• २०८१ बैशाख १५ शनिबार

बहुमतको आडमा सर्वसत्तावाद लाद्न खोजियो : कमल थापा 

kharibot

हेटौँडा । राप्रपाका अध्यक्ष कमल थापाले संविधान र संसदीय प्रजातन्त्रको आवरणमा वर्तमान सरकारले मुलुकमा सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाएका छन् । 

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनद्वारा आज हेटौडामा आयोजित ३ नं प्रदेशस्तरीय युवा प्रशिक्षण शिविरको उद्घाटन गर्दै उनले करीब दुई तिहाइ बहुमत पाएको दम्भमा सरकार क्रमिक रुपमा अधिनायकवादतर्फ उन्मुख रहेको आरोप लगाए । 

उनले आगामी फागुनभित्र पार्टीले हिन्दू राज्य पुनःस्थापनाका लागि आन्दोलनको तयारी थालेको जानकारी पनि दिए । अध्यक्ष थापाले फौजदारी मुद्दा लागेका प्रतिनिधिसभाका सदस्यलाई पदबाट निलम्बन नगर्ने भनी संसदको नियमावली आज पारित गरिँदा देशमा राजनीतिक अपराधीकरण बढ्न जाने विचार व्यक्त गरे । 

राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले मुलुकमा बाह्य शक्तिको हस्तक्षेप निस्तेज पार्न सबै प्रजातान्त्रिक शक्ति एक जुट हुनुपर्ने बताए । यही जेठ २६ गतेसम्म चल्ने शिविरमा ३ नं प्रदेशअन्तर्गत १३ जिल्लाका युवा संगठनका अध्यक्ष, सचिव, क्षेत्रीय प्रतिनिधि र जिल्ला सचिव गरी २९५ प्रतिनिधिको सहभागिता रहेको राप्रपाका सहायक महामन्त्री राजराम बर्र्तौलाले जानकारी दिए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै