• २०८१ बैशाख १६ आइतबार

बाढीले पुल बगाएपछि सयौ स्थानीय बासिन्दालाई पनि आवतजावतमा कठिनाइ

kharibot

जाजरकोट। बाढीले केही पुल बगाएपछि नलगाड नगरपालिकाका बासिन्दालाई समस्या भएको छ ।    पुल तर्न नसक्दा विद्यार्थी विद्यालय जानबाट बञ्चित भएका छन् भने सयौ स्थानीय बासिन्दालाई पनि आवतजावतमा कठिनाइ भएको छ । गत साउन २६ गते आएको बाढीले यहाँको वडा नं १, २, ३, ४ र ५का खोलाका पुल बगाएको थियो । 

त्रिभुवन माध्यमिक विद्यालय दल्ली र जनकल्याण निमाविमा पढ्ने विद्यार्थी पढाइबाट बञ्चित भएको शिक्षक दिनेश ओलीले बताए । रुकुमको आठविसकोट नगरपालिकाबाट पढ्न आउने विद्यार्थीसमेत पढाइबाट बञ्चित भएका छन् । पुल नहुँदा साविकका लहँ र डाँडागाउँ गाविसका बासिन्दाको आवतजावत ठप्प भएको छ । खोलाले पानीघट्टसमेत बगाएकाले अन्न पिस्न नपाइ समस्या थपिएको डाँडागाउँका चन्द्र पुनले बताए । 

झुम्रेखोलामा आएको बाढीले यहाँको कालिमटी र घुवारामा रहेको पुल बगाएकाले बारेकोट गाउँपालिकामा जाने–आउने बाटोका साथै जाजरकोट–डोल्पा सडक खण्डसमेत अवरुद्ध भएको छ । सयौँ यात्रु खोला तर्न नसक्दा समस्यमा परेका छन् । सडक अवरुद्ध हुँदा नलगाड हाइड्रो पावरको काम समेत बन्द भएको छ । निर्माणस्थल दल्लीमा आउने सडक अवरुद्ध भएपछि आयोजनाको काम ठप्प भएको हो । सुरुङ निर्माणको काम अवरुद्ध भएपछि तीन दर्जन मजदुर बेरोगार भएको स्थानीयवासी लोकेन्द्रविक्रम शाहीले बताए । 

त्यस्तै नलगाड–८ स्थित पञ्च भयार मावि र कायखेतस्थित मष्ट प्राविका विद्यार्थी पनि पुलको अभाबमा विद्यालय जान पाएका छैनन । 
बाढीले बगाएका ठाउँमा अस्थायी पुल निर्माण गरिने नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले बताए । बाढी र पहिराबाट भएको क्षतिका विषयमा अध्ययन गर्न कार्यदल गठन गरिएको छ । करोडाँैको क्षति भएका कारण नगरपालिकाले मात्रै समाधान गर्न नसक्ने उनले बताए । 

यता वनमन्त्री शक्तिबहादुर बस्नेतले जिल्लामा भएको क्षतिका विषयमा यकिन विवरण सङ्कलन भइरहेको बताउँदै प्याकेजमा राहत तथा पुनःस्थापनाका काम गरिने बताए । 
अहिले जाजरकोट सदरमुकामलगायत पूर्वको नलगाड नगरपालिकामा बाढी र पहिरोका कारण करोडौँको क्षति हुनुका साथै सडक पूर्णरूपमा अवरुद्ध भएको छ । जलवायु परिर्वतनका हिसाबले सङ्कटपूर्ण जिल्ला बनाएका बेला बाढी र पहिराले थप समस्या निम्त्याएकाले सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सरकारसँग माग गरिएको सांसद गणेशप्रसाद सिंहले बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै