• २०८१ बैशाख १५ शनिबार

बेपत्ता प्रधानध्यापक छ दिनपछि मृत फेला

kharibot

पर्वत। पर्वतको कुश्मा नगरपालिका–९ घर भई पर्वतकै मोदी गाउँपालिका–६ दोबिल्लामा सञ्चालित हरि प्राथमिक विद्यालयका प्रधानध्यापक ५९ वर्षीय शिवप्रसाद पौडेल अलपेश्वर गुफाभित्र मृत भेटिएका छन् । 

कुस्मा नगरपालिका वडा नं ९ स्थित अलपेश्वर गुफाको सबैभन्दा तल्लो भागमा आज दिउँसो छ दिनपछि प्रअ पौडेल मृत भेटिएका हुन् । बिहान पूजापाठ गर्न भनी मन्दिर गएका पौडेल साउन १८ गते शुक्रबार बिहानदेखि बेपत्ता भएका थिए । 

अलपेश्वर गुफाभित्र उनले कम्मरमा बाँध्दै आएको पटुकी भेटिएपछि आफन्त र प्रहरीले खोजी गर्ने क्रममा गुफाको सबैभन्दा तल्लो भागमा ढुंगामा अड्किएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । 

मृतक पौडेलको शव परीक्षणका लागि जिल्ला अस्पताल लैजाने तयारी भएको छ । करीब ३८ वर्ष शिक्षण गरेका पौडेल १७ वर्षदेखि हरि प्राथमिक विद्यालयमा अध्यापन गराउँदै आएका थिए । उनी बेपत्ता भएपछि प्रहरी र आफन्तले खोजी गर्दै आएका थिए । 

मृतक पौडेलले अन्तिम पत्र भनेर घरमा लेखेर छाडेको पत्रमा छोराछोरीलाई राम्रोसँग पढाउन नसकेको तथा जीवनमा केही गर्न नसकेको लेखेका थिए । बेपत्ता शिक्षक पौडेलका एक छोरा र एक छोरी छन् । छोरा वैदेशिक रोजगारका शिलशिलामा दुबइमा रहँदै आएका छन् भने छोरीको विवाह भइसकेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै