काठमाडौं । नेपाल राष्ट्र बैंकले चालुु आर्थिक बर्षको पछिल्लो ११ महिनाको मुुलुकको आर्थिक अवस्था सम्वन्धी प्रतिवेदन सार्वजनिक गर्दे व्यापार घाटा बढेको जानकारी दिएको छ ।
राष्ट्र बैंकका अनुसार चालुु आवको ११ महिनामा कुल वस्तु व्यापार घाटा २४ दसमलव छ प्रतिशतले विस्तार भई १० खर्ब ३३ अर्ब चार करोडm रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात छ दसमलव सात प्रतिशत कायम भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा सात दसमलव पाँच प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा कुल वस्तु आयात २३ दसमलव पाँच प्रतिशतले बढेर ११ खर्ब सात अर्ब ३५ करोड रुपैयाँ पुुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३० दसमलव नौ प्रतिशतले बढेको थियो । आर्थिक वर्ष २०७४—०७५ को एघार महिनासम्ममा कुल वस्तु निर्यात १० दसमलव चार प्रतिशतले वृद्धि भई ७४ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात आठ दसमलव तीन प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ आठ दसमलव सात प्रतिशत, चीनतर्फ ९१ दसममलव छ प्रतिशत र अन्य मुलुकतर्फ आठ दसमलव एक प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा अलैची, पोलिष्टर यार्न, जुटको बोरा, धागो, जस्तापाता लगायतका वस्तुको निर्यात बढेको छ भने जि.आई पाईप, जुटको रस्सी, जुस, उनी गलैँचा, पश्मिना, लगायतका वस्तुहरुको निर्यात घटेको छ ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात २५ प्रतिशत, चीनबाट भएको आयात २५ दसमलव तीन प्रतिशत र अन्य मुलुकबाट भएको आयात १८ दसमलव एक प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा, अन्य मेशिनरी तथा पार्टपुर्जा, एम.एस. विलेट, सिमेन्ट, लगायतका वस्तुको आयात बढेको छ भने कृषि औजार तथा पार्टपुर्जा, हवाईजहाजका पार्टपुर्जा, सेनिटरीवेयर्स, सानो अलैँची, जिङ्क ईनगोट, लगायतका वस्तुहरुको आयात घटेको छ ।
भन्सार नाकाका आधारमा सुख्खा बन्दरगाहा भन्सार कार्यालय, भैरहवा भन्सार कार्यालय, विराटनगर भन्सार कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, नेपालगंज भन्सार कार्यालय, मेची भन्सार कार्यालय, कैलाली भन्सार कार्यालय र रसुवा भन्सार कार्यालयबाट भएको निर्यातमा वृद्धि भएतापनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा कमी आएको छ । त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा सुख्खा बन्दरगाहा भन्सार कार्यालय र कञ्चनपुर भन्सार कार्यालयबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।
वस्तुहरुको मूल्य बढेको कारण निर्यात मूल्य सूचकाङ्कमा वृद्धि भएको हो भने पेट्रोलियम पदार्थ, सवारी साधन, टायर, रेफ्रिजिरेटर, लगायतका वस्तुहरुको मूल्यमा वृद्धि भएका कारण आयात मूल्य सूचकाङ्कमा वृद्धि भएकोे हो