• २०८१ बैशाख १४ शुक्रबार

एन्फामा अध्यक्षसहित सबै पदमा कर्मा छिरिङ प्यानल विजयी

kharibot

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को १६औं साधारणसभाबाट एन्फाको नयाँ नेतृत्व चयन भएको छ ।

शनिबार सम्पन्न एन्फाको निर्वाचनमा कर्मा छिरिङ शेर्पाको प्यानल नै विजयी भएको छ । 

अध्यक्षमा कर्म छिरिङ शेर्पा विजयी भएका छन् । कर्माले ६३ मत ल्याएका छन् भने उनका प्रतिद्वन्दी मणि कुँवरले १२ मत ल्याएका छन् ।

त्यस्तै उपाध्यक्षमा पंकज विक्रम नेम्वाङले ६१ मत, वीर बहादुर खड्काले ३९, कृष्ण बहादुर थापाले ५२ र उपेन्द्रमान सिंहले ५८ मत ल्याएर विजयी भएका छन् ।

अध्यक्षमा अर्का प्रत्याशी मणि कुँवरले विधान अनुसार निर्वाचन नभएको भन्दै निर्वाचनमा भाग नलिने निर्णय गरे नाम फिर्ता लिने समय सकिएकाले उनि प्रत्याशी रहेका थिए ।

त्यस्तै एन्फाको कार्यसमितिको सदस्यमा कर्मा छिरिङ समुहका सबै सदस्य विजयी भएका छन् । जसमा दावा लामाले ५६, दिनेश व्याँजन्कारले ५५, दिर्घ बहादुर केसीले ५५, पूर्णमान चित्रकारले ५५, विजय घलेले ५३, निरोज खड्गीले ५२, किरण राईले ५०, मधुसुधन उपाध्यायले ४८, प्रदेश सिंह राठौरले ४८, रत्नकुमार श्रेष्ठले ४८ र रविन्द्रनाथ श्रेष्ठले ४२ ले मत ल्याएका छन् ।

एन्फा चुनावमा अध्यक्ष,  ४ उपाध्यक्ष र ११ सदस्यका लागि निर्वाचन भएको थियो । महिला सदस्यमा भने पेमा लामा निर्विरोध निर्वाचित भइसकेकी थिइन् ।

चार उपाध्यक्षका लागि ९ जना चुनावी प्रक्रियामा थिए । यद्यपि कुँवर प्यानलबाट उपाध्यक्षका उम्मेदवार कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेशबहादुर चन्दले पनि निर्वाचन बहिष्कार गरेका थिए ।

त्यस्तै ११ जना केन्द्रीय सदस्यका लागि २९ जना चुनावी प्रतिस्पर्धामा थिए ।

एन्फा चुनावमा ७७ मत हुन्छ । जसअनुसार ४५ जिल्ला, १४ ए डिभिजन क्लब, ९ बी डिभिजन क्लब, ५ सी डिभिजन क्लब, महिला संघ, खेलाडी संघ, प्रशिक्षक संघ र रेफ्री संघका एक–एक प्रतिनिधिले चुनावमा मताधिकार प्रयोग गर्न पाउँने व्यवस्था रहेको छ । 
   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै