• २०८१ बैशाख १५ शनिबार

ठेक्का लागेको वर्ष दिनपछि सम्झौता

kharibot

फाइल तस्विर।

खोटाङ । दिक्तेल–खोटाङबजार सडकखण्डअन्तर्गतको तावाखोलाको सडक पुल निर्माणका लागि ठेक्का लागेको झन्डै वर्ष दिनपछि मात्र सम्झौता भएको छ । 

करिब रु चार करोडको लागतमा वर्ष दिनभित्र सम्पन्न गर्ने गरी नेशनल–सिद्धिसायी–महावीर निर्माण कम्पनी र जिल्ला प्राविधिक कार्यालय खोटाङबीच वर्षदिनपछि पुल निर्माणको सम्झौता भएको हो । 

अघिल्लो वर्षको जेठ अन्तिम साता बोलपत्र आह्वान गरी असारको तेस्रो साता सम्बन्धित निर्माण कम्पनीलाई आशयपत्र दिए पनि विभिन्न बहानामा सम्झौता हुन सकेको थिएन । कतिपयले भने ठेकेदार र कर्मचारीबीच कमिसनको मोलमोलाई नमिलेपछि सम्झौता हुन नसकेको आरोप लगाउँदै आएका थिए । 

ठेक्का लागेपनि सडक पुल नबन्दा दिप्रुङ चुइचुम्मा सडकसमेत अवरुद्ध छ । यसले यात्रुलाई मात्र नभई विकास निर्माणका काममा समेत बाधा पुगेको दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए । 

तावाखोलामा पुल नबन्दा वैशाख पहिलो साता आएको बाढीले बा २ ख ४८९६ नं को बस बगाएको थियो । त्यसो त यो सडकखण्डमै पर्ने साप्सुखोलाको पुल निर्माणसमेत दुई वर्षदेखि अलपत्र परेको छ ।

यसले नियमित यातायात संचालनमा समस्या भएको छ । पुल निर्माण कम्पनीको बेवास्ताले स्थानीयले सास्ती खेप्नुपरेको छ । यसबारेमा पटकपटक पहल गर्दासमेत निर्माणमा संलग्नले बेवास्ता गरेको जनप्रतिनिधिको भनाइ छ । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र साकेला गाउँपालिका–५ मात्तिमको बीचमा पर्ने साप्सुखोलामा दुई वर्षअघि निर्माण थालिएको सडक पुल अलपत्र परेपछि निर्माण कम्पनी सम्बद्धमाथि कारबाहीको मागसमेत भएको छ । यद्यपि अहिलेसम्म त्यसको सुनुवाइ हुन सकेको छैन । 

दुई वर्षदेखि पुल अलपत्र परेपनि सम्बन्धित निकाय चुप लागेर बसेको नेकपा मालेका केन्द्रीय सदस्य कुलप्रसाद फुयाँलले बताए । जिल्ला प्राविधिक कार्यालयमार्फत सरकारको डेढ करोड लागतमा १८ महिनामा सक्ने गरी २०७३ वैशाखमा सम्झौता गरिएको यो पुल अहिलेसम्म पनि बन्न सकेको छैन ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै