• २०८१ बैशाख १४ शुक्रबार

इलामदेखि बैतडीसम्म पुगेका महिलाका पुरुष डाक्टर

kharibot

काठमाडौँ । जागेश्वर गौतम २०१९ सालमा पर्वत जिल्लाको मोदी गाउँपालिका ७ मा आमा कला गौतम र बाबु टिकाराम गौतमका दोस्रो सन्तानको रुपमा जन्मिएका हुन् । ६ वर्षको उमेरदेखि स्कुल जानथालेका उनले दशैँको टीकाको दिनदेखि घरबाटै क, ख पढ्नथालेका थिए । ४ कक्षामा दोस्रो भएका उनी पढाइमा साह्रै अब्बल थिए । सोही कारण त्यसपछि उनले कहिल्यै दोस्रो हुनुपरेन । 

पढाइमा सधैँ पहिलो 

अरु बच्चाहरुको तुलनामा ढिलो स्कुल जानथालेका जागेश्वरले जीवनमा सधैँ पहिलो भएर नै अगाडि बढिरहे । मिहिनेत र लगनशीलताले उनी यहाँसम्म आइपुगेका उनी जीवनमा पाएको सफलताको श्रेय भने आफ्नी आमालाई दिन्छन् । जम्मा दुई महिना पढेकै भरमा विद्यालय टप गरेका उनी कक्षा ४ मा पास मात्र भएको र ६ कक्षामा तेस्रो भएका थिए । उनले २०३६ सालको एसएलसीमा जिल्लाकै उत्कृष्ट नतिजा ल्याएका थिए । 

घुम्न गएको ठिटो डाक्टर बन्ने सपना बोकी फर्किए 

गौतमलाई आफू बुझ्ने भएदेखि नै विदेश नगई स्वदेशमा नै पढ्नुपर्छ भन्ने लाग्थ्यो । त्यसैले उनले नेपालमा पढेर आफ्नो सपना पूरा गरे । एसएलसीपछि दुई वर्ष ट्युसन पढाएर बिताएका उनको रुचि विशेष गणित विषयमा थियो । फरेष्टी पढ्ने चाहनाले पोखरा पुगे पनि नियतिले उनलाई महाराजगञ्ज क्याम्पसमा हेल्थ एसिस्टेन्टमा भर्ना हुन पुर्यायो । पढाइ राम्रो भएका कारण उनले एमबीबीएसमा प्रथममा नाम निकाल्न सफल भए । त्यसपछि भने उनलाई अमेरिका जाने सोचले नलोभ्याएको होइन तर जब उनी मुगु गए र एउटी गर्भवती महिला बच्चा पाउन नसकेर संसारबाट विदा भएको देखे, त्यसले उनको मन नै परिवर्तन भयो । वास्तवमा यो नै उनको जीवन परिवर्तन गरिदिने मोड थियो । 

अस्पतालमा नपुग्दै मृत्युवरण गरेकी गर्भवतीको त्यो घटना साँच्चै हृदयविदारक थियो । त्यस रात नै उनले जीवनमा बोल्ड निर्णय गरे । जसको परिणाम आज उनी डाक्टर भएर नेपाली जनसाधारणका सेवामा लागिपरिरहेका छन् । त्यो घटनाले उनको हृदयमात्र छोएन, बरु सोही रात उनले डाक्टर त पढ्ने तर स्त्री रोगसम्बन्धीकै डाक्टर पढ्ने इच्छा प्रबल रुपमा जागृत भयो । एसएलसी टपर मान्छेको यस्तो सोचाइलाई कतिपयले नराम्रो पनि नभनेका होइनन् तर उनले अरुको कुरालाई ध्यान दिएनन्, मात्र आफ्नो सपना साकार पार्न लागिरहे र कालान्तरमा उनी त्यसमा सफल भए । 

इलामदेखि बैतडीसम्मको काम अनुभव

उनले कहिल्यै पनि आफू यो ठाउँमा काम गर्ने र त्यो ठाउँमा काम नगर्ने भनेर रोजेनन् । सुरुमै विकट जिल्लाहरुमा काम गरेका उनलाई सेवा सुविधा पुग्न नसकेको ठाउँहरुमा सेवा गर्न पाउँदा आनन्द लाग्थ्यो । यसक्रममा उनले उनले सुरुमा टिचिङ, प्रसूति गृह हुँदै चितवनसम्म पुगेर काम गरेका छन् । 

उनले गोर्खामा मात्रै चार सय अपरेसन (शल्यक्रिया) गरेका छन् । यसबाहेक भिन्न ठाउँहरुमा क्याम्प गरेर पनि बिरामीको सेवा गरेका छन् । उनलाई दुःखी, असहायको सेवा गर्दा परम आनन्द लाग्छ । तर कतिपय डाक्टरहरु दुर्गम भनेपछि मुन्टो फर्काउने गरेकामा भने उनलाई नराम्रो लाग्छ । दुर्गममा सेवा गर्दा आनन्द लाग्ने उनको गुनासो पनि छ ।  दार्चुला जान नपाएकोमा उनी दुःखी छन् । 

पुरुष भएर महिलाको डाक्टर बन्न गाह्रो 

पुरुष भएर महिलाको डाक्टर बन्दा उनलाई धेरै गाह्रो भएको थियो । उनको रोजाइको विषय भए पनि समाजले रोज्न नसकेकोमा भने उनको गुनासो छ । भन्छन्, “एक्लै कहिल्यै बिरामी हेरिन, साह्रै समस्या थियो ।”     

उपचारको सुरुवाती समयमा उनलाई लोग्ने मान्छे डाक्टर रहेछ भन्दै बिरामी फर्केर जाने भएकाले साथमा सधैँ एक जना नर्स लिएर उपचारमा खटिने गरेको उनी सुनाउँछन् । आफूमा भएको रोग र पीडा भन्न लाज मान्ने हाम्रो समाजमा यस्ता समस्या आज पनि रहेकै छन्, जागेश्वरलाई नआउने कुरै भएन । सुरु सुरुमा दिक्क लागे पनि अहिले समय परिवर्तन भएकाले त्यसमा सहज हुँदै गएको अनुभव छ उनको । बिरामीले रोग भन्न लाज माने र डाक्टरले उपचार गर्न नसक्ने उनको बुझाइ छ । 

निःसन्तान दम्पतीको उपचारलाई उच्च प्राथमिकता

डाक्टर गौतम स्त्री रोग विशेषज्ञ हुन् । तर पनि उनले विशेषतः निःसन्तान दम्पतीको उपचारलाई प्राथमिकतामा राखेका छन् । उनले सन्तान नभएका २३ हजार बिरामीको उपचार गरिसकेको हामीलाई बताए । 

डाक्टरको व्यवहार राम्रो भए बिरामीको ८० प्रतिशत रोग निको हुन्छ 

डा. जागेश्वर गौतम स्त्री रोग विशेषज्ञ हुन् । उनले लामो समय बिरामीको सेवामा बिताएका छन् । परिवारसँग घुम्न, पार्टीमा जान त परै जाओस् कामकै कारण धेरै समय खाना खान नै बिर्सेका पनि छन् । तर यसमा उनलाई पछूतो छैन, बरु सन्तुष्टि मिलेको छ । किनकि परोपकार नै सबैभन्दा ठूलो पुण्य भएको उनले राम्ररी बुझेका छन् । डाक्टरको राम्रो व्यवहारले बिरामीको ८० प्रतिशत रोग निको हुने उनको भनाइ छ । आफ्नो सम्झेर राम्रो व्यवहार गर्नुपर्नेमा उनको जोड छ । भन्छन्, “आफ्नो श्रीमानलाई पनि थाहा नभएको कुरा डाक्टरलाई थाहा हुन्छ ।” डाक्टरले राम्रो व्यवहार गरे बिरामीहरु खुसी हुँदै सबै कुरा भन्ने गरेको उनको अनुभव छ । 

खुसीको क्षण

हरेक व्यक्ति आफूले गरेको काम सफल हुँदा खुसी हुन्छ । गौतमसँग पनि यस्ता खुसीका क्षणहरु छन् । दुईवटा बच्चा भएको र अपरेसन गरेको महिलासँग विवाह गरेको एउटा युवकलाई उनले ठूलो खुसी उपहार दिएका छन् । अरुले नै गरेको अपरेशन काटेर फाली त्यो महिलाले बच्चा जन्माउँदाको त्यो क्षण उनको जीवनकै सबैभन्दा खुसीको क्षण होे । कोही आफ्नो बिरामीले सद्दे भएर हामी बाबु, आमा बन्न पायौँ भन्दै उनीसामु आएको त्यो क्षण डा. गौतमको लागि अत्यन्तै खुसीको क्षण हो । त्यस्तै १६ वर्षकी किशोरी बाथरुममा लडेको भनेर बेहोस भएको कारण पाठेघरमा बच्चा नबसेर नलीमा बसेको ती किशोरी बच्चा पुनः पाठेघरमा ल्याएको अवस्था तथा ५६ वर्षको महिलाको शरीरबाट निकालेको ३५ लिटर पानी र २ किलो झोला निकाल्न सफल भएको घटना पनि उनका खुसीका क्षणहरु हुन् । 

त्यसो डा. गौतम आफैँले हेरेको बिरामी हत्पती नमरेको उनी बताउँछन् । एक बिरामी मर्दा डाक्टरलाई पनि दुःख हुने उनी सुनाउँछन् । एकपटक राति नै मरेकी छोरी लिएर गएका बाबुले सोही रात पुनः श्रीमतीलाई उपचार गराउन ल्याएको घटना उनी कहिल्यै भुल्दैनन् । 

गोविन्द केसी निःस्वार्थी मान्छे 

उनी गोविन्द केसीलाई निःस्वार्थी मान्छेको रुपमा लिन्छन् । उनले राखेका मागहरु जायज लाग्छ उनलाई पनि । र सलाम गर्छन् उनी  ती मागहरुलाई । तर उनका वरिपरिका मान्छेहरुसँग नियमित लेनदेन भएको हुनसक्ने उनको बुझाइ छ । 

ओम अस्पतालमा बिरामी धेरै मर्छन् भन्ने आरोपबारे

पछिल्लो समय ओम अस्पतालमा बिरामी धेरै मर्ने गरेको कुरालाई उनी अस्पतालमाथि लगाएको आरोप मान्छन् । भन्छन्, “अरु कुनै पनि अस्पतालले भर्ना गर्न नमानेका बिरामीहरु ओम अस्पतालले भर्ना लिने भएकाले कुनै कुनै बखत त्यस्तो भएको हो ।” भवितव्य जहिले पनि जहाँ पनि पर्न सक्ने उनको भनाइ छ । 

दुःखको क्षण 

उनी आफ्नो जीवनमै सबैभन्दा दुःखी त्यतिबेला हुनपुगे जतिबेला भारतले नेपालमाथि अघोषित नाकाबन्दी लादेको थियो । छिमेकीले छिमेकीमाथि निभाउनुपर्ने कर्तव्य भुलेको देख्दा जीवनमै धेरै दुःखी भएका थिए उनी । त्यो समय उनी धेरै पटक बिरामी लिन आफँै घरघरमा पुगेको अनुभव सुनाउँछन् डा. गौतम । 

रुचि

उनलाई साहित्यप्रति धेरै रुचि छ । उनले २०४५ सालमा एउटा किताब पनि निकालिसकेका छन् । तर पढ्ने समय नभएकाले उनी विदेश गएको ट्रान्जिटको समयमा किताब पढ्ने समय निकाल्छन् । गीत, संगीत सुन्न उनलाई मन पर्छ । स्वदेशी तथा विदेशी लेखकका धेरै किताबहरु उनको रोजाइमा पर्छन् भने समय मिलाएर फिल्म पनि हेर्न भ्याउँछन् उनी । कहिले कहिले त हेर्दाहेर्दैको फिल्म छोडेर समेत उपचारमा पुग्ने गरेका छन् ।  

यस्तो छ डा. सापको लक्ष्य

उनले आफूलाई चाहिने सम्पत्ति कमाइसकेका छन् । अझ भनौँ सबै थोकले पूर्ण छन् तर प्रदेशमा सचिव सम्मको स्थान पाए त्यता लाग्ने उनको लक्ष्य छ । उनी महिलावादी भएकाले गाउँका ३०÷४० जना छोरीहरुलाई उचित शिक्षा दिलाउने उनको लक्ष्य छ । महिला तथा छोरीहरुको पक्षमा हरेक क्षेत्रमा आफूले सकेको सहयोग गर्ने उनको लक्ष्य छ । 

(खरीबोट डटकमका लागि कविता घिमिरेले वरिष्ठ डा. जागेश्वर गौतमसँग गरेको कुराकानीमा आधारित) 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै