• २०८१ बैशाख १५ शनिबार

काठमाडौं महानगरमा छ महिनाभित्र ४० स्मार्ट शौचालय बन्ने, कहाँ-कहाँ बन्दै छन् ?

kharibot

फाइल तस्बिर ।

काठमाडौँ ।  काठमाडौँ महानगरले आगामी छ महिनाभित्र ४० वटा स्मार्ट सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । काठमाडौँ महानगरका निर्देशक नमराज ढकालका अनुसार उक्त शौचालय निर्माण जेठभित्रै सुरु भएर छ महिनाभित्र बनिसक्छ । अबको छ महिनाभित्र महानगरमा शौचालयको समस्या समाधान हुने दाबी समेत निर्देशक ढकालले गरेका छन् । 

सार्वजनिक शौचालय निर्माण गर्ने महानगरको दायित्व भएपनि स्थानीय तहको निर्वाचन सकिएको एक वर्ष पूरा भइसक्दा पनि महानगरले सार्वजनिक शौचालय निर्माणमा कुनै चासो देखाएको थिएन । महानगरले बनाउने ४० स्मार्ट शौचालय कहाँ कहाँ बनाउने भनी स्थान समेत तोकिसकेको उनले जानकारी दिए । 

काठमाडौँ महानगरको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै स्मार्ट पब्लिक ट्वाइलेट निर्माण गर्ने नीतिगत व्यवस्था गरिएको छ । सोही नीतिअनुरुप महानगरले सार्वजनिक शौचालय निर्माण गर्न लागेको हो । 

यसैअन्तर्गत महानगरले यसको डिजाइन तथा अध्ययन गरिरहेको जनाएको छ । सार्वजनिक शौचालय निर्माणको लागि विभिन्न निजी क्षेत्रले पनि विभिन्न प्रविधिमा सार्वजनिक शौचालय निर्माण गर्न प्रस्ताव गरेको र लगानीकर्ताले इच्छा देखाएको हुनाले गत वैशाख १६ गते बसेको नगर कार्यपालिकाको बैठकमा पनि यसबारे कुरा उठेको थियो । 

महानगरले सार्वजनिक शौचालयका विषयमा तीन कुरालाई प्रमुख प्राथमिकता दिने जनाएको छ । जसमा अहिले भएका सार्वजनिक शौचालय गुणस्तरीय बनाउने र नयाँ शौचालय निर्माण गर्ने, नयाँ शौचालय निर्माण गर्ने सन्दर्भमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ठूला बिजनेस हाउस र निजी क्षेत्रलाई महानगरले निर्धारण गरेको डिजाइन र प्रविधिमा  सार्वजनिक शौचालय निर्माण गर्न अनुरोध गर्ने र यी दुवै क्षेत्रले शौचालय निर्माण नगरेको खण्डमा महानगर आफँैले शौचालय निर्माण गर्ने, त्यस्तै महानगर क्षेत्रभित्रका स्कुल, कलेज,  मार्ट,  विश्वविद्यालय,  सपिङ कम्प्लेक्स,   होटललगायतलाई आधुनिक र अपाङ्गमैत्री सार्वजनिक शौचालय निर्माण गरी सञ्चालन गर्न महानगरले आग्रह गर्ने जनाएको छ ।  

महानगरले निर्माण गर्ने स्मार्ट शौचालयको लागत १० देखि १५ लाख लाग्ने देखिएको छ । महानगरले शौचालय निर्माणमा ढिलाइ भएको बताउँदै ढकालले टिकाउ हुने खालको डिजाइन सोच्दासोच्दै समय लागेको भन्दै महानगरको कछुवागतिको कार्यशैलीको बचाउ गरे । उनले भने, ‘डिजाइन सोच्दा सोच्दै समय लाग्यो तर अब काम यही महिनाबाटै सुरु हुन्छ, डिजाइन फाइनल गरेर नमूनाकै रुपमा भए पनि काम सुरु हुन्छ ।’ 

यी हुन् शौचालय बन्ने स्थान 
काठमाडौँ महानगरले  सार्वजनिक शौचालय निर्माणको लागि ४० स्थान तोकेको छ । ती स्थानहरुमा लैनचौर (गल्कोपाखा मार्ग),  टेकु चोक,  कालीमाटी चोक,  बल्खु चोक, सीतापाइला चोक, वनस्थली (ढुङ्गेधारा), वनस्थली चोक, बालाजु चोक, माछापोखरी चोक, नयाँ बसपार्कबाहिर, गोंगबु सडक शिवमन्दिरसँगै, गोंगबु चोक, प्रहरीचौकी (चक्रपथ), वसुन्धारा चोक, चक्रपथ (महाराजगञ्ज), सुकेधारा चोक, गोपीकृष्ण हल चाबहिल,  तिलगंगा, बौद्धनाथ सडक चुच्चेपाटी, गौशाला चोक, एयरपोर्ट मूलगेटबाहिर,  कोटेश्वर चोक,  तीनकुने, कोटेश्वर चोक –रिङ्गरोडको बालकुमारी तर्फ,  पेप्सीकोला चोक,  बानेश्वर चोक (देवकोटा सडक) र मीनभवन – मदन भण्डारी पथ, बबरमहल (माइतीघर, बिजुलीबजार), माइतीघर थापाथली, सुन्धारा पार्किङ्गअगाडि, भूगोलपार्क अगाडि, वसन्तपुर (उपयुक्त स्थान, जमल सडक, खानी तथा भूगर्भ विभागअगाडि, बागबजार सडक, नारायण चमैर (नागपोखरी), कमलपोखरी, बालुवाटार थिरबम सडक, अनामनगर एरिया, बालाजु बाइसपासबाट त्रिशूली जानेबाटो रहेका छन् । 

महानगरले आवश्यकताअनुसार अन्य स्थानमा समेत शौचालय निर्माण गर्दै जाने निर्देशक ढकालले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै