर्माणका लागि सहयोग गर्नेछन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै