• २०८१ बैशाख १५ शनिबार

एचआइभी संक्रमित भन्छन् : आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ

kharibot

रामपुर । रिब्दीकोट गाउँपालिका–७ का ४० वर्षीय लक्ष्मी कुँवर एचआइभी संक्रमित हुनुहुन्छ । ‘आफू बचौँ  र अरुलाई पनि बचाऔँ’ भन्ने अभियानमा उनी जुटेका छन् । 

आफू एचआइभी संक्रमित भएको कुरा उनले समाजमा खुलेरै भन्दै हिँडेका छन् । उनी आफूमात्र नभई अरुलाई पनि बाहिर ल्याउने अभियानमा प्रतिबद्ध सहयोग समूह गठन गरेर समाजमा विभिन्न जनचेतनामूलक काममा सक्रियरुपमा लागिरहेका छन् । 

आफूले २०५१ सालमा एचआइभी संक्रमित भएको थाहा पाए तर चार वर्ष जति समाजको डरले बाहिर खुल्न सकिएन् । समाजको कुनै प्रवाह नगरी उनले २०५४ देखि आफू एचआईभी संक्रमित भएको भन्दै विभिन्न सामाजिक कार्यमा लागेका छन् । 

‘२०५१ मा वैवाहिक जीवनमा बाँधिए, त्यति बेला श्रीमान् एचआइभी संक्रमित हुनुहुँदो रहेछ, उनीबाटै मलाई पनि सर्यो’ कुँवरले भनिन्– ‘श्रीमान्ले नियमित औषधि सेवन नगर्दा उनको अकालमै मृत्युभयो ।’ ‘श्रीमान्को मृत्युपछि केही समय रोग लुकाएर राखे, समाजका केही व्यक्तिले नराम्रो व्यवहार गर्न थालेपछि म आफैँ बाहिर खुलैरै हिँड्न थाले, अहिले नराम्रो सुन्नु परेको छैन’ कुँवरले बताइन् । 

उनले जिल्लाभित्र रहेका एचआइभी संक्रमितलाई साथमा लिएर समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै आएकी छन् । ‘आफूमा एचआइभी छ भनेर समाजसँग डराएर लुकेर बस्ने होइन, समाजमा खुलेर हिँडियो भने अरुसरह नै बाँच्न सकिन्छ’ उनको भनाइ छ । 

एचआइभी संक्रमित भए पनि रोगदेखि डराउनु नपर्ने र नियमित औषधि सेवन गरे लामो समयसम्म बाँच्न सकिने भएपछि उनीमात्र होइन, उनीजस्तै धेरै संक्रमितले अहिले समाजमा खुलेरै बाहिर आउन थालेका छन् । 

रामपुरकी ४१ वर्षीय एचआइभी संक्रमित लक्ष्मी भण्डारी पनि चार वर्ष अघिदेखि समाजमा खुलेरै हिँडेका छन् । उनलाई एचआइभी लागेको अहिले ११ वर्ष भयो तर लामो समयसम्म उनी आफैँ रोगदेखि भित्रभित्रै लड्नुभयो पछि विस्तारै बाहिर आएको बताए । उनी भन्छन्, ‘शुरुमा डर र लाजले बाहिर आउन समस्या भयो, अहिले त गाउँघरमा सबैसँग मेलापातलगायतका विभिन्न कामकाजमा खुलैरै हिँड्छु, आफूलाई एचआइभी संक्रमित हुँ भन्ने अनुभव नै हुँदैन ।’ 

आर्थिक वर्ष २०७३÷०७४ मा जिल्लामा ३१२ एचआइभी संक्रमित रहेका छन् । अघिल्लो वर्षको तुलनामा १७ जना एचआइभी संक्रमित थपिएका हुन् । आव ०७२÷०७३ मा २९५ जना एचआइभी संक्रमित रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिए । गाउँगाउँमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिन थालेपछि पछिल्लो समय उनीहरु खुल्न थालेको उनले बताए । 

भित्रभित्रै समाजको डर र लाजका कारण रोग लुकाएर बसिरहेका एचआइभी संक्रमित अहिले स्वास्थ्य संस्थामा नै परामर्श तथा उपचारका लागि जाने क्रम बढ्न थालेको ज्ञवालीको भनाइ छ । संक्रमितमध्ये ८७ प्रतिशतले जिल्लाको मिसन अस्पतालबाट एआरटी सेवा लिदैँ आएको छ । जिल्लामा रहेका ३१२ एचआइभी संक्रमितमध्ये अहिलेसम्म ४१ जनाले समाजमा खुलैर हिँड्ने गर्छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै