• २०८१ बैशाख १५ शनिबार

गङ्गबुँ–सामाखुशी-रत्नपार्क रुटका २६ माइक्रोबस निलम्बन भएपछि यात्रुलाई मर्का 

kharibot

काठमाडौँ । गङ्गबुँ–सामाखुशी हुँदै रत्नपार्क चल्ने २६ माइक्रोबसलाई यातायात व्यवस्था विभागले निलम्बन गरेपछि यात्रु मर्कामा परेका छन् । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यहि वैशाख २१ गते आह्वान गरेको बन्दमा बस सञ्चालन नगरेको भन्दै विभागले गङ्गबुँ भएर रत्नपार्क चल्ने माइक्रोबसलाई निलम्बन गरेको थियो । 

बानियाँटारबाट सामाखुशी जान लागेकी सत्यकला दवाडी सवारी नपाएपछि हिँडेर गईन । “माइक्रोबस कम भएपछि खुट्टा हाल्ने ठाउँसमेत नभएपछि म हिँडेर आएको हुँ,”, उनले भनिन् । 

यसैगरी सामाखुशीबाट रत्नपार्क जान लागेका रोहित ढकाल सवारी नपाएपछि तनावमा देखिन्थे । “बस चढ्नका लागि ठाउँ नै छैन कसरी जाने”, उनी प्रश्न गर्छन । यी केवल प्रतिनिधि पात्र मात्र हुन् । उनीहरुजस्ता हजारौँ नागरिक बस नपाएर बिचल्लीमा परेका छन् । गँगबुँ, गल्कोपाखा, लैनचौर भएर रत्नापार्क चल्ने १०५ बसमध्ये दुई दर्जनभन्दा बढी बस निलम्बनमा परेका हुन् । 

सामाखुशी यातायात व्यवसायी संघका सचिव लालप्रसाद गुरागार्इँ २६ बस निलम्बन गरिएपछि यात्रुलाई समस्या परेको बताउछन् । “नेपालभरीका सवारी नचलेको अवस्थामा सामाखुशीका २६ बसलाई मात्र किन निलम्बन गरियो ?”, उनले प्रश्न गरे । 

निलम्बन गरिएको आधिकारिक पत्र आफूलाई प्राप्त नभएको बताउँदै उनी ती सवारी सञ्चालन गर्दा केही सवारीलाई ट्राफिक प्रहरीले समाएको र केही सवारी आफ्नो ग्यारेजमा थन्काउन परेको गुनासो गरेका छन् । 

यातायात व्यवस्था विभागका सूचना अधिकारी तुलसीराम अर्यालले निलम्बन फुकुवाका लागि सामाखुशी यातायातले विभागमा निवेदन दिएको बताउँदै उक्त कारवाहीबारे कुनै निर्णय नभइसकिएको जानकारी दिए । निलम्बन फुकुवाका लागि विभागमा छलफल भइरहेको उनको भनाइ छ । 

सामाखुशी यातायातले यात्रुको चाहना र आवश्यकतालाई हेरेर दिगो सार्वजनिक यातायात प्रालिमार्फत जेठ महिनाभित्र थप १७ ठूला बससमेत सञ्चालन गर्न लागेको छ । 

प्रालिले सिनामंगल सफा परिवहन समिति र सामाखुशी यातायात व्यवसायी समितिको संयुक्त लगानीमा नयाँ बसपार्क, गँगबुँ, गल्कोपाखा, लैनचौर, जमल, कमलपोखरी, मैतीदेवी हुँदै सिनामंगलसम्म १७ नयाँ बस सञ्चालन गर्न लागेको छ । 

सामाखुशी यातायात व्यवसायी संघका अध्यक्ष सानुकाजी प्रजापति रु सात करोडको लगानीमा ५० सिट क्षमता भएका १७ ठूला बस सञ्चालन गर्न लागिएको जानकारी दिए । “सामाखुशी भएर चल्ने माइक्रोलाई अन्य स्थानमा स्थानान्तरण गरी सोही रुट हुँदै सिनामंगलसम्म नयाँ बस सञ्चालन गर्न लागेका हौँ”, उनले भने । 

सोही मार्गमा नयाँ बस सञ्चालनका लागि एशियाली विकास बैंकले रु एक करोड ९० लाख अनुदान दिएको छ । बस जेठभित्र नेपाल आउने र सञ्चालन भइसक्ने उनको भनाइ थियो । 

सोही मार्गमा ठूला बस सञ्चालन भएसँगै गँगबुँबाट रत्नपार्क भएर चल्ने २६ माइक्रोबस र सिनामंगल रत्नपार्क भएर चल्ने ३५ टेम्पो स्थानान्तरण हुनेछन् । सरकारले पछिल्लो समय काठमाडौँ उपत्यकामा सवारी साधन चलाउनका लागि प्राइमरी, सेकेण्डरी र टर्सरी मार्ग निर्धारण गरेको छ जसमा प्राइमरी र सेकेण्डरी मार्गमा ठूला तथा टर्सरी मार्गमा साना सवारीसाधन सञ्चालन गर्न पाइनेछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै