• २०८१ बैशाख १५ शनिबार

नारायणी नदीमा डल्फिनको बच्चा देखियो

kharibot

फाइल तस्विर । 

चितवन / नारायणी नदीमा डल्फिनले बच्चा जन्माएको अनुमान गरिएको छ । 

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार नारायणी नदीको त्रिवेणी नजिकै भेलौजी भन्ने स्थानमा डल्फिनको बच्चा देखिएको हो । 

यसअघि सो क्षेत्रमा माउ डल्फिन दुईवटा देखिँदै आएकामा हाल बच्चासमेत देखिएपछि डल्फिनले बच्चा जन्माएको अनुमान गरिएको उनले बताए  । 

नारायणी नदी चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने गर्दछ । यो नदीमा डल्फिन देख्नुलाई दुलर्भ मानिन्छ । नदीमा घडियाल गोहीको अनुगमनका क्रममा डल्फिनको बच्चा देखिएको भए पनि तस्बीर लिन भने नसकिएको खड्काले बताए । 

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र आर्यालले सो क्षेत्रमा यसअघि पनि एक जोडी डल्फिन देखिँदै आएकामा त्यही जोडीबाट बच्चा जन्मिएको हुन सक्ने बताए । नदीमा डल्फिनको संख्या थपिदै गएमा पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास उनको छ। 

घडियाल गोहीका २११ बच्चा कोरलिए 

संकटापन्न अवस्थामा रहेको घडियाल गोहीका लागि नारायणी नदी राम्रो बासस्थान मानिन्छ ।चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको घडियाल प्रजनन् केन्द्रमा यस वर्ष २११ वटा बच्चा कोरलिएका छन् । 

नारायणी र राप्ती नदीमा संकलन गरिएको गोहीको अण्डा र प्रजनन् केन्द्रमा गोहीले पारेको अण्डाबाट ती बच्चा कोरलिएका हुन्।निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार राप्तीमा सात वटा गुँडबाट संकलन गरिएको २३५ वटा अण्डाबाट ११८ वटा बच्चा र नारायणी नदीमा दुई गँुडबाट संकलन गरिएका ८२ वटा अण्डाबाट ४६ वटा बच्चा कोरलेका हुन् । प्रजनन् केन्द्रमा गोहीले पारेका अण्डाबाट ४७ वटा बच्चा कोरलिएका हुन् । 

निकुञ्जले गएको वैशाखमा गोहीको अण्डा नदीबाट संकलन गरेको थियो । सो क्रममा राप्तीमा तीनवटा र नारायणीमा पाँचवटा गँुड छाडिएको थियो । सहायक संरक्षण अधिकृत खड्काका अनुसार ती गुडँमध्ये राप्तिमा एउटा गँुड पानीले बगाएको र अन्य दुईवटा गँुडबाट बच्चा कोरलिएका छन् । नारायणी नदीमा एक गँुडबाट बच्चा कोरलिएको, एक गँुड पानीले बगाएको र तीन गँुडमा बच्चा कोरल्न बाँकी रहेको उनले बताए  । 

प्रजनन् केन्द्रमा पाँचवटा गुँड रहेकामा दुईवटा गँुडबाट बच्चा कोरलिएको भए पनि अन्य तीन गुँडका अण्डा भने बिग्रिएको सहायक संरक्षण अधिकृत खड्काले बताए  । 

गोहीको बच्चा हुर्काउन निकै कठिन हुने गर्दछ । विगतको अनुभवलाई हेर्दा हाल कोरलिएका बच्चामध्ये १०० हाराहारी बचाउन सकिने उनको भनाइ छ । गत वर्ष पनि यसै हाराहारीमा बच्चा बचेका थिए । हाल प्रजनन् केन्द्रमा ५२० गोही रहेका छन् । 

यस वर्ष ११९ वटा गोहीका बच्चा हुर्काएर राप्ती नदीमा छाडिएको छ । हालसम्म राप्ती, नारायणी, कालिगण्डकी, कोशी, बबई र कणाली नदीमा एक हजार ३६५ वटा गोही छाडिसकिएको छ । सहायक संरक्षण अधिकृत खड्काका अनुसार पछिल्लो गणनाअनुसार ती नदीमा हाल १९८ गोही मात्र बाँकी रहेका छन् । जसमध्ये राप्ती र नारायणीमा मात्र १६६ रहेका छन् । 

सन् १९७८ मा कसरामा घडीयाल प्रजनन् केन्द्र शुरु गरिएको हो । संकटापन्न अवस्थामा रहेको गोही हराउँदै गएपछि नदीमा अण्डा संकलन गरि बच्चा कोरलेर यो प्रजनन् केन्द्र सुरु गरिएको हो । नदिमा छाडिएका गोही बाढीसँगै भारत पुग्ने तथा नदीमा ठूला जालमा परेर र प्रदूषणका कारण पनि रोगी भएर मर्ने गरेकाजस्ता समस्याका कारण गोही लोप हुँदै गएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै