• २०८१ बैशाख १५ शनिबार

सहज तवरले पार्टी एकता हुन्छ : अध्यक्ष प्रचण्ड

kharibot

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले र आफ्नो पार्टीलाई सहज हुने गरी पार्टी एकता प्रक्रिया टुंगो लगाउने तयारी भइरहेको बताएका छन् । 

माओवादी केन्द्रको संसदीय दलको आज बसेको बैठकलाई सम्बोधन गर्दै उहाँले दुवै पार्टीलाई सहज हुनेगरी पार्टी एकता टुंग्याउने तयारी भइरहेको बताएका हुन् । 

बैठकमा अध्यक्ष दाहालले भने, ‘पार्टी एकता प्रक्रिया सहज ढंगले अघि बढिरहेको छ । हिजो मात्र हामीले राजनीतिक प्रतिवेदन र विधान मस्यौदा कार्यदलको प्रतिवेदन बुझेका छौँ । दुवै पार्टीलाई सहज हुने गरी एकता टुंग्याउन हामी लागिरहेका छौँ ।’ 

अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन मस्यौदा समितिको प्रतिवेदनमा दुवै पार्टीको मतैक्य रहेको बताए । उनले भने, ‘मस्यौदा समितिले एकताको साझा प्रतिवेदन बुझाएको छ, त्यसमा हामी एकमत छौँ । विधानका केही कुरामा साझा धारणा बन्न बाँकी छ, त्यसलाई एकता संयोजन समितिको बैठकमा टुंगो लगाउँछौँ ।’ 

भित्र र बाहिर दुवैतिरबाट एकता हुन नदिन चलखेल भइरहेको भन्दै अध्यक्ष दाहालले कुनै पनि अवरोधले एकता प्रक्रियालाई रोक्न नसक्ने उल्लेख गरे । अध्यक्ष दाहालले भने, ‘चलखेलले एकता रोक्न सक्दैन, सांसदहरुले पनि सचेत ढंगले एकताको पक्षमा भूमिका खेल्नुहोला । चलखेलबाट प्रभावित नभई एकतालाई टुंगोमा पुग्ने गरी आफ्नो ठाउँबाट भूमिका खेल्नुस् ।’ 

अध्यक्ष दाहालले केन्द्रमा सहअध्यक्षको मोडलमा जाने सहमति भए पनि प्रदेश, जिल्ला र स्थानीय तहमा कुन मोडेलमा जाने भन्ने विषयमा ठोस निष्कर्षमा नपुगिएको बैठकलाई जानकारी गराउनु भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिए । 

संसदीय दलको बैठकमा पार्टीको संघीय संसदीय दलको विधानको प्रारुपबारे समेत छलफल भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय