• २०८१ बैशाख १५ शनिबार

दुर्गम गाउँमा अफिम खेती मौलाउदै

kharibot

जाजरकोट / नलगाड नगरपालिकाका विभिन्न स्थानमा अवैध रुपमा अफिम खेती मौलाएको छ । 

कम लगानीमा मनग्य आम्दानी हुने भएपछि स्थानीयवासीले पाखोबारीमा अफिम खेती गर्दैआएका छन् । पर्याप्त आम्दानीको आशमा स्थानीयवासीले पाखोबारीमा अन्य खेती लगाउन छाडेर अफिम खेती गर्ने गरेका छन् । 

चार÷पाँच वर्षदेखि नलगाडका स्थानीयवासीले पाखोबारीमा अन्य खेती लगाउन छाडेर अफिम खेतीमा जोड दिएका छन् । सरकारी निकायले नष्ट गर्न बेवास्ता गरेपछि यस वर्ष नलगाड नगरपालिकाका विभिन्न क्षेत्रमा ठूलो मात्रामा व्यावसायिक रुपमा अफिम खेती गरिएको छ । 

किसानले नलगाड नगरपालिका–२ को नहकुली, द्वावारे, ८ को मंसिरी, ९ को बाँसकोट, ताँत्र, घरङ्गा, १० को रावत गाउँ तथा १३ को सिउन, रूप, खाती गुर्ता, फुम्दालगायत क्षेत्रमा व्यावसायिक रुपमा अफिम खेती गरेका छन् । नलगाडका सयौँ किसानले अफिम खेती गरेका छन् । 

गत वर्ष प्रहरीले नलगाड नगरपालिकाको ६० रोपनी पाखोबारीमा लगाएको अवैध अफिम खेती नष्ट गरेको थियो । लागुऔषध कारोवारीले एक किलो अफिमको बारीमै आएर रु पाँच लाख मूल्य दिने गरेको खुल्न आएको प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए । 

सिँचाइ अभावले दुर्गमको पाखोबारीमा गहुँ, जौ, आलुलगायत खेतीको तुलनामा अफिमबाट मनग्य आम्दानी हुने भएपछि उक्त खेती मौलाएको हो । एक रोपनी पाखोमा दुई किलोसम्म अफिम उत्पादन हुने गरेको छ । स्थानीयवासीका अनुसार सोही पाखोमा अन्य खेतीबाट रु पाँच हजार पनि आम्दानी हुँदैन । दुर्गम गाउँमा लगाएको खेतीबाट अहिले अफिम निकाल्न थालिएको छ । असोजमा अफिमको खेती लगाउने, वैशाख र जेठमा निकाल्ने गरिन्छ । स्थानीयवासीले अफिमबाट प्रत्येक याममा एक लाखदेखि  १० लाखसम्म आम्दानी गर्छन्  । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै