• २०८१ बैशाख १५ शनिबार

बढ्दै छ महिला हिंसा, विकृत हुदै छ समाज  

kharibot

काठमाडौँ । नेपाली समाज जति आधुनिक बन्दै छ, त्यति नै विकृतिहरु पनि समाजमा बढिरहेको पाइएको छ । नेपाल प्रहरीको अघिल्ला दुई आर्थिक वर्षका महिला हिंसा तथा दुर्व्यवहारका घटनासम्बन्धी तथ्यांकले यस्तो देखाएको हो । 

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागले उपलब्ध गराएको तथ्यांकअनुसार मानव बेचबिखन तथा ओसारपसार, बहुविवाह, बालविवाह, जबर्जस्ती करणी, जबर्जस्ती करणी उद्योग, घरेलु हिंसा र केही सार्वजनिक अपराधका घटनाहरु नेपाली समाजमा वर्षेनी उल्लेख्य रुपमा बढिरहेको पाइएको हो । विभागका प्रहरी नायब उपरीक्षक योगेन्द्र कुमार खड्काले खरीबोटलाई दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७२-०७३ मा मात्रै उक्त प्रकृतिका १० हजार ७ सय ८३ घटना भएको छ ।

त्यस्तै आव २०७३-०७४ मा सोही प्रकृतिका १२ हजार ४ सय ९९ घटनाहरु घटेका छन् । यो भनेको सामान्य र गम्भीर दुवै प्रकृतिका अपराध हो । अघिल्लो आवको तुलनामा ०७३÷०७४ मा मात्रै १ हजार ७ सय १६ वटा अपराधका घटना बढेको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार केही सार्वजनिक अपराधका घटनाहरु त वर्षेनी आठदेखि १० हजारवटाको हाराहारीमा हुने गरेका छन् । 

गत असार १९ गते रुपन्देहीको सम्मरीमाईमा आफ्नै बाबु इन्नर यादवसहितका परिवारका सदस्यबाटै एक युवतीले ‘तल्लो जात’का दिनेश लोधसँग प्रेम गरेको निहुँमा पिटाइ खानुपर्‍यो । उक्त घटनामा युवतीकै बुबासहितका परिवारका सदस्यविरुद्ध जिल्ला अदालतमा प्रहरीले मुद्दा दायर गरेको थियो । गत वर्ष भएको अन्तर्जातीय विवाहको निहुँमा काभ्रेका अजित मिजारको हत्या होस् वा बोक्सीको आरोपमा मानव मलमूत्र खुवाएर हत्या गरिएकी लक्ष्मी परियारकै घटना किन नहोस्, नेपालमा यस्ता घटनाहरु वर्षेनी हुने गरेका छन् र दोषीमाथि कडा कारबाही हुन नसक्दा पीडकले न्याय पाउन सकेका छैनन् ।

सुदूरपश्चिम र मध्यपश्चिमका जिल्लाहरुमा रहेको छाउपडी प्रथा, तराईका जिल्लाको दाइजो प्रथा र पहाडी जिल्लाहरुमा जकडिएर रहेको छुवाछूत प्रथाका परिणामका रुपमा समाजमा महिला हिंसा र दुव्र्यवहार, घरेलु हिंसा जस्ता विकृतिका घटना नेपाली समाजमा वर्षेनी बढिरहेको छ । यद्यपि छुवाछूत, छाउपडी र दाइजोप्रथालाई कानुनी रुपमा दण्डनीय बनाइएको भए पनि समाजमा यस्ता घटनाहरु विद्यमान नै छन् ।

राष्ट्रिय महिला आयोगले दिएको तथ्यांकअनुसार आर्थिक वर्ष ०७३÷०७४ मा आयोगमा घरेलु हिंसाका २ सय ७३ र महिला हिंसाका ७० वटा उजुरीहरु परेका थिए । नेपालको संविधान २०७२ ले मौलिक हक र कर्तव्यमै छुवाछूतजन्य घटनालाई सार्वजनिक अपराध मानी दुरुत्साहन गर्ने गरी कानुन बनाउन खुल्ला गरेको छ भने यस्ता घटनामा अदालतमा मुद्दा चलेर पीडकलाई सजायको व्यवस्था पनि गरिएकै छ तर यति हुँदाहुँदै पनि अपराधहरु घट्नुको साटो बढ्दै गएको तथ्यांकले देखाएको हो । 

कुन—कुन अपराधका घटना बढे ?
तुलनात्मक रुपमा पछिल्ला दुई आवका तथ्यांकअनुसार मानव बेचबिखन तथा ओसारपसार, बहुविवाह, बालविवाह, करणी, करणी उद्योग, घरेलु हिंसा र सार्वजनिक अपराधका घटना नेपाली समाजमा बढेको पाइएको छ । आव २०७२÷०७३ र आव ०७३÷०७४ को तथ्यांकको तुलनात्मक अध्ययन गर्दा मानव बेचबिखन तथा ओसारपसारका घटना अघिल्लो वर्षभन्दा १५ वटा बढी, बालविवाहका घटना ९ वटा बढी, जबर्जस्ती करणी ४६ वटाले बढी, करणी उद्योगका घटना ८१ वटाले बढेको छ ।


क्र.सं. अपराध शीर्षक आव २०७२/०७३ आव ०७३/०७४
१. मानव बेचबिखन तथा ओसारपसार  २१२ २२७
२. बहु विवाह ४६५  ४६५ 
३.  बाल विवाह २०  २९ 
४.  बलात्कार  १०९३  ११३९
५. बलात्कार प्रयास  ४५०  ५३१ 
६.  घरेलु हिँसा  ४  ६ 
७. केही सार्वजनिक अपराध  ८५३९  १०१०२
    स्रोत : नेपाल प्रहरी (अपराध अनुसन्धान विभाग)

त्यस्तै दुई वर्षमा सबैभन्दा बढी केही सार्वजनिक अपराधका घटना १५ सय ६३ वटा पछिल्लो वर्ष बढेको मात्रै देखिन्छ भने अघिल्लो वर्ष २०७२÷०७३ मा ४ वटा घरेलु हिंसा भएकोमा गत आवमा ६ वटा यससम्बन्धी घटना घटेका छन् । उक्त सबै शीर्षकका घटना वर्षेनी बढिरहेको तथ्यांकले देखाएको हो । 

के भन्छन् विज्ञहरु ? 

नेपालमा महिलासम्बन्धी, छुवाछूतसम्बन्धी घटना हुन नदिन सरकारी र गैरसरकारी क्षेत्रबाट जनचेतना जगाउने, अपराधलाई दण्डसजाय दिने जस्ता कामहरु पनि नभएका होइनन् । तर यति हुँदाहुँदै पनि त्यस्ता अपराधहरु घट्नुकाे साटाे बढ्दै गएकाे देखिएकाे छ । 

मानव अधिकार आयोगकी प्रवक्ता मोहना अन्सारी महिलाप्रतिको सानो सोच र छोरीप्रतिको संरक्षण हटाउन जोड दिन्छिन् । उनका अनुसार महिलालाई स्वतन्त्र अगाडि बढ्न दिएर  सामाजिक दुव्र्यवहारको प्रतिकार गर्नसक्ने बनाउनसके समाजमा धेरै खाले अपराधहरु नियन्त्रणमा आउनसक्छन् ।  त्यस्तै महिला आयोगकी प्रमुख भगवती घिमिरे भने समाजमा महिला हिंसाजस्ता सार्वजनिक अपराध बढ्नुमा समाजकै दोष रहेको बताउँछिन् । समाजमा कतिपय महिला हिंसा, छुवाछूत र बलात्कारजस्ता अपराधलाई मिलेमतोको नाममा जबर्जस्ती मिलापत्र गराइने कारण पनि बारम्बार यस्ता घटनाहरु हुने गरेको उनको भनाइ छ ।

त्यस्तै नेपाल प्रहरीसम्म गाउँसमाजका घटनाबारे उजुरी नपुग्दा पनि त्यस्ता घटनाले समाजमा प्रश्रय पाइरहेको प्रहरीको भनाइ छ ।  अझ अचम्म त के छ भने नेपालमा ठगी र बैंकिङ कसुरजस्ता घटनाहरुमा कमी आएको छ तर सामाजिक दुव्र्यवहारका घटना भने झन् झन् बढ्दै गएको छ । जुन एकदमै नकारात्मक हो । सबैखाले अपराधका घटना न्यूनीकरण र रोकथाम गर्न सम्बन्धित पक्षले बेलैमा पहल थाल्न आवश्यक छ । 

...र नेपाल प्रहरीको सेफ्टी पिन अभियान 

यसैबीच, नेपाल प्रहरीले गत साउनदेखि महिला हिंसा तथा दुव्र्यवहार कम गर्नको लागि सेफ्टी पिन अभियान नै सुरु गरेको छ । यसअभियानअन्तर्गत एक महिनाको अवधिमा ७१ जना पक्राउ परसिकेको प्रहरीले बताएको छ  । गत साउन १८ गतेबाट सुरु गरेको सेफ्टी पिन अभियान सार्वजनिक यातायातमा महिला तथा बालबालिकामाथि हुने यौनजन्य दुव्र्यवहार न्यूनीकरण गर्नको लागि सुरु गरिएको अभियान हो । जसका लागि प्रहरीले ३३ वटा टोली बनाई उपत्यकामा गुड्ने विभिन्न सार्वजनिक सवारीसाधनमा सादा पोसाकमा एक महिनादेखि नै निरन्तर रुपमा प्रहरी परिचालन समेत गर्दै आएको छ ।

सेफ्टी पिन अपरेसन के हो?

सार्वजनिक यातायातमा महिला तथा बालबालिकाहरू माथि हुने यौनजन्य दुर्व्यवहार; यौनजन्य आशयले महिला तथा बालबालिकाको अङ्गमा छुने वा छुने प्रयास गर्ने,अश्लील तथा यौनजन्य आशय प्रदर्शन गर्ने,यौनजन्य आशयले जिस्काउने तथा हैरानी दिन लगायतका कार्यहरू कानूनद्वारा बर्जित अपराध भएता पनि कतिपयलाई सो सम्बन्धमा कानूनी ज्ञान नहुनु र कतिपय पिडितले डर, सामाजिक प्रतिष्ठा, लाज वा असहजताको महसुश गरी कानुनी प्रक्रियामा आउन नचाहेको कारण प्रहरीले आफ्नै सक्रियतामा त्यस्ता गतिविधि गर्नेलाई कानूनी कारवाही गरी सार्वजनिक सवारी साधनमा हुने यौनजन्य दुर्व्यवहारको न्यूनिकरण गरि व्यवस्थित, सुरक्षित र मर्यादित साथै महिला तथा बालबालिका मैत्री सार्वजनिक यातायातको वातावरण निर्माण गर्न प्रहरीले थालेको अभियान हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै