• २०८१ बैशाख १५ शनिबार

देशभर मौसम सक्रिय, सतर्कता अपनाउन आग्रह 

kharibot

काठमाडौँ ।  मनसुन न्यून चापीय रेखा नेपालतर्फ सरेकाले देशका अधिकांश स्थानमा आगामी तीन दिनसम्म वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाले तीन दिनसम्म हल्कादेखि मध्य र केही स्थानमा भारी वर्षा हुने सम्भावना औँल्याएको हो । मनसुन पूर्ण रुपमा सक्रिय भएकाले अबको केही दिन वर्षा हुने मौसमविद् वरुण पौडेलले जानकारी दिए । 

तीन दिनसम्म लगातार वर्षा भए पनि दिउँसो पख केही बेर वर्षा रोकिने र विशेष गरी साँझ, राति र बिहान वढी वर्षा हुने उनको भनाइ छ । पूर्व, मध्य र पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सजक रहन मौसमविद्ले आग्रह गरेका छन् । 

जल तथा मौसम विज्ञान विभाग, विज्ञान महाशाखा÷बाढी पूर्वानुमान शाखाले पनि आज बाढी बुलेटिन जारी गरी देशका अधिकांश भेगमा वर्षा र पश्चिमी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । 

विभागका अनुसार सबै प्रमुख नदीमा जलसतह बढ्दो क्रममा रहेको छ । सोमबार पनि देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम खालको वर्षा तथा पश्चिम, मध्य र पूर्वी भागको मध्यपहाडी क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ । 

सतर्कता अपनाउन आग्रह 

मौसम विभागले निरन्तर वर्षाको सम्भावना रहेका कारण देशका पूर्वदेखि पश्चिमका विभिन्न नदीमा पानीको बहाव बढ्ने खतरा अनुमान गरेको छ । आइतबार कन्काई, कोसी, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीमा बहाव बढ्दो क्रममा रहेको छ । कमला नदी जलाधारको केही स्थानमा भारी वर्षा भइसकेकाले बहाव एक्कासि बढ्ने र घट्ने अनुमान गरिए पनि सतर्कता तह पार गर्ने सम्भावना न्यून रहेको छ । 

यस्तै सोमबार कोसी, नारायणी, कर्णाली र महाकाली नदीमा बहाबले सतर्कता तह पार गर्ने सम्भावना न्यून रहेको महाशाखाले जनाएको छ । नारायणी र यसका शाखा नदीमा बहाव उल्लेख्य बढ्ने अनुमान गरिएको छ । महाभारत र चुरेबाट बहने विरिङ, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबईलगायत अन्य नदीमा बहाव सतर्कता तहसम्म पुग्ने सम्भावना रहेको छ । 

मंगलबार कोसी, नारायणी, कर्णाली र महाकालीमा बहाबले सतर्कता तह पार गर्ने सम्भावना नदेखिएको प्रायः सबै मुख्य नदीमा बहाव विस्तारै घट्दै जाने अनुमान महाशाखाको छ । आइतबार गोरखा, धादिङ, लमजुङ, कास्कीको केही स्थान तथा सोमबार गोरखा, धादिङ, लमजुङ, कास्कीको अतिरिक्त काठमाडौँ, ललितपुर, भक्तपुर, नुवाकोट, दोलखा र आसपासका जिल्लाका केही स्थानमा भारी वर्षाको सम्भावना भएकाले पहाडका साना नदीमा पनि एक्कासि बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । 

त्यसैगरी चुरे र महाभारतबाट बग्ने प्रायः नदीमा बहाव बढ्ने क्रममा हुने अनुमान गरिएकाले तराई, चुरे र मध्यपहाडी क्षेत्रका नदी तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रमा बसोवास गर्ने नागरिकलाई आइतबार र सोमबार सजकता अपनाउन भनिएको छ । आइतबार र सोमबार बागमती र नारायणी आसपासमा पनि सतर्क रहन आग्रह गरिएको महाशाखाको विज्ञप्तिमा भनिएको छ । 

महाशाखाको पछिल्लो विवरणअनुसार आइतबार सबैभन्दा बढी भैरहवामा ६३, पोखरामा ६२, सिमरामा ५१, धनकुटामा २७ तथा विराटनगर र धनगढीमा १०÷१० मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा ४ मिलिमिटर वर्षा भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै