• २०८१ बैशाख १६ आइतबार

व्यावसायिक केराखेतीमा रमाउँदै बाराका किसान

kharibot

तस्बिर : खरीबोट

बारा । जिल्लाको निजगढ नगरपालिकाका किसानहरु व्यावसायिक केराखेतीतर्फ आकर्षित भएका छन् । थोरै लगानी अनि एक पटक खेती सुरु गरिसकेपछि छ वर्षसम्म आम्दानी गर्न सकिने भएकाले पनि निजगढका किसान अन्य नगदेबालीभन्दा केराखेतीतर्फ आकर्षित भएका हुन् ।

अन्य नगदेबालीको तुलनामा केराको खेती गर्न खर्चिलो, झन्झटिलो नहुने तथा कम मिहिनेत र आम्दानी बढी हुनुका साथै बारीमै आएर व्यापारीहरुले खरिद गर्ने भएकाले उनीहरुको आकर्षण केराखेतीमा बढेको हो । खेती गर्न निकै सजिलो र एकमुष्ट आम्दानी हुने गरेको स्थानीय किसान ईश्वर प्रसाद कोइरालाले बताए ।
अन्य नगदेबालीहरुमा खन जोत धेरै गर्नुपर्ने तथा आवश्यकताअनुसार पानीसँगै मलखाद पर्याप्त नहुँदा उत्पादन नै घट्ने समस्याबाट पार पाउन पनि किसानहरु केराखेतीमा लागेका हुन् ।

उनीहरुका अनुसार केराखेतीमा एक पटकमा अन्य बालीमा जस्तो खनजोत गर्नु नपर्ने तथा मलको पनि आवश्यकता नपर्ने र अतिरिक्त समयमा मात्र काम गरे पनि हुन्छ । सोही कारण प्रतिकठ्ठा पाँच हजार रुपैयाँ लागतमा प्रतिवर्ष प्रतिकठ्ठा बीस हजार रुपैयाँ खुद नाफा हुँदै आएको कोइराला बताउँछन् ।

वैज्ञानिक पद्धतिद्वारा निजगढका किसानहरुले एक ठाउँमा लगाइएको केराको बोट नफलुन्जेल अर्को बोट उम्रिन नदिने गरेका छन् । एक ठाउँमा सिङ्गो एउटै बोट भएको हुनाले बलिया बलिया बोट हुनुका साथै राम्रो दाना लाग्ने गरेको कारण यो प्रक्रिया किसानहरुले अपनाएका हुन् ।

केरा पाकेर तयार भएपछि त्यो केराको बोटलाई काटेर टुक्रा—टुक्रा पारेर सोही स्थानमा किसानहरुले छर्ने गरेका छन् । जसका कारण टुक्रा गरिएको बोटले कुहिएर मलको काम गर्छ । यसबाट दोहोरा फाइदा पुगेको किसानहरुको भनाइ छ ।

जिल्लाको निजगढ नगरपालिकामा कोइरालासहित अन्य किसानहरुले खेतीयोग्य कुल जग्गामध्ये एक चौथाइ जग्गामा केराखेती गर्दै आएका छन् । यस वर्ष मात्रै निजगढ नगरपालिका क्षेत्रभित्रै ७० बिघाभन्दा बढी क्षेत्रफल जमिनमा किसानहरुले व्यावसायिक केराखेती गरेका छन् ।

सरकारले पनि यस्ता किसानहरुका लागि समय—समयमा कृषिसम्बन्धी तालिम, बिक्रीवितरणका लागि उचित बजारको व्यवस्था तथा केरामा लाग्ने विभिन्न रोगको न्यूनीकरणका लागि व्यवस्था र समय–समयमा अनुगमन गरिदिने हो भने नमूनाकै रुपमा अन्य जिल्लाका पनि कृषकहरु केराखेतीतर्फ आकर्षित हुने देखिएको छ ।

व्यावसायिक रुपमै यस क्षेत्रका किसानहरु केराखेतीतर्फ आकर्षित भएर राम्रो आम्दानी पनि गरिरहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै