• २०८१ बैशाख १४ शुक्रबार

ट्रेड युनियन काँग्रेसको अध्यक्षमा पौडेल समुहका आचार्य निर्वाचित

kharibot

काठमाडौँ । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन काँग्रेसको अध्यक्षमा पुस्कर आचार्य निर्वाचित  भएका छन् ।

छैँटौँ महाधिवेशनको निर्वाचन मतपरिणामअनुुसार आचार्यले ८१८ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी ट्रेड युनियन काँग्रेसका निवर्तमान अध्यक्ष खिलानाथ दाहालले ५३३ मत ल्याएको निर्वाचन अधिकृत गोपालकृष्ण घिमिरेले जानकारी दिए । 

आचार्यको प्यानललाई रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको समर्थन थियो । निवर्तमान अध्यक्ष दाहाल समूहलाई पार्टी सभापति शेरबहादुर देउवाको समर्थन थियो । कांग्रेस भातृ संगठनमा देउवा पक्षको यो लगातार अर्को हार हो । यसअघि कर्मचारी, शिक्षक, इञ्जिनियरिङ संगठनमा पनि देउवा पक्ष पराजित भएको थियो ।

यस्तै वरिष्ठ उपाध्यक्षमा महेन्द्रप्रसाद यादव, उपाध्यक्ष (खुला) तेजेन्द्रजंग कार्की र अजयकुमार राई, उपाध्यक्ष (महिला) इन्दिरा सापकोटा, उपाध्यक्ष (सेवा) नेत्रविक्रम थापा, उपाध्यक्ष (उत्पादन) ललित श्रेष्ठ, उपाध्यक्ष (अनौपचारिक) आशासिंह राठौर र महासचिवमा योगेन्द्रकुमार कुँवर निर्वाचित  भएका छन् । 

यसैगरी उपमहासचिव (खुला) गणेशबहादुर केसी, ज्योति कोइराला, उपमहासचिव (महिला) राधिका कुँइकेल, उपमहासचिव (सेवा) सीताराम अवस्थी, उपमहासचिव (अनौपचारिक) राजेश पालिखे, उपमहासचिव (उत्पादन) ईश्वरबहादुर परियार, कोषाध्यक्ष मोहनकुमार बस्नेत र सहकोषाध्यक्ष सुशीला घिमिरे निर्वाचित  भएका छन् । 

यस्तै २७ केन्द्रीय सदस्य निर्वाचित  भएका छन् । दाहाल र आचार्यबीच दुई समूह बनाएर भएको निर्वाचनमा एक सदस्यबाहेक सबै आचार्य समूहका उम्मेदवार विजय भएका छन् । 

कूल एक हजार ४२० मतदाता रहेको ट्रेड युनियन काँग्रेसमा एक हजार ३९८ मत खसेको निर्वाचन समितिका सदस्य अरुण पौडेलले जानकारी दिए  । 

नवनिर्वाचित अध्यक्ष आचार्यले रासससँग कुरा गर्दै नेपाल ट्रेड युनियनको शाख अभिवृद्धि गर्दै, मजदूरलाई आर्थिकरुपले सरल र समुन्नत बनाउँदै उनीहरुको पहुँच अभिवृद्धि गर्ने र समतामूलक समाज निर्माण गर्ने दिशामा अगाडि बढ्ने बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै