• २०८१ बैशाख २६ बुधबार

प्रदेश नम्बर २ मा मिश्रित मतपरिणाम आउने संकेत, अन्तिम नतिजा आउन समय लाग्ने 

kharibot

काठमाडौं । प्रदेश नम्बर २ मा भएको स्थानीय तह निर्वाचनको मतगणना जारी रहेको छ । निर्वाचन भएका ८ जिल्लाका १ सय ३६ स्थानीय तहमध्ये १ सय ३५ तहमा मतगणना जारी रहेको छ । 

मत गणनाको गति हेर्दा अन्तिम मत परिणाम आउन निकै समय लाग्ने देखिएको छ । विभिन्न जिल्लाका निर्वाचन अधिकृतहरुले पहिलो दिन भएकाले अलिकति ढिला भएको र आजबाट मतगणना अलि तिब्र गतिमा हुने बताएका छन् ।  

सप्तरीको राजविराज नगरपालिकाको एउटा वडामा उम्मेदवारको मृत्यु भएकोले निर्वाचन हुन् बाँकी रहेको छ ।

प्रारम्भिक मत गणनामा मिश्रित परिणाम आउने संकेत देखिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको हो ।

मतगणना भइरहेका स्थानीय तहमध्ये प्राप्त पछिल्लो जानकारीअनुसार नेपाली कांग्रेस सबैभन्दा बढी स्थानीय तहमा अगाडि देखिएको छ । कांग्रेस धेरै स्थानमा अगाडी भएपनि मत अन्तर भने कम रहेको देखिएको छ ।

त्यसैगरी संघीय समाजवादी फोरमले पनि २० भन्दा बढी स्थानमा अग्रता बनाएको छ । मधेसमा राम्रो नगर्ने भनिएको एमाले पनि बाराका दुई उपमहानगरसहित करिब २२ स्थानमा अग्रता हासिल गरेको छ ।  त्यस्तै  नेकपा माओवादी केन्द्र १९, राष्ट्रिय जनता पार्टी १६ र नेपाल लोकतान्त्रिक फोरमले ३ स्थानीय तहमा अग्रता हासिल गरेका छन् ।

प्रदेश नम्बर २ को एक मात्र महानगर वीरगन्ज महानगरपालिकामा कांग्रेस र राजपाबीच कडा प्रतिष्पर्धा देखिएको छ । अहिले राजपाले करिब २७० मत बढी ल्याएर अग्रता हासिल गरेको छ । त्यस्तै जनकपुर उपमहानगरपालिकामा पनि राजपाले अग्रता लिएको छ । बारामा दुई उपमहानगर पालिका जितपुर सिमरा उपमहानगरपालिका र कलैया उपमहानगरपालिकामा एमालेले अग्रता हासिल गरेको छ ।

रौतहटमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच कडा प्रतिष्पर्धा देखिएको छ । कांग्रेसले उम्मेदवार ७ वटा स्थानीय तहमा अगाडि देखिएका छन् । त्यसैगरी नेकपा माओवादी केन्द्रका उम्मेदवार ६ स्थानीय तहमा अगाडि देखिँदा संघीय समाजवादी फोरम र नेकपा एमाले २/२ वटा स्थानीय तहमा अगाडि छन् । रौतहटको एउटा स्थानीय तहमा राष्ट्रिय जनता पार्टीका उम्मेदवार अग्रस्थानमा छन् । सर्लाहीमा पनि कांग्रेसले ५ वटा स्थानीय तहमा अग्रता लिएको छ । त्यसैगरी संघीय समाजवादी फोरम, नेकपा माओवादी केन्द्र र नेकपा एमालेले ३/३ स्थानीय तहमा अग्रता लिएका छन् भने राष्ट्रिय जनता पार्टीका उम्मेदवार तीन वटा स्थानीय तहमा अगाडि छन् ।

महोत्तरीमा नेपाली कांग्रेसका उम्मेदवार ५ वटा स्थानीय तहमा अगाडि छन् । राष्ट्रिय जनता पार्टी ३, संघीय समाजवादी फोरम २, नेपाल लोकतान्त्रिक फोरम २ स्थानमा अगाडि रहँदा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवार १÷१ स्थानीय तहमा अगाडि छन् । महोत्तरीको एक स्थानीय तहमा भने स्वतन्त्र उम्मेदवार अगाडि देखिएका छन् ।

धनुषामा भने संघीय समाजवादी फोरमका उम्मेदवार ५ वटा स्थानीय तहमा अगाडि देखिएका छन् । एमाले ३, माओवादी केन्द्र २ स्थानीय तहमा अगाडि रहँदा नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका उम्मेदवारले एक÷एक स्थानीय तहमा अग्रता लिइरहेका छन् ।

सिरहामा भने नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरमका उम्मेदवार समान चार-चार स्थानीय तहमा अगाडि देखिएका छन् ।
त्यसैगरी सप्तरीमा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका उम्मेदवार चार÷चार स्थानीय तहमा अगाडि देखिएका छन् । त्यसैगरी नेकपा एमालेले ३ स्थानीय तहमा अग्रता लिँदा राष्ट्रिय जनता पार्टीका उम्मेदवारले २ स्थानीय तहमा अग्रता लिएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै