• २०८१ बैशाख १४ शुक्रबार

हातले पत्र लेखेर नौ वर्षीय बालकले मागे नासासँग काम 

kharibot

फाइल तस्बिर

न्युयोर्क । चार कक्षामा पढ्ने बालकले यतिखेर संसारको अन्तरिक्षसम्बन्धी अध्ययन गर्ने विश्वचर्चित संस्था नासाको ध्यान तानेका छन् । यही हप्ता नासाले एक जना प्लेनेटरी प्रोटेक्सन अफिसरको लागि योग्य व्यक्तिको खोजी सुरु गरेको थियो । सोही विज्ञापनको जवाफ दिने क्रममा आफूलाई तारामण्डलको विज्ञ दाबी गर्ने न्युजर्सीका ज्याक डेभिसले नासाको ध्यान तानेका हुन् । उनले भनेका छन्, म भर्खर नौ वर्षको छु तर मलाई लाग्छ यो पदमा म फिट हुन सक्छु ।

उनले हस्तलिखित पत्र नासालाई पठाउँदै उक्त पदमा आफ्नो दाबी प्रस्तुत गरेका हुन् । यसमा उनले आफ्नो अनभवबारे पनि लेखेका छन् । मैले धेरैजसो अन्तरिक्ष र एलियनसम्बन्धी फिल्महरु हेरेको छु, उनले पत्रमा भनेका छन्, म आफ्नो करिअर विकास गर्न चाहन्छु । आफूले मार्वेल एजेन्ट्स अफ शिल्ड शो हेरेको र मेन इन ब्ल्याक फिल्म हेर्न उत्सुक रहेको पनि बताएका छन् । आफ्नो मोटर स्किल राम्रो रहेको भन्दै उनले चाँडै सिक्ने र नयाँ कन्सेप्ट अप्लाई गर्नसक्ने दाबी समेत गरेका छन् । भिडियो गेममा आफूलाई कसैले नसक्ने बताउँदै उनले आफू सानो रहेकोले एलियनजस्तै कसरी सोच्नेबारे सिक्नसक्ने बताए । 

नासाले उनको हस्तलिखित पत्रको प्रतिक्रिया दिएको छ । ज्याकलाई प्लानेटरी रिसर्च डाइरेक्टर जोनादन रालले फोन नै गरेको नासाले बताएको छ । चिठीमा ज्याकलाई उसको काम गर्ने उत्सुकताका लागि धन्यवाद दिइएको हो । नासाले पठाएको पत्रमा चन्द्रमा, मंगल ग्रह र अन्तरिक्षबाट अनुसन्धानका लागि ल्याइने अन्य खगोलीय वस्तुबाट पृथ्वीलाई जोगाउनेबारेको काम भएको उल्लेख गर्दै अन्य ग्रहलाई जोगाउने सौर्यप्रणालीको बारेमा पनिआवश्यक रहेको नासाको प्लानेटरी साइन्स डिभिजनका निर्देशक जेम्स एल. ग्रिनले बताएका छन् । नासाले ज्याकलाई कामको लागि अनुरोध नगरे पनि अस्वीकार भने गरेको छैन ।

नासाले आफूहरु उज्वल भविष्य भएका वैज्ञानिकको सधैँ खोजी गरिरहने जानकारी दिएको छ । ज्याकलाई नासाले विद्यालयमा राम्ररी मिहिनेतपूर्वक पढ्न पनि सुझाएको छ । अहिले नासाको उक्त पदमा क्याथरिन कोन्ले छिन् । उनको वार्षिक तलब १ लाख २७ हजार अमेरिकी डलर तलब रहेको छ । नासाले कुनै दिन ज्याक समेत उक्त पदमा हुनसक्ने भन्दै हौसला भने दिएको छ । 

सीएनएनबाट । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै