• २०८१ बैशाख १४ शुक्रबार

महानगरभित्रका १४ वटा सामुदायिक विद्यालयमा सरसफाइको अवस्थामा तत्काल सुधार गर्नुपर्ने

kharibot

काठमाडौं । काठमाडौं महानगर क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयहरुको वातावरणीय अवस्था सुधार गर्नुपर्ने देखिएको छ । 

महानगरको वातावरण व्यवस्थापन विभागले, शिक्षा विभाग र जाइका स्वयम्सेवकसँगको सहकार्यमा गरेको अध्ययन सम्बन्धि प्रतिवेदन मंगलबार सार्वजनिक भएसँगै यस्तो अवस्था देखिएको हो । अध्ययन जाइका स्वयम्सेवक फुमिका हिनोको अगुवाईमा सम्पन्न भएको थियो । अध्ययनका क्रममा हरेक बिद्यालयलाई ४० अङ्कमा मुल्याङ्कन गरिएको थियो । यसमा फोहोर व्यवस्थापनलाई १०,  सरसफाइलाई ६ अङ्क,  हरियालीलाई ८ अङ्क, पानीको उपलब्धता र स्वच्छतालाई क्रमश ८-८ अङ्कमा दिइएको थियो ।

यसरी गरिएको अध्ययनमा महानगरभित्र रहेका ९४ वटा सामुदायिक बिद्यालयमध्ये ९ वटाले पाए“ए” ग्रेड पाएका छन् भने ३६ वटाले “बिप्लस” र ३० ले “बि”ग्रेड पाएका छन् । ४० मा बिद्यालयहरुले पाएको औसत अङ्क २४.१ छ । यसमध्ये वडा नम्बर ४ मा रहेको धुम्बाराह माध्यमिक बिद्यालयले सवै भन्दा उच्च ३६ अङ्क प्राप्त गरेको छ भने सवैभन्दा कम वडा नं. १२ को राष्ट्रिय आधारभूत विद्यालयले ११ अङ्क पाएको छ । 

“ए” ग्रेडप्राप्तगर्ने ९ वटा बिद्यालयमा सरसफाइ,  स्वच्छता र पानीको सुविधा उपयुक्त छ भने फोहोर व्यवस्थापन र हरियाली व्यवस्थापनमा काम गर्न आवश्यक छ । त्यस्तै “बिप्लस” ग्रेड प्राप्त गर्ने ३६ वटा विद्यालयमा हरियालीको अवस्था कमजोर र फोहोर व्यवस्थापनमा सुधार गर्नुपर्ने अवस्था छ । “बि” ग्रेड प्राप्त गर्ने बिद्यालयमा पानीको आंशिक उपलब्धता छ । हरियालीमा ति बिद्यालय कमजोर छन् । ति विद्यालयहरुले फोहोर व्यवस्थापन र सरसफाइमा सुधार गर्नुपर्ने अवस्था अध्ययनले खाँचो देखाएको छ । 

‘सि’  ग्रेडमा पर्ने १४ वटा विद्यालयमा पानी उपलब्धताको अवस्था कमजोर छ । हरियालीका लागि कुनै काम नै भएको छैन । ती विद्यालयहरुले फोहोर व्यवस्थापन, सरसफाइ र स्वच्छतामा सुधार गर्नुपर्छ । अध्ययनमा“डि” ग्रेडको प्रवन्धथियो तर यस ग्रेडमा कुनै पनि बिद्यालय परेनन् । 

अहिले भएको अध्ययन वैज्ञानिक होइन तर विद्यालयमा उपलब्ध भौतिक सुविधा, सरसफाइप्रतिको सचेतना, शिक्षक र विद्यार्थीको व्यवहार जस्ता पक्ष हेरेर विद्यालयको अवस्थाको क्रम निर्धारण गरिएको हो । यसका लागि अध्ययन टोली श्रोत व्यक्तिका साथमा विद्यालयमा पुगेर स्थलगत अवलोकन गरेको थियो । त्यस क्रममा फोहोर व्यवस्थापनमा डस्विनको व्यवस्था, चक्लेटजस्ता साना प्लाष्टिकजन्य खोलहरुको व्यवस्था, फोहोरको नियमित संकलन, गल्ने र नगल्ने फोहोरको वर्गीकरण,फोहोरको पुनःप्रयोगमा विद्यालयले गरेका काम हेरिएको थियो ।

त्यस्तै सरसफाइमा कक्षा कोठाको सफाइ, सरसफाइ गर्ने औजार उपकरणको उपलब्धता, तिनीहरु भण्डारण गर्नेकक्षको व्यवस्था, विद्यार्थीहरुको विद्यालयभित्र र बाहिर सरसफाइप्रतिको व्यवहार अध्ययन हेरिएको थियो । स्वच्छतामा भने शौचालयको अवस्था र उपलब्धता, हातधुने बानी र यसप्रतिको सिकाइ र हातधुन सावनुको उपलब्धता जस्ता शीर्षकमा अङ्क प्रदान गरिएको थियो । यसरी अङ्कदिँदा, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीसँग गरिएको प्रश्न र त्यसबाट प्राप्त भएको उत्तरलाई समेत आधार बनाइएको थियो । 

पानीको सुविधाअन्तर्गत, स्वच्छ पिउने पानीको उपलब्धता, आकाशे पानी व्यवस्थापन, ढल निकास, आकाशे तथा सतही पानीको व्यवस्थापन जस्ता पक्षमा र हरियालीतर्फ विरुवाको अवस्था, वृद्धि, तरकारी वा अन्यवाली उत्पादन, जैविक फोहोर व्यवस्थापन जस्ता पक्ष हेरिएको थियो । 

महानगरका ९४ वटा सामुदायिक विद्यालय ११ वटा श्रोत केन्द्र मार्फत व्यवस्थापन हुँदै आएका छन् । 

काठमाडौं महानगरले समग्र वातावरण सुधारमा काम गरिरहेको छ । हरेक क्षणमा फोहोर उत्पादन भइरहने तर व्यवस्थापनमा कम व्यक्ति मात्र जिम्मेवार हुने भएपछि सहरमा वातावरणीय सुधारमा चुनौतीको सामना गर्नु परिरहेको छ ।

काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य भन्छन् — फोहोर व्यवस्थापनमा नागरिक जिम्मेवारीको सन्देश विद्यालयबाट घरसम्म पुर्याउनु पर्छ । अब सामुदायिक विद्यालय प्रति अभिभावकको विस्वास  बढ्न जरुरी छ । बिद्यार्थीको आचरण, शैक्षिक परिणाम हेरेर उहाँहरुलाई सन्तुष्ट बनाउने काम गर्नोस् — प्रमुख शाक्यले विद्यालयका प्रधानाध्यापकहरुसँग आग्रह गरे । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै