• २०८१ बैशाख १५ शनिबार

नेपाल वायु सेवा निगमले एक महिनाभित्र तीन चिनियाँ पाइलट ल्याउने

kharibot

काठमाडौँ ।  राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले तीन जना चिनियाँ पाइलट (विमानचालक) ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । 

वाइ–१२ सिरिजका विमान उडाउनका लागि निगमले अंग्रेजी बोल्न जान्ने पाइलट ल्याउन लागेको हो । मासिकप्रति पाइलट आठ हजार अमेरिकी डलर तलब सुविधा दिने गरी तीन पाइलट ल्याउन लागिएको निगमले जनाएको छ । 

वाइ १२ विमान उडाउनसक्ने तीन चिनियाँ पाइलट ल्याउने प्रक्रियामा रहेको र अन्य मुलुकबाट पनि पाइलट ल्याउन पहल भइरहेको निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारले जानकारी दिए । 

उनका अनुसार चीनका अलावा अफ्रिका र दक्षिण अमेरिकाबाट पनि वाइ १२ उडाउने पाइलट ल्याउने प्रक्रिया अघि बढेको छ । 

अफ्रिका र दक्षिण अमेरिकामा पनि वाइ १२ चलाउने पाइलट पाइन्छ भन्ने जानकारीका आधारमा त्यहाँ खोजी भएको हो । एक÷दुई जना पाइलट त्यहाँबाट पनि ल्याउने प्रक्रियामा छौँ, अहिले उनीहरुको लाइसेन्स र बायोडाटा मगाएका छौँ,” महाप्रबन्धक कंशाकारले भने । 

चिनियाँ पाइलटको भने लाइसेन्स ल्याएर नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमतिका लागि कागजपत्र बुझाइएको छ । छोटो अवधिका लागि करारमा चिनियाँ पाइलट ल्याउन लागिएको हो । नेपाली पाइलट तयार भए पनि उनीहरुलाई फर्काइनेछ । लामो समयसम्म उनीहरुलाई राख्दा खर्चभार महँगो हुने भएकाले नेपाली पाइलट तयार नभएसम्म मात्र चिनियाँ पाइलट राखिनेछ । 

चिनियाँ पाइलट सबै प्रक्रिया पूरा गरेपछि अबको एक महिनाभित्र आइपुग्ने निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले बताए । 

“चिनियाँ पाइलट ल्याउने प्रक्रिया अन्तिम चरणमा छ, अबको एक महिनाभित्र ती पाइलट नेपाल आउनेछन्,” उनले भने । अहिले निगमका नेपाली पाइलटले छदेखि आठ लाख तलब पाउने गरेका छन् । 

निगममा लामो समयदेखि पाइलट अभाव छ । अभाव पूर्ति गर्न हालै ४३ जना पाइलटको माग गरेकामा जम्मा ११ जनाको मात्र निवेदन परेको निगमले जनाएको छ । 

आन्तरिक उडानका लागि ल्याइएका चिनियाँ विमान उडाउन समस्या भएपछि निगमले सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न विमान उडानका लागि पाइलट करारमा राख्न आवेदन मागेको थियो । 

हालैमात्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले चीनबाट ल्याइएका सबै विमान तीन महिनाभित्र उडाउन निर्देशन दिए । चिनियाँ विमान निगमलाई हस्तान्तरण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित समारोहमा उनले यस्तो निर्देशन दिए । 

निगमका पदाधिकारीले सकेसम्म उक्त अवधिमा विमान उडाउन प्रयास गरिने बताएका थिए । तर अहिलेसम्म पनि पाइलटको टुंगो लागेको छैन । निगममा रहेका चार वटा वाइ १२ विमान उडाउनसक्ने दुई जना मात्रै पाइलट छन् । बाँकी दुई वाइ १२ विमान चल्न सकेका छैनन् । 

विसं २०६९ मा नेपाल र चीनबीच (दुई वटा एमए ६० र चार वटा वाइ १२) गरी छ वटा जहाज ल्याउने सहमति भएको थियो । अहिले छवटै विमान नेपाल आइसकेका छन् । छ विमानमध्ये दुई विमान वाइ १२ र एमए ६०, ९५६ सिट क्षमताका विमान चीनको अनुदानमा ल्याइएको हो भने बाँकी एक एमए ६० र तीन वाइ १२ गरी चार विमान सहुलियत ऋणमा खरिद गरिएको निगमले जनाएको छ । 

निगमका पुराना तीनसहित नौ वटा विमान आन्तरिक उडानका लागि छन् भने अन्तर्राष्ट्रियतर्फ एक बोइङ र दुई एयरबस ए–३२० बाट उडान भर्दै आएको छ । हाल निगमले देशका विभिन्न २३ गन्तव्यमा आन्तरिक उडान भर्दै आएको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै