• २०८१ बैशाख १४ शुक्रबार

नेपाल टेलिकमले पछिल्लो ९ महिनामा ११ अर्ब ८५ करोड कमायो 

kharibot

काठमाडौँ । नेपाल टेलिकमले चालु आर्थिक वर्षको ९ महिनामा ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार रुपैयाँ खुद मुनाफा गरेको छ । 

कम्पनीले हालै प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणमा सो तथ्य प्रस्तुत गरिएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ११ अर्ब ३२ करोड १८ लाख १९ हजार रुपैयाँ मुनाफा गरेको थियो । यस अवधिमा कम्पनीले ४.७२ प्रतिशत बढी नाफा आर्जन गर्न सफल भएको छ ।

कम्पनीले गत साउनदेखि चैत मसान्त सम्मको वित्तीय विवरण हालै सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार सो अवधिमा कम्पनीले ३३ अर्ब ८५ करोड ३२ लाख ७० हजार रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३२ अर्ब ८६ करोड ८९ लाख १७ हजार रुपैयाँ आम्दानी गरेको थियो । यस विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीले ३ प्रतिशत बढी आम्दानी गरेको छ । 

समीक्षा अवधिमा कम्पनीले सेवा बिक्रीबाट २९ अर्ब ३९ करोड २१ लाख ३७ हजार र अन्यबाट ४ अर्ब ४६ करोड ११ लाख ३३ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको सो अवधिमा कम्पनीको सेवा विक्रीबाट २९ अर्ब ७४ करोड ९४ लाख ६३ हजार र अन्यबाट ३ अर्ब ११ करोड ९४ लाख ५४ हजार रुपैयाँ आम्दानी भएको थियो । 

यस कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ रहेको छ । जगेडा कोषमा ७९ अर्ब ६९ करोड ५ लाख १५ हजार रुपैयाँ जम्मा भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १०५.३९ रुपैयाँ छ । 

हाल सेवाग्राहीहरुको चाहना भ्वाइस भन्दा डाटा सेवातिर बढिरहेको देखिएको छ । साथै कम्पनीले हालको तीब्र प्रतिस्पर्धात्मक दूरसञ्चार बजारमा अग्रणी रहन सेवाग्राहीको माग तथा रुचीअनुरुप आकर्षक भ्वाइस तथा डाटा प्याकेजहरु  ल्याउनुका साथै समयानुकुल शुल्कमा परिमार्जन गर्दै आइरहेको छ । यसले गर्दा सेवा विक्रीको आम्दानीमा अस्थायी रुपमा प्रभाव पर्न गएको देखिएको छ । 

हालको अवस्थामा बैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या घट्दै जाँदा र भाइबर, स्काइप, म्यासेन्जर जस्ता ओटीटी सेवाको प्रभावका कारण अन्तर्राष्ट्रिय कलबाट हुने आम्दानी घटिरहेको छ, जुन विश्वव्यापी रुपमा देखिएको प्रबृत्ति नै हो । 

आगामी दिनमा समेत कम्पनीको आर्थिक अवस्था मजबुत बनाउनका लागि कम्पनीले डाटा सेवा व्यापक रुपमा विस्तार गर्न फाइवर टु दि होम, फोर जी सेवाको विस्तार लगायतका विभिन्न कार्यक्रम अघि बढाएको टेलिकमले जनाएको छ ।                                                                           
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै