• २०८१ बैशाख १४ शुक्रबार

गौरीफन्टा नाका व्यवस्थित गर्न प्रदेश सांसदको माग

kharibot

धनगढी । प्रदेश नं ७ को प्रदेशसभा बैठकको शून्य समयमा प्रदेशसभा सदस्यले गौरीफन्टा सीमा नाकालाई व्यवस्थित एवं स्तरोन्नति गराउने पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

अधिकांश सदस्यले प्रदेश नं ७ को आर्थिक समृद्धिसँग जोडिएको गौरीफन्टा सीमा नाका बन्द हुन लागेको भन्ने चर्चाले प्रदेशका बासिन्दामा निराशा छाएको छ भन्दै प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा प्रदेशको मुख्य सीमा नाका गौरीफन्टालगायत अन्य सीमा नाकालाई व्यवस्थित गराउन पहल हुनुपर्ने माग गरे । 

प्रदेशका मुख्यमन्त्री र भारतीय राजदूतबीच केही दिनअघि भएको भेटवार्तापछि गौरीफन्टा नाका बन्द हुन लागेको भन्ने खबर आइरहेको भन्दै सदस्यले सीमा नाका बन्द हुने अवस्था आउन दिन नहुने बताए ।

उनीहरुले प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा सीमा नाकालाई व्यवस्थित, महाकाली सन्धि गर्दा भएका सहमति एवं समझदारीको पूर्ण कार्यान्वयन, सीमा क्षेत्रमा देखिएको अतिक्रमणलगायत समस्या समाधान, कञ्चनपुरको दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण जस्ता विषयमा भारत सरकारसँग कुरा राख्नुपर्ने बताए । 

प्रदेशसभा सदस्यले पश्चिम सेती परियोजना निर्माणका साथै निर्माण पूरा भएको चमेलिया जलविद्युत् परियोजनाको विद्युत विस्तारमा ध्यान जानुपर्ने, बाजुरामा देखिएको सुख्खा र खडेरीको समस्या समाधान गर्नुपर्ने, खुटिया–दिपायल द्रुतमार्ग निर्माणमा भइरहेको ढिलासुस्ती हटाउनुपर्ने र सुकुम्बासी तथा अव्यस्थित बसोबासको उचित व्यवस्थापन गर्नुपर्ने बताए । 

शून्य समयमा बोल्नेमा नेकपा एमालेका पूर्णा जोशी, प्रकाश रावत, प्रेमप्रकाश भट्ट, बलबहादुर सोडारी, लीलाधर भट्ट, लालबहादुर खड्का र सुशीला बुढाथोकी, नेपाली काँग्रेसका श्यामलाल राना, रणबहादुर रावल र भरतबहादुर खड्का, नेकपा ९माओवादी केन्द्र०का बलदेव रेग्मी, महेशदत्त जोशी, मानबहादुर सुनार र वीरमान चौधरी तथा राष्ट्रिय जनता पार्टीकी मालामतीकुमारी राना थिए । 

बैठकमा प्रदेशसभा नियमावलीबमोजिम प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, २०७४ माथि भएको दफावार छलफलपछि तयार पारिएको विधायन समितिको प्रतिवेदनसहितको विधेयक समितिका ज्येष्ठ सदस्य कृष्णराज सुवेदीले प्रस्तुत गरेका थिए ।

प्रदेश सरकारले चालु आवको बाँकी अवधिका लागि ल्याउन लागेको अल्पकालीन बजेटलाई द्रुतमार्गबाट पारित गर्नका सो प्रक्रिया अपनाएको हो । प्रदेशसभाको अर्को बैठक शुक्रबार बिहान ११ बजे बस्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै