• २०८१ बैशाख १५ शनिबार

केरा बगानको सफाइ गर्दै किसान

kharibot

फाइल तस्विर । 

चितवन /  एक साताअघि आएको हावाहुरी र असिनाले क्षतविक्षत बनाएको केरा बगानको सफाइमा कृषक जुटेका छन् । उनीहरुको बिक्रीका लागि तयार हुर्दै गरेको केरा पूर्णरुपमा नष्ट भएको छ । 

पूर्वी चितवनको कालिका, रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको केराखेती गएको आइतबार साँझको हावाहुरी र असिनाले नष्ट पारेको थियो । करिब रु ४० करोड बराबरको क्षति भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । 

केरा बगान सफाइ गरिरहनुभएका कालिका नगरपालिकाको– ५ का दीपेन्द्र चौधरी केरा नष्ट भएपछि निकै चिन्तित छन् । खेताला लगाएर बगान सफाइ गरिरहनुभएका उनले भने , “बिक्री गर्ने समयको केरा यसरी क्षतविक्षत हुँदा मन रोएको छ ।” यतिबेला हँसिया र बन्चरोको सहायताले बगान सफाइको काम भइरहेको छ । 

चौधरीको १३ बिगाहा जमिनमा केरा बगान थियो । उनका अनुसार कम्तीमा पनि ५० लाखको क्षति भएको छ । दश वर्षदेखि केराखेती गर्दै आएका चौधरीको परिवारले यसवर्ष बिमा नगरेका कारण झन बढी क्षति व्यहोर्नु पर्ने भएको छ । कालिका नगरपालिकाका किसानमध्ये सबैभन्दा बढी चौधरी परिवारकै क्षति भएको छ । हावाहुरी र असिनाका कारण उठ्नै नसक्ने गरी थला परेको उनी  बताउछन् । 

चौधरी हावाहुरीपीडित केरा किसानका प्रतिनिधि पात्रमात्रै हुनुहुन्छ । उहाँजस्तै धेरै किसान हावाहुरीका कारण प्रभावित भएका छन् । कालिका नगरपालिका– ५ का बाबुलाल चौधरीको पनि लाखौँ रुपैयाँको केरा क्षणभरमै सोत्तर भएको छ । उहाँले पनि बगान सफाइ गर्ने तयारी गर्दै गर्दा अब केराखेती गर्ने कि नगर्ने टुङ्गो नलागेको बताए । 

असिनासहितको हावाहुरीले जिल्लाको कालिका, रत्ननगर, खैरहनी र भरतपुर महानगरको ठिमुरा क्षेत्रमा ५०० किसानको सयौँ बिगाहा जमिनको केरा नष्ट भएको छ । सानो बिरुवा पनि काम नलाग्ने गरी बिगारेपछि अहिले किसानले सफाइ गर्न थालेका छन् । 

केरा ढलेको एकहप्ता बितिसक्दा पनि किसानले कुनै पनि प्रकारको सहयोग पाएका छैनन् । जिल्ला कृषि विकास कार्यालयका प्रमुख सुधीर श्रेष्ठले हालसम्म प्राप्त विवरणअनुसार रु ४० करोडको केरामा क्षति भएको जानकारी दिए । उनले विवरण आउने क्रम जारी रहेकाले क्षति बढ्न सक्ने बताए । 

जिल्लामा विसं २०५१ देखि व्यावसायिक रुपमा केराखेतीको शुरुवात गरिएको हो । विसं २०५६ देखि जग्गा भाडामा लिएर सयौँ बिगाहामा केराखेती यहाँका किसानले शुरु गरेको पाइन्छ । चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तका अनुसार हाल जिल्लामा करीब तीन हजार बिगाहामा व्यावसायिक केराखेती गरिँदै आएको छ । 

जिल्लामा ६३० किसान केरा व्यवसायी संघमा आबद्ध छन् । वार्षिक ५० हजार मेट्रिक टन केरा उत्पादन हुँदै आएको जिल्लामा यस वर्ष फल राम्रो लागेकाले डेढ अर्बको केरा बिक्री गर्ने लक्ष्य लिइएको उनले बताए । असिना र हावाहुरीले आधाभन्दा बढी केरा नष्ट भएकाले  ६० करोडको केरा पुरयाउन मुस्किल पर्ने तथा केराको अभाव हुने र मूल्य बढ्ने अनुमान गरिएको छ । 

यस वर्ष थोरै किसानले मात्र बीमा गरेका थिए । पन्तका अनुसार १६५ जनाले मात्र बीमा गरेका छन् । यससँगै व्यवसायीले पुनः केरा लगाउने वा नलगाउनेमा अन्योलता बढेको छ । बढ्दो जग्गाको खण्डीकरणका कारण व्यवसाय घट्ने अनुमान भइरहेका बेला हावाहुरीका कारण व्यवसाय थप प्रभावित बनेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै