• २०८१ बैशाख १४ शुक्रबार

संसदमा वीरगन्जमा भारतीय कन्सुलरको गतिविधिदेखि सुनौली नाका अवरोधसम्मको कुरा उठ्यो

kharibot

काठमाडौं । संसद्को विशेष समयमा वीरगन्जमा भारतीय कन्सुलरको गतिविधिदेखि सुनौली नाका अवरोधसम्मको कुरा उठेको छ । व्यवस्थापिका–संसद्को आजको बैठकको विशेष समयमा नेपाली काँग्रेसका तप्तबहादुर विष्टले सुर्खेतको भट्टेघारीमा आगलागीले हालसम्म १५ घर जलेर नष्ट भएकोतर्फ सरकारको ध्यानाकर्षण गराए । सो घटनाका बारेमा छानबिन गर्न उनले सरकारसित माग गर्दै अस्थायी शिक्षकका माग पूरा गर्न आग्रह गरे ।

नेकपा (एमाले)का भीमबहादुर रावलले भियना सम्मेलन र संयुक्त राष्ट्रसंघको बडापत्रको मान्यताअनुरुप देश चल्नुपर्छ यसतर्फ सरकार गम्भीर बन्नुपर्ने बताए । उनले हालै भारतीय वाणिज्य दूतावासका कन्सुलरबाट वीरगञ्जमा भएको क्रियाकलाप खेदजनक रहेको बताए । नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदीले विश्व आदिवासी तथा जनजाति दिवसका दिन सार्वजनिक बिदा दिन माग गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका दीननाथ गिरीले वर्तमान सरकारले सुशासन कायम गर्न तथा भ्रष्टाचारीलाई कारबाही गर्न नसकेको आरोप लगाए ।

राजपाका नेता एवम् सांसद बृजेशकुमार गुप्ताले सातवटै प्रदेशमा एक÷एकवटा मेडिकल कलेज स्थापना गर्ने सरकारको नीति कहाँ पुग्यो भन्ने प्रश्न गर्दै २ नं प्रदेशमा मेडिकल कलेज बर्दिबासमा बनाउने प्रस्ताव अव्यवहारिक रहेको बताए । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले कृषिप्रधान देशमा पशुपालनतर्फ कृषकको आकर्षण बढाउने नीति सार्वजनिक गर्न माग गरे । राष्ट्रिय जनमोर्चाका मीना पुनले भारतले सुनौली भन्सार कार्यालयबाट नेपालतर्फ सामान पैठारी गर्न अवरोध गरेकोतर्फ सरकारको ध्यानाकर्षण गराए ।

नेपाः राष्ट्रिय पार्टीका लक्ष्मण राजवंशीले प्रधानमन्त्रीको भारत भ्रमणका बारेमा सदनलाई जानकारी गराउन माग गरे ।

शून्य समय

यसैगरी सदनको आजको बैठकको शून्य समयमा सांसदहरुले वर्षात्ले देशभरिका राजमार्गलाई क्षति पुर्‍याएको, काठमाडौँभित्रका सडकमा बनेका खाडल पुर्न प्रधानमन्त्रीबाट दिनुभएको निर्देशन पालना नभएकोतर्फ सरकार र सदनको ध्यानाकर्षण गराए ।

उनीहरुले कोशी ब्यारेजको पानी सप्तरीको गोबरगाडामा पसेको, गएराति कास्कीका विभिन्न स्थानमा पहिरो गएको, चिकित्सा विधेयक सदनमा प्रस्तुत गर्न, अस्थायी शिक्षकका माग पूरा गर्न पनि माग गरे । सांसदहरुले निकट भविष्यमा प्रधानमन्त्रीबाट हुन लागेको भारत भ्रमणका बारेमा सदनसमक्ष जानकारी गराउन, भूकम्पपीडितलाई सरकारले दिने भनेको राहत तथा सुविधा शीघ्र प्रदान गर्न पुनःनिर्माण प्राधिकरणको ध्यानाकर्षण गराए ।

यसरी आफ्नो धारणा राख्ने सांसदहरुमा शिवराज चौधरी, शिवलाल थापा, सकलदेव सुतियार, सीतादेवी गिरी ओली, सिन्धुजलेसा बुढाथोकी, सीता नेपाली, श्रीप्रसाद जगेबु, हर्कबोल राई, हितराज पाण्डे, ज्ञानुदेवी गैरे थिए ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै