• २०८१ बैशाख १५ शनिबार

रोनाल्डोले किन छोडे रियल म्याड्रिड ? मेसीसँगको द्वन्द सकियो त ?

kharibot

काठमाडौं । पोर्चुगलका सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले स्पेनको रियल म्याड्रिड छोडेर इटालियन क्लब युभेन्ट्स क्लबसँग सम्झौता गरेका छन् । 

सन् २००९ मा कीर्तिमानी रकममा म्यानचेस्टर युनाइटेडबाट रियल गएका रोनाल्डोले ३३ बर्षको उमेरमा पनि सय मिलियन युरोमा युभेन्टस गएका छन् । युभेन्ट्सले रोनाल्डोलाई किन्न ११२ मिलियन युरो खर्च गरेको जानकारी दिएको छ । युभेन्टसले सो रकम रियल म्याड्रिडलाई आगामी दुई सिजनसम्म तिर्ने सम्झौता भएको जनाएको छ ।

पछिल्लो ९ बर्षमा रोनाल्डो विश्वफुटबलमा हरेको दिनजस्तो समाचारको हेडलाइन बने । रियल म्याड्रिडमा हुदा ५ बर्षमा चार च्याम्पियन्स लिग उपाधि जसमा पछिल्लो तीन बर्ष लगातार च्याम्पियन्स लिगको उपाधि जित्नु रोनाल्डोको प्रमुख उपलब्धि हो । त्यस्तै ५ पटक बेलुन डोअरको उपाधि जितेका रोनाल्डोले स्पेनमा हुदा ४ पटक सो उपाधि जिते ।  चार पटक युरोपियन गोल्डेन बुट जितेका रोनाल्डोले तीन पटक रियलका लागि खेल्दा गोल्डेन बुट जित्नु स्पेनमा रोनाल्डोको प्रमुख उपलब्धि हो । 

त्यस्तै रोनाल्डोले रियल म्याड्रिडलाई ४ च्याम्पियन्स लिग, ३ क्लब विश्वकप, त्यस्तै ला लिगा, कोपा डेल रे, सुपर कोपा र युरोप सुपरकोपाको उपाधि २-२ पटक जिताएका छन् । आफ्नो ९ बर्षे रियल बसाइमा रोनाल्डोले कुल १६ उपाधि जितेका छन् । 

त्यस्तै रोनाल्डोले रियल म्याड्रिडका लागि कुल ४३८ खेलमा ४५० गोल गरेका छन् । जसमा रोनाल्डोले ला लिगामा २९२ खेलमा ३११ गोल गरेका छन् । त्यस्तै च्याम्पियन्स लिगमा रोनाल्डोले १०१ खेलमा १०५ गोल गरेका छन् । रोनाल्डो रियल म्याड्रिडको इतिहासमा अहिलेसम्म धेरै गोल गर्ने खेलाडी हुन् । उनी पछि राउलले ३२३ गोल गरेका छन् । रोनाल्डो रियल म्याड्रिडका तर्फबाट ला लिगामा पनि धेरै गोल गर्ने खेलाडी हुन् । उनले ३११ गोल गरेका छन् भने राउलले २२८ गोल गरेका छन् ।

त्यस्तै रोनाल्डोले च्याम्पियन्स लिगमा पनि अहिलेसम्म १२० गोल गरेका छन् जुन च्याम्पियन्स लिगको इतिहासमा अहिलेसम्मको धेरै गोल हो भने उनले रियल म्याड्रिडबाट खेल्दा मात्र १०५ गोल गरेका थिए । च्याम्पियन्स लिगमा रोनाल्डोपछि लियोनेल मेसीले अहिलेसम्म एक सय गोल गरेका छन् ।

रोनाल्डो र मेसीको लडाई सकियो ?

विश्व फुटबलमा रोनाल्डो र मेसीको तुलना पछिल्लो दशक देखि हुदै आएको छ । दुवैमा को उत्कृष्ट भन्नेमा सबैका आ-आफ्ना तर्क रहेका छन् । तर पनि दुवैले विश्व फुटबलमा पछिल्लो एक दशक राज नै गरेका छन् । दुवै एउटै लिग खेल्दा उनीहरुबीच को उत्कृष्ट भन्ने विषयले झन् चर्चा पाउने गर्दथ्यो । अब रोनाल्डो इटालियन लिग सिरी ‘ए’ मा गएपछि अब मेसी र रोनाल्डोको लडाई कसरी होला भन्ने तर सुरु भएका छन् । 

एउटै लिगमा नभए पनि यी दुई स्टार खेलाडीको तुलना हुन छोड्ने देखिदैन । रोनाल्डो नयाँ ठाँउमा नयाँ चुनौतीका साथ गएका छन् । रोनाल्डोलाई युभेन्ट्स र सिंगो इटाली लिगको चर्चा विश्वमा बढाउनु पर्ने चुनौती रहेको छ भने मेसीलाई पछिल्ला बर्षमा बार्सिलोनाले च्याम्पियन्स लिगमा पाएको असफलतालाई ब्रेक लगाउनु पर्ने चुनौती रहेको छ ।  

मेसी र रोनाल्डो जँहा भएपनि उनीहरुले गर्ने गोल र हासिल गर्ने उपलब्धिको तुलना सधै हुने देखिन्छ । 

रोनाल्डो किन गए युभेन्ट्स ?

रोनाल्डोले अन्य क्लबको तुलनामा इटालीको युभेन्ट्स रोज्नुमा धेरै कारण देखिएका छन् । पहिलो कारण त रियल म्याड्रिडमा आफ्नो भविष्य राम्रो नदेख्नु नै हो । विगत धेरै समय देखि रोनाल्डो र क्लबका अध्यक्षबीच पारिश्रमिककाविषयमा विवाद रहेको रिपोर्ट आइरहेका थिए ।

रियलले नेइमार वा एम्बाप्पे वा हजार्डलाई ल्याउने रिपोर्ट सार्वजनिक भएपछि रोनाल्डोले असुरक्षित महसुस गरेकाले नै त्यो अवस्था आउनु अघि नै उनले रियल छोडेका हुन् । अर्को पक्ष रोनाल्डो जहिले पनि नयाँ चुनौती लिएर अगाडी बढेको उनको क्यारियर ग्राफमा देखिएको छ । युभेन्ट्सले सन् १९९५/९६ देखि च्याम्पियन्स लिग जित्न सकेको छैन । यसबीचमा दुई पटक फाइनलमा पुगेको भएपनि दुवै पटक रोनाल्डो बाधक बनेका थिए ।

त्यस्तै अर्को प्रमुख कारण युभेन्ट्सका मालिक आन्द्रे एजनेली विश्वका उत्कृष्ट गाडी ब्रान्ड फरारी र फियाटका मालिक पनि हुन् । रोनाल्डोले युभेन्ट्सको मध्यमबाट एजनेलीको फरारी र फियाटको ब्यापार बढाउन पनि मुख्य चेहेरा हुन् सक्ने सम्भावना देखिएको छ ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै