• २०८१ बैशाख १४ शुक्रबार

मिल्तीखोला जलविद्युत् आयोजना र वाणिज्य बैंकबीच ऋण सम्झौता

kharibot

काठमाडौं । रामेछापको मन्थली नगरपालिकामा निर्माणाधीन तीन मेगावाट क्षमताको सानो मिल्तीखोला जलविद्युत् आयोजनामा ऋण लगानी गर्न राष्ट्रिय वाणिज्य बैंक सहमत भएको छ । आयोजना र वाणिज्य बैंकबीच बिहीबार राजधानीमा आयोजित कार्यक्रममा ऋण सम्झैतापत्रमा हस्ताक्षर भयो । 

ईपीएस प्रणालीमार्फत कोरिया पुगेका झण्डै पाँच सय नेपालीहरुको करिब ११ करोड रुपैयाँ लगानी भएको उक्त आयोजनामा वाणिज्य बैंकले ३० करोड ७९ लाख रुपैयाँ ऋण प्रवाह गर्नेछ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र सानो मिल्ती खेला हाइड्रोपावर लिमिटेडका अध्यक्ष सुरेश लिम्बूले हस्ताक्षर गरेका छन् । ५२ करोड रुपैयाँ लागत लाग्ने उक्त आयोजनाका लागि इक्विटीबाट बाँकी रकम उठाउनुपर्नेछ । 

आयोजनाका प्रबन्ध सञ्चालक कपिलदेव न्यौपानेका अनुसार डेढ वर्षभित्रमा आयोजनाको निर्माण पूरा गर्ने लक्ष्य लिइएको छ । तीन वर्ष अगाडि निर्माण सुरु भए पनि भूकम्प र नाकाबन्दीको कारण सन्तोषजनक रुपमा काम अगाडि बढ्नसकेको थिएन ।

ऋण सम्झौता कार्यक्रममा बैंकका सीईओ श्रेष्ठले विगतमा जे कारणले आयोजना निर्माणमा विलम्ब भए पनि अब भने तोकिएकै मितिमा निर्माण सम्पन्न गर्न सुझाव दिए ।

कोरियामा बस्ने नेपालीहरुको लगानी भएको उक्त आयोजनाले समयमै निर्माण पूरा गरेर व्यावसायिक उत्पादन थालेमा कोरियालगायतका अन्य देशमा बस्ने नेपालीहरुका समेत सकारात्मक प्रभाव पर्ने र यसले थप आयोजनामा लगानी जुट्ने अपेक्षा गरिएको छ । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै