• २०८१ बैशाख १४ शुक्रबार

श्रमदानबाट घरघरमा खानेपानीको सुविधा

kharibot

बेनी । म्याग्दीको मङ्गला गाउँपालिका–३ खानीगाउँकी आरतीकुमारी शेरचनले खानेपानी आयोजनाको झारा (श्रमदान)को लागि रू. १ लाख खर्चिइन् । छोरा प्रवासमा रहेको र आफ्नो दम्पतीले श्रमदानको लागि काम गर्न नसक्ने भएकाले उनले दैनिक रु ५०० ज्याला दिने गरी मान्छे खटाएर श्रमदान गरिन् ।

खानेपानीको चरम अभाव रहेको खानीगाउँमा खानेपानी आयोजना निर्माण गर्ने भएपछि २०० दिनसम्म श्रमदान गर्ने गाउँ भेलाको निर्णयबमोजिम आफूहरुले श्रमदानको लागि उक्त रकम खर्चिएको शेरचनले बताइन् । “गाउँका हरेक घरबाट २०० दिन झारामा सहभागी भए, हाम्रो घरबाट काम गर्न सक्ने मान्छे नभएपछि ज्याला दिएर मान्छे खटाएर झारा तिर्यौं,’’ उनले भनिन्, “पहिले एक गाग्री पानी ल्याउन घण्टौँ समय खेर फाल्नुपथ्र्यो, अहिले घरघरमा खानेपानी धेरै सुविधा पुगेको छ ।’’

गाउँपालिकाअन्तर्गत सञ्चालित दोस्रो चरणको पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत खानीगाउँमा सञ्चालन भएको बफुवाखोला खानेपानी तथा सरसफाइ आयोजनामा स्थानीयले छ महिना बढी समयसम्म रु १८ लाख ९४ हजार बराबरको श्रमदान गरेको उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर छन्त्यालले जानकारी दिए ।

कूल रु ६७ लाख ६७ हजारको लागतमा निर्माण भएको यस आयोजनाबाट खानीगाउँका ५९ घरधुरी लाभान्वित भएका छन् । आयोजना निर्माणमा नेपाल सरकार र फिनल्याण्ड सरकारको रु २० लाख ९७ हजार ७८४ को दरले लगानी भएको छ भने गाउँपालिकाले रु छ लाख ७६ हजार ७०३ लगानी गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै