• २०८१ बैशाख १५ शनिबार

आवास पुनर्निर्माणका लागि सरकारी अनुदान पाउने घरधनी थपिए

kharibot

काठमाडौं । ०७२ वैशाखको भूकम्पबाट प्रभावित भएकामध्ये अनुदान पाउने सूचीमा नरहेका झण्डै एक लाख २६ हजार घरधनीले पनि अनुदान पाउने भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पछिल्लो भूकम्प अति प्रभावित १४ जिल्लामा गरेको पुनर्जाँच तथा पुनर्सर्वेक्षणबाट अनुदान, घर प्रबलीकरण वा निजी आवास निर्माणका लागि सरकारी सहयोग पाउने घरधनी थपिएका हुन् ।

प्राधिकरणका अनुसार थप १ लाख २६ हजार ३ सय २६ घरधनीहरुको तथ्याङ्क प्राप्त भएको छ । कतिपय भूकम्प पीडितहरुले आफ्नो घरमा क्षति पुगे पनि लाभग्राही सूचीमा नपरेको  गुनासो गरेपछि प्राधिकरणले गत साउनमा ३ सय ३२ जना इन्जिनियरलाई सर्वेक्षणमा छुटेका तथा पुनःजाँच गर्नुपर्ने घरहरुको तथ्याङ्क संकलन गर्न खटाएको थियो ।

विभिन्न माध्यामबाट प्राप्त गुनासोका आधारमा वास्तविक भूकम्प पीडित लाभग्राही सूचिमा नछुटून् भनी प्राधिकरणले १ लाख ३० हजार धरधनी÷घरपरिवारको पुनर्जाँच तथा पुनर्सर्वेक्षण गर्न इन्जिनियरहरुलाई परिचालन गरेको थियो ।  फिल्डमा खटिएकामध्ये अहिलेसम्म दुई सय ५० इन्जिनियर फिर्ता भइसकेको र बाँकी इन्जिनियर फिर्ता हुँदाको समयसम्म करिब १ लाख ४० हजार घरधनी÷घरपरिवारको लगत संकलन सम्पन्न हुने प्राधिकरणका सूचना व्यवस्थापन शाखा प्रमुख मनोहर घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार सबै तथ्याङ्क प्राधिकरणको केन्द्रीय सर्भरमा प्राप्त भइसकेपछि अनुदान वितरण कार्यविधिअनुसार मापदण्ड पुगेका घरधनी÷घरपरिवारलाई लाभग्राहीको सूचीमा समावेश गरिनेछ । फिल्डमा कार्यसम्पन्न गरी प्राधिकरणको जिल्ला समन्वय समितिको सचिवालयबाट प्रारम्भिक क्लियरयन्स लिई फिर्ता भएका इन्जिनियरहरुलाई अन्तिम क्लियरयन्स दिने कार्य भइरहेको प्राधिकरणका तथ्याङ्क अधिकृत कुलप्रकाश न्यौपानेले बताए ।

लाभग्राहीको सूचीमा समावेश भएपछि अनुदान सम्झौता गरी उक्त घरधनी ÷घरपरिवारले निजी आवास पुनर्निर्माणका लागि अनुदान प्राप्त गर्न सक्नेछ । क्षतिको मूल्याङ्कन गर्दा प्रबलीकरणको सूचीमा पर्ने लाभग्राहीले घर प्रबलीकरणका लागि आवास अनुदानबापत एक लाख रुपैयाँ प्राप्त गर्नेछ भने पुनर्निर्माण लाभग्राहीमा परे निजी आवास निर्माणका लागि ३ लाख रुपैया प्राप्त गर्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै