• २०८१ बैशाख १४ शुक्रबार

विश्वकप दोस्रो सेमिफाइनल : इङल्याण्ड र क्रोसियाबीच भिडन्त  

kharibot

काठमाडौँ । विश्वकप फुटबलको दोस्रो सेमिफाइनल आज इङल्याण्ड र क्रोसियाबीच हुदै छ । नेपाली समय अनुसार राति ११::४५ बजे हुने यस खेलका विजेताले विश्वकपका उपाधिका लागि फ्रान्ससँग खेल्ने छ । 

क्रोसिया २२ बर्षपछि विश्वकपको सेमिफाइनलमा खेलिरहेको छ भने इङल्याण्ड भने १९९० पछि पहिलो पटक सेमिफाइनलमा खेल्दै छ । यी दुवै देशमा क्रोसिया अहिलेसम्म विश्वकपको फाइनलमा पुगेको छैन भने इङल्याण्ड १९६६ मा विश्वकपको फाइनलमाप उगेर उपाधि नै जितेको थियो ।     

विश्वकपमा क्रोसिया : 

सन् १९९० सम्म युगोस्लाभियाको नामबाट खेलेको क्रोसिया त्यस यता यस पटक सहित पाचौ पटक विश्वकप खेलिरहेको छ । १९९८ को विश्वकपमा तेस्रो स्थान हासिल गर्नु नै अहिलेसम्म क्रोसियाको उत्कृष्ट प्रदर्शन हो । अन्य तीन विश्वकप खेलमा भने समुह चरणबाट नै बाहिरिएको थियो । 

यस विश्वकपमा क्रोसिया अपराजित हुदै सेमिफाइनलसम पुगेको छ । समुह चरणका खेलमा नाइजेरियालाई २-० ले, अर्जेन्टिनालाई ३-० ले र आइसल्याण्डलाई २-१ गोल अन्तरले पराजित गर्दै क्रोसिया नकआउट चरणमा पुगेको थियो । नकआउटचरणको पहिलो खेलमा क्रोसियाले डेनमार्कलाई पेनाल्टी सुटआउटमा ३-२ ले र क्वाटरफाइनलमा आयोजक रसियालाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै यस विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

विश्वकपमा इङल्याण्ड : 

सन् १९६६ को विश्वकप जितेको इङल्याण्ड १५औ पटक विश्वकप खेलिरहेको छ । १९६६ मा आफैले आयोजना गरेको विश्वकप जित्न सफल भएको इङल्याण्ड त्यसपछि भने फाइनलसम्म पुग्न सकेको छैन । त्यसपछि १९९० मा सेमिफाइनलसम्म पुगेको इङल्याण्ड१९५४, १९६२, १९७०, १९८६, २००२ र २००६ मा क्वाटरफाइनलसम्म पुगेको थियो । गत विश्वकपमा समुह चरणबाट बाहिरिएको इङल्याण्ड १९३०, १९३८, १९७४, १९७८ र १९९४ को विश्वकपमा छनौट भएको थिएन । 

यस विश्वकपमा इङल्याण्डले समुह चरणका तिन मध्ये २ मा जित र एक मा हार बेहोरेको थियो । समुहचरणमा ट्युनिसियालाई २-१ ले, पानामालाई ६-१ ले जितेको थियो भने बेल्जियमसँग १-० ले हारेको थियो । त्यस्तै नकआउट चरणमा कोलोम्बियालाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गरेको थियो भने क्वाटरफाइनलमा स्विडेनलाई २-० ले पराजित गर्दै विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

प्रमुख खेलाडी : 

क्रोसियाका प्रमुख खेलाडी लुका मोड्रीच हुन् ।  रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्न मोड्रीचले यस विश्वकपमा उत्कृष्ट फुटबल खेलेका छन् ।  खास गरि समुह चरणको अर्जेन्टिनाविरुद्धको खेलका लागि यस विश्वकपमा क्रोसियाको याद पछिसम्म गरिने छ ।  सो खेलमा क्रोसियाले अर्जेन्टिनालाई ३-० ले पराजित गर्दा मोड्रीचले महत्वपूर्ण भूमिका निभाएका थिए । उनले यस विश्वकपमा २ गोल गरेका छन् भने क्रोसियाका लागि १११ खेल खेल्दै १४ गोल गरेका छन् । त्यस्तै क्रोसियाका लागि अर्का महत्वपूर्ण खेलाडी इभान राकिटिक हुन् । बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्ने राकिटिक क्रोसियाको मिडफिल्डका प्रमुख खेलाडी हुन् ।  उनले यस विश्वकपमा एक गोल गरेका छन् भएन क्रोसियाका लागि ९७ खेलमा अहिलेसम्म १५ गोल गरेका छन् । 

त्यस्तै इङल्याण्डका लागि प्रमुख खेलाडी कप्तान ह्यारी केन नै हुन् । टोटनह्यामबाट व्यावसायिक फुटबल खेल्ने केनले यस विश्वकपमा ६ गोल गर्दै गोल्डेन बुटको दौडमा अहिलेसम्म सबै भन्दा अगाडी छन् ।  अब उनले गोल्डेन बुट जित्ने लगभग पक्का जस्तै भएको छ । यस विश्वकपमा केनको प्रदर्शन उत्कृष्ट रहेको छ ।  त्यस्तै यस टिममा मिडफिल्डमा जेसे लिंगार्डको भूमिकालाई निकै महत्वपूर्ण मानिएको छ । उनले यस विश्वकपमा इङल्याण्डको मिडफिल्डलाई राम्ररी सम्हालेका छन् र गोल गर्ने अवसर सिर्जना गरेका छन् ।  त्यस्तै युवा खेलाडी डेल अलि र गोल किपर जोर्डन पिकफोर्डले पनि यस विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका छन् । 

हेड टु हेड :

इङल्याण्ड र क्रोसियाबीच यसअघि ७ खेल भएका छन् जसमा इङल्याण्डले ४ खेलमा जित हासिल गरेको छ भने क्रोसियाले २ खेलमा जित हासिल गरेको छ । त्यस्तै एक खेल बराबरीमा सकिएको छ । विश्वकपमा भने यी दुई देशबीच पहिलो पटक खेल हुदै छ । 

निष्कर्ष :

यस विश्वकपमा इङल्याण्डले राम्रो खेल देखाएपनि क्रोसियालाई पराजित गर्न मुस्किल पर्ने देखिन्छ ।  इङल्याण्ड यस विश्वकपमा समुह चरणमा बेल्जियमसँग बाहेको ठुलो टिमसँग अझै खेलेको छैन ।  त्यसैले उसको असली परिक्षा यस खेलमा हुने देखिन्छ । यस अघि कोलोम्बियालाई पेनाल्टी सुटआउटमा र स्विडेनलाई २-० ले पराजित गरेको इङल्याण्डको विश्वकप यात्रामा क्रोसिया तगारो हुने देखिन्छ ।  क्रोसियाले नकआउट चरणका दुवै खेलमा पेनाल्टी सुटआउटमा नतिजा आफ्नो पक्षमा पार्दै सेमिफाइनलसम्म पुगेकाले पनि अलिकति भाग्यको साथ क्रोसियालाई रहेको देखिन्छ । यस खेलमा विजयी हुने देशले उपाधिका लागि फ्रान्सको सामना गर्ने छन् भने पराजित हुने देशले तेस्रो स्थानका लागि बेल्जियमसँग खेल्ने छन् ।             

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै