• २०८१ बैशाख १४ शुक्रबार

चर्चित निर्वाचन क्षेत्र : पाल्पाको मुख्य चुनावी मुद्दा ‘सिद्धबाबा सडक’

kharibot

पाल्पा ।  धेरै दुर्घटनाका कारण मृत्युमार्गको संज्ञा पाएको पाल्पा–बुटबल सडक खण्डको सिद्धबाबा सडक आसन्न निर्वाचनमा दलहरुका लागि मुख्य चुनावी मुद्दा बनेको छ । 

तिनाउ गाउँपालिकास्थित दोभानमा पर्ने सिद्धबाबा क्षेत्रमा सुख्खा ढुङ्गासहितको पहिरोका कारण वर्षेनी यात्रुहरुको अकालमा ज्यान जाने गरेको छ । बुटवल उपमहानगरपालिकाको सिद्धबाबा क्षेत्रदेखि पाल्पाको तिनाउ गाउँपालिकाको दोभान प्रहरी चौकीसम्म करिब आठ किलोमिटर सडक क्षेत्रमा अहिले पनि पहिरोको खतरा टरेको छैन । पहिरो नरोकिँदा यात्रु तथा चालकहरु त्रासदपूर्ण यात्रा गर्न बाध्य छन् । 

गत असोज ७ गते मात्र सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा सडक खण्डमा खसेको पहिरोले ट्रक र कार पुरिँदा तीन जनाको मृत्यु भयोे । पहिरोमा गुल्मी बलेटक्सारका २४ वर्षीय यमबहादुर ज्ञवाली, ट्रक चालक तिनाउ गाउँपालिका ५ का माधव राना र गाडीमा सवार रुरु गाउँपालिका गुल्मीका ५१ वर्षीय तिलकराम भण्डारीको अकालमै ज्यान गुम्यो । यस्ता घटना वर्षेनी घटेपनि राजनीतिक तहबाट सडक बनाउन ठोस पहल भएको छैन । 

पटकपटक ढुङ्गे पहिरो खसेर गाडी नै पुरिँदा अकालमा ज्यान गुमाउने परिवारको पीडालाई भने चुनावका बेला दलका उम्मेदवारहरुले सम्झन थालेका छन् । 

नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा निर्वाचन क्षेत्र २ का वाम गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार सोमप्रसाद पाण्डेय सिद्धबाबा क्षेत्रको जोखिम तत्काल समाधान गर्न वैकल्पिक सडकको रुपमा झुम्सा–चौकीभञ्ज्याङ–चरङ्गे सडक र बुटवलको नुवाकोट दोभान हुँदै सिद्धार्थ राजमार्गको काम अघि बढाउने बताउछन् । वैकल्पिक सडकको कामलाई पनि निरन्तर रुपमा अघि बढाउदै लैजाने र अन्ततः सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग बनाउने उनको योजना छ । 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य हरिप्रसाद नेपालले सिद्धबाबा क्षेत्रको सडक आफ्नो प्रमुख कार्यसूची भएको बताए । काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले रैनादेवी छहरा गाउँपालिका–५, मुझुड्गको कटौजेपानीको आमसभामा नेपालको सोही कार्यसूचीलाई पूरा गर्ने विश्वास पनि व्यक्त गरेका थिए । 

राष्ट्रिय जनमोर्चाका क्षेत्र २ प्रदेश (ख) का उम्मेदवार निश्चल क्षेत्रीले वैकल्पिक सडकको रुपमा रुपन्देहीको देवदह–झुम्सा–चौकीभञ्ज्याङ–चरङ्गे सडक सञ्चालनले सिद्धार्थ राजमार्ग जोड्ने काम अघि बढेको बताए । यो वैकल्पिक सडकबाट गाडी गुडाउन सकेको अवस्थामा पहिरोका कारण हुने मानवीय क्षति कम गर्न सकिने उनको भनाइ छ । 

तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले सिद्धबाबाको विकल्पमा रुपन्देहीको देवदह, चरङ्गे, चौकीभञ्ज्याङ, ज्यामिरे, झुम्सा सडकको काम अघि बढेको बताए । 

सडक निर्माणका लागि पाल्पाको तिनाउ गाउँपालिकाले ३० लाख, तानसेन नगरपालिकाले २० लाख, रिब्दीकोट गाउँपालिकाले दश लाख रुपैयाँ आर्थिक सहयोग गरेपछि पाल्पा खण्डको झुम्सा क्षेत्रमा काम भएको छ । पाल्पाका अन्य स्थानीय तहहरु पनि वैकल्पिक सडक निर्माणका लागि बजेट विनियोजन गर्ने तयारीमा रहेको अध्यक्ष घर्तीले जानकारी दिए ।

रुपन्देहीको देवदह नगरपालिकाले आफ्नो क्षेत्रमा काम अघि बढाएको छ । यस आर्थिक वर्षको अन्त्यसम्ममा पाल्पा बुटबलका सवारीसाधन यही मार्ग हुँदै सञ्चालनमा आउने छ । 

निर्वाचन क्षेत्र २ मा माथागढी गाउँपालिकाको वडा नं १, बगनासकाली गाउँपालिका, तानसेन नगरपालिका वडा नं ८ बाहेक सबै, रिव्दिकोट, रैनादेवी छहरा र तिनाउ गाउँपालिका वडा नं ५ बाहेक सबै वडाहरु पर्छन् । यस क्षेत्रमा ९५ हजार २ सय ६९ मतदाता छन् । पाल्पामा कूल १ लाख ८१ हजार २ सय ५५ मतदाता रहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै