• २०८१ बैशाख १५ शनिबार

पश्चिम रुकुममा बस दुर्घटनामा एकको मृत्यु, १६ घाइते

kharibot

रुकुम । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगामा आज दिउँसो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने १६ जना घाइते भएका छन् । 

मुसिकोट नगरपालिका– १ सल्लेबाट खलंगा तर्फ आउँदै गरेको ना ५ ख ६५१० नं को बस खलंगाको मूलखोलामा दुर्घटना भएको थियो । 

दुर्घटनामा परेर मुसिकोट नगरपालिका– १ छिङ्की अन्दाजी २५ वर्षीया सपना मल्ल भण्डारीको मृत्यु भएको प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीले जानकारी दिए । दुर्घटनामा परी घाइते भएका १६ जनामध्ये ८ जनाको अवस्था गम्भीर रहेको उनले बताए । 

मृतककी– सात महिनाकी छोरी, मुसिकोट नगरपालिका– १ का १६ वर्षीय चन्द्रबहादुर विक, सोही ठाउँकी तीन बर्षिय देवी केसी, ५४ वर्षीय विष्णु बुढाथोकी, ११ वर्षीया झरना थापा, १६ वर्षीया दिविका बुढाथोकी र २० वर्षीया मनिषा विसी खड्का घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

गम्भीर घाइते सबैलाई जिल्ला अस्पताल सल्लेमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको जिल्ला अस्पताल सल्लेका प्रमुख डा सुशील पोखरेलले जानकारी दिए । 

अन्य आठजना घाइतेको जिल्ला अस्पाताल सल्लेमा उपाचार भइरहेको उनले बताए । गाडी सफा गर्न ल्याउने क्रममा सहचालकले गाडी चलाएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । 

गाडी सडकबाट करीब एक सय मिटर तल खोलामा सकेको थियो । प्रहरीले गाडी चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै