• २०८१ बैशाख १४ शुक्रबार

ढकाल र महतसँग एक-एक करोड धरौटी माग

kharibot

काठमाडौँ ।  विशेष अदालतले कर फछ्र्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालसँग एक-एक करोड धरौटी माग गर्ने आदेश जारी गरेको छ । 

न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र रत्नबहादुर वाग्चनको संयुक्त इजलासले मंगलबार महत र ढकाललाई एक-एक करोड धरौटी माग गरेको र उनीहरु धरौटी बुझाउन नसकेर डिल्लीबजार कारागार चलान भएको विशेष अदालतका सूचना अधिकारी विष्णु पाण्डेले जानकारी दिए । 

उनका अनुसार महत र ढकाललाई थुनछेक आदेशसहित रु एक÷एक करोडको धरौटीको माग गरिएको थियो । अदालतको आदेशअनुसार धरौटीको रकम बुझाउन नसकेर उनीहरु थुनामा गएका हुन् । 

तत्कालीन कर फछ्र्योट आयोगमार्फत अनियमितता गरेको आरोप लागेपछि फरार महत र ढकाल गत बुधबार अदालतमा वयानका लागि हाजिर भएपछि आइतबारदेखि सुनुवाइ सुरु भएको थियो । 

अख्तियारले तत्कालीन आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मासहित तीनै पदाधिकारीविरुद्ध अनियमितता गरेको आरोपमा रु १० अर्बको विगो माग दाबीसहित विशेष अदालतमा गत जेठ १९ गते मुद्दा दायर गरेको थियो । शर्मालाई अख्तियारले पक्राउ गरे पनि सर्वोच्चले साउन अन्तिम साता साधारण तारिखमा छाड्न आदेश दिएको थियो । 

अख्तियारले कर फछ्र्योट आयोगमा अनियमितता गरेर कर मिनाहा गरी राज्यलाई करिब रु २१ अर्ब नोक्सानी पुगेको आरोपमा तत्कालीन आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मालाई पक्राउ गरेको थियो । शर्मासँगै आयोगका दुई सदस्य महत र ढकाललाई पक्राउ गर्न खोजिए पनि फरार रहेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै